
संयुक्त राज्य अमेरिका र युरोपेली युनियनबीच व्यापार सम्झौता भएको छ, जसले विश्वका दुई सबैभन्दा ठूला आर्थिक साझेदारबीच महिनौंदेखि चलिरहेको विवादलाई अन्त्य गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लायेनबीच स्कटल्यान्डमा भएको निर्णायक वार्तापछि दुवैले सबै युरोपेली सामानमा अमेरिकाले १५ प्रतिशत मात्र ट्यारिफ लगाउने सहमति गरेका छन् ।
यो दर ट्रम्पले शुक्रबारदेखि लागू गर्ने धम्की दिएको ३० प्रतिशत ट्यारिफको आधा मात्र हो । उनले भनेका छन्, 'युरोपियन युनियनले केही उत्पादनमा शून्य प्रतिशत शुल्कसहित अमेरिकी निर्यातकर्ताहरूका लागि आफ्नो बजार खोल्नेछ ।'
भन डेर लायेनले पनि सम्झौताप्रति खुशी व्यक्त गरेकी छन् । उनले भनिन्, 'यसले दुवै मित्रराष्ट्रका लागि स्थायित्व ल्याउनेछ,' जसले विश्व व्यापारको करिब एकतिहाइ हिस्सा ओगट्छ ।
ट्रम्पले अमेरिकी व्यापार घाटा घटाउन र विश्व अर्थतन्त्रलाई पुनःसंरचना गर्न प्रमुख व्यापार साझेदारहरूसामु ट्यारिफको हतियार प्रयोग गर्दै आएका छन् ।
युरोपेली युनियन मात्र होइन, उनले बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग पनि नयाँ ट्यारिफसम्बन्धी सम्झौता गरेका छन्, यद्यपि उनले आफ्नो '९० दिनमा ९० सम्झौता' गर्ने लक्ष्य हासिल गर्न सकेका छैनन् ।
फ्रान्सका युरोपेली मामिला मन्त्री बेन्जामिन हाडाडले सोमबार बिहान सम्झौताप्रति प्रतिक्रिया दिँदै यसमा केही पक्षहरू राम्रो भए पनि फ्रान्सका प्रमुख व्यावसायिक क्षेत्रहरू (जस्तै मदिरा)लाई नसमेटेकोमा गुनासो गरेका छन् ।
'अमेरिकासँग युरोपेली आयोगले गरेको यो व्यापार सम्झौताले अमेरिकी ट्यारिफ बढ्दो खतरा बनिरहेका आर्थिक पक्षहरूलाई अस्थायी स्थायित्व दिनेछ, तर यो असन्तुलित छ,' हाडाडले एक्समा लेखेका छन् ।
आइतबारको सम्झौता ट्रम्प र भन डेर लायेनबीच दक्षिण आयरशायरको टर्नबेरी गल्फ मैदानमा भएको वार्तापछि घोषणा गरिएको हो । स्कटल्यान्डको ५ दिने भ्रमणमा रहेका ट्रम्पले छोटो भेटपछि भने, 'हामीले सम्झौता गरेका छौं । यो सबैका लागि राम्रो सम्झौता हो । यसले हामीलाई अझ नजिक ल्याउनेछ ।
भन डेर लायेनले पनि यसलाई विशेष सम्झौता भनिन् । अहिले फ्रेमवर्कमा सहमति भएको छ, जसका प्राविधिक विवरण आगामी हप्ताहरूमा टुंग्याइने उनले उल्लेख गरेकी छन् ।
आयोगलाई सम्पूर्ण समूहका लागि व्यापार सम्झौता गर्ने अधिकार भए पनि अन्तिम स्वीकृति सदस्य राष्ट्रहरूको हुन्छ । त्यसैका लागि सोमबार राजदूतहरूको बैठकमा आयोगले यसबारे जानकारी दिनेछ ।
ट्रम्पले भने, 'युरोपेली युनियनले अमेरिकामा ६०० अर्ब डलर (४४६ अर्ब पाउन्ड) लगानी गर्नेछ, जसमा अमेरिकी सैनिक उपकरण पनि पर्छ, साथै ऊर्जामा ७५० अर्ब डलर खर्च गर्नेछ ।'
आगामी तीन वर्षमा अमेरिकी प्राकृतिक ग्यास, तेल र आणविक इन्धनमा हुने लगानीले युरोपलाई रुसी ऊर्जा स्रोतमा निर्भरता घटाउन मद्दत गर्ने विश्वास लायेनले व्यक्त गरिन् ।
विमान र यसका पार्ट्स, केही रसायन र कृषि उत्पादनजस्ता सामानमा कुनै शुल्क लाग्ने छैन । सेमी कन्डक्टर सम्बन्धी छुट्टै सम्झौता छिट्टै घोषणा हुनसक्ने अनुमान छ ।
तर, मदिरा क्षेत्र अझै सम्झौतामा परेको छैन । विशेष गरी फ्रान्स र नेदरल्यान्डले आफ्ना वाइन र बीयर उद्योगलाई ट्यारिफ छुट दिन माग गरिरहेका छन् ।
यद्यपि, ट्रम्पले विश्वभर लागू गरेको इस्पात र एल्मुनियममा ५० प्रतिशत अमेरिकी शुल्क भने यथावत रहेको बताए ।
सम्झौताका लागि भन डेर लायेनले ट्रम्पलाई धन्यवाद दिइन् ।
'यस उपलब्धिलाई सम्भव बनाउन व्यक्तिगत नेतृत्व देखाउनुभएकोमा म राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन चाहन्छु । उहाँ कठोर वार्ताकार हुनुहुन्छ, तर सम्झौता गराउन सक्षम पनि,' उनले भनिन् ।
दुवै पक्षले यस सम्झौताबाट केही हदसम्म आफ्नो जीत भएको भनेर दाबी गर्न सक्छन् ।
युरोपेली युनियनका लागि ट्यारिफ अझ खराब हुन सक्थ्यो; यो बेलायतको १० प्रतिशत शुल्कभन्दा उच्च भए पनि जापानले गत साता लगाएको १५ प्रतिशतको बराबर हो ।
अमेरिकाका लागि यो गत वर्षको व्यापार तथ्यांकअनुसार करिब ९० अर्ब डलर राजस्व बराबर छ, साथै सयौं अर्ब डलरको लगानी अब अमेरिकामा आउनेछ ।
एउटा कुरा स्पष्ट छ: ट्रम्प इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता गर्दै उत्सव मनाइरहेका छन् ।
यस सम्झौताले अमेरिकालाई धेरै फाइदा दिए पनि युरोपेली युनियनलाई लागि के लाभ हुन्छ भन्ने स्पष्ट छैन ।
भन डेर लायेनले 'व्यापार सम्बन्धलाई पुनःसन्तुलन गर्ने' भनेर यस सम्झौताको व्याख्या गरेकी छन् ।
यस्तो देखिन्थ्यो कि सम्झौता टुंग्याउन भन डेर लायेनले जानाजान ट्रम्पकै भाषाशैली अपनाइन् ।
सम्झौता घोषणा हुनुभन्दा अघि ट्रम्पले टर्नबेरी रिसोर्टमा वर्षासहितको मौसममा १८ होल गल्फ खेलेका थिए ।
गत वर्ष युरोपेली युनियन र अमेरिकाबीच वस्तु व्यापार झन्डै ९७६ अर्ब डलरको भएको थियो । यसमध्ये अमेरिकाले युरोपेली युनियनबाट करिब ६०६ अर्ब डलरको वस्तु आयात गरेको थियो भने करिब ३७० अर्ब डलर निर्यात गरेको थियो ।
यदि ट्रम्पले युरोपमाथि ट्यारिफ लगाउने धम्की कार्यान्वयन गरेका भए स्पेनी औषधि, इटालीयन छालाका सामान, जर्मन इलेक्ट्रोनिक्सदेखि फ्रान्सेली चीजसम्ममा उच्च ट्यारिफ लगाइन्थ्यो ।
युरोपेली युनियनले भने अमेरिकी सामानमा (जस्तै कारका पार्ट्स, बोइङ विमान र मासु)मा शुल्क लगाएर प्रतिकार गर्ने तयारी गरेको थियो ।