२४ जेठ २०८३, आइतबार

‘स्पेसल’ खिर कसरी बनाउने ? [विधिसहित]

साउन १५, २०८२
काठमाडौं
‘स्पेसल’ खिर कसरी बनाउने ? [विधिसहित]

आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । 

साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । 

संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । 'साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ,' उनले भने ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । 

यसको कुनै शास्त्रीय वचन भने नरहेको उहाँले बताउनुभयो । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । 

वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खिर बनाएर खुवाउने चलन अझै कायमै छ ।

चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर पनि बनाएर खाने चलन छ । 

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने गरेको छ ।

तातो–तातो मसलादार खिरमा खारेको घ्यु हालेर खानुको मज्जा नै अलग हुन्छ ।

null

खिर एक नेपाली मौलिक परिकार हो, जुन अनाज, दाल वा तिनीहरूको पीठोबाट बनाइन्छ । नेपाली व्यञ्जनमा खिर रेसिपीका धेरै भिन्नताहरू छन् । खिर परम्परागत रूपमा दूध, चामल, चिनी र केही सुक्खा फलहरू मिसाएर बनाइने परिकार हो । खिर पकाउँदा सकेसम्म प्याकेटको दूधमा नपकाउनुस् । डेरीको दूधमा पकाउँदा राम्रो मानिन्छ । प्याकेटमा फ्याटको मात्रा ३ प्रतिशत मात्र हुन्छ र खल्लो स्वादको दूध हुन्छ । डेरीमा किनेको दूधमा लगभग ५ प्रतिशत फ्याट (क्रिम) हुने हुँदा खिर र कुराउनीको लागि डेरीको दूध उत्तम मानिन्छ । मसला र स्वादको छनोट सामान्यतया अलैंची, गुलाब पानी, केवरा पानी वा केसर हो ।

चामलको खिर मूलतः ताइचिन चामल, सम्पूर्ण दूध, चिनी, नट र मसलाले बनेको चामलको नेपाली संस्करण हो । मैले यो खिर बनाउन आमाबाट सिकेको हो, जुन मलाई निकै स्वादिष्ट र पोषणयुक्त लाग्छ ।

खिर बनाउन चाहिने सामग्री : १ कप ताइचिन चामल, २ लिटर दूध, १/६ कप चिनी वा आवश्यकता अनुसार थप्नुहोस्, १/२ चम्चा अलैंचीको धुलो वा ५–६ वटा हरियो अलैंची, १ चिम्टी केसर, २ चम्चा काटेको वा ठूलो बदाम (अल्मन्ड), २ चम्चा काटिएको काजू (केसुनुट फ्लेक्स), २ चम्चा काटिएको वा नमकिन पिस्ताको टुक्रा, २ चम्चा सुनौलो किसमिस, १ चम्चा मरिचको धुलो, २ चम्चा काटेको नरिवल, २ चम्चा छोडाएर काटेको छोगडा, ४ चम्चा नेपाली घ्यु ।

खिर बनाउने तरिका : ताइचिन चामललाई २ पटक या जबसम्म पानी स्टार्चबाट सफा हुँदैन, तबसम्म धुनुहोस् । त्यसपछि चामललाई १५–२० मिनेटसम्म पर्याप्त पानीमा भिजाएर राख्नुस् । दूधलाई बाक्लो भाडोमा उमाल्नुस् र चामल खन्याउनुस् । सानो आँचमा मज्जाले चामललाई दूधमा खेल्न दिनुस् र बेला–बेला चलाउनुस् ।

राम्ररी फत्केर पाक्न लागेपछि इलाइची, मरिच हालेर चलाउनुस् र चिनी पनि हाल्दिनुस् । अर्को प्यानमा घ्यु खारेर सबै ड्राइनट्सहरू खैरो हुने गरी भुट्नुस् र पाकेको खिरमाथि हालेर बिस्तारै चलाउनुस् । अब केसर र एक्स्ट्रा घ्यु मन पर्नेले पाथिबाट थपेर खान सक्नुहुन्छ । खिर तातो या चिसो दुवै हिसाबमा खान सकिन्छ । सुगर खान नहुनेले सुगर फ्री खिरको रूपमा चिनी नहाली पहिला नै निकालेर पनि सर्भ गर्न सकिन्छ । चिनी खानेले पनि चिनीको सट्टा सक्खर, मिस्री या मह प्रयोग गर्दा स्वास्थ्यलाई अझ फाइदा पुर्‍याउँछ ।

यस्तै, तरिका प्रयोग गरेर दूधे मकैको खिर, ढकनी, ब्राउन राइसको खिर, कागुनोको खिर, किनुवाको खिर, कुसकुसको खिर, सेबाइको खिर, साबुदाना खिर, घैयाको खिर, मखनाको खिर, सुजिको खिर, पनिरको खिर, चना दाल खिर, मुङ दाल खिर, गाँजरको खिर, ओट्सको खिर, पास्ता खिर, दलिया खिर घरमै बनाएर स्वादिष्ट तरिकाबाट दर खान सकिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्