०५ साउन २०८३, मंगलबार
अमेरिकी स्वास्थ्य प्रणालीमा आमूल परिवर्तन

अमेरिकी स्वास्थ्य प्रणालीलाई प्रविधिसँग जोड्दै ट्रम्प, एप्स पनि बिरामीको 'रेकर्ड' लिइने

साउन १५, २०८२
काठमाडौं
अमेरिकी स्वास्थ्य प्रणालीलाई प्रविधिसँग जोड्दै ट्रम्प, एप्स पनि बिरामीको 'रेकर्ड' लिइने

ट्रम्प प्रशासनले अमेरिकामा एउटा नयाँ कार्यक्रम शुरू गर्ने घोषणा गरेको छ, जसअन्तर्गत अमेरिकीहरूले आफ्ना व्यक्तिगत स्वास्थ्य तथ्यांक र चिकित्सकीय अभिलेख निजी प्रविधि कम्पनीहरूले सञ्चालन गर्ने स्वास्थ्य प्रणाली र एप्समार्फत साझेदारी गर्न सक्नेछन् । यस कार्यक्रमले स्वास्थ्य अभिलेखहरूलाई सजिलैसँग पहुँचयोग्य बनाउने र स्वास्थ्य अवस्थाको निगरानी गर्न सहज सहज हुने बताइएको छ ।

गुगल, अमेजन र एपलजस्ता ठूला प्रविधि कम्पनीहरू तथा युनाइटेड हेल्थ ग्रुप र सीभीएस हेल्थजस्ता स्वास्थ्य सेवा प्रदायक गरी ६० भन्दा बढी कम्पनीले यस प्रणालीमा बिरामीहरूका तथ्यांक शेयर गर्न सहमति जनाएका छन् ।

यो पहल मधुमेह, तौल व्यवस्थापन, बिरामीलाई सहयोग गर्ने वार्तालाप-आधारित कृत्रिम बुद्धिमत्ता र क्युआर कोड तथा बिरामीलाई चेक-इन वा औषधि ट्र्याक गर्न मद्दत गर्ने एप्सजस्ता डिजिटल उपकरणमा केन्द्रित हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य प्रणालीलाई डिजिटल युगमा लैजान लागिएको बताए ।

'दशकौंदेखि अमेरिकाको स्वास्थ्य सेवा नेटवर्क उच्च प्रविधिमा स्तरोन्नतिका लागि ढिला भइसकेको छ,' राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ह्वाइट हाउसमा कम्पनीका सीईओहरूसँगको कार्यक्रममा भने, 'अहिलेसम्मका प्रणालीहरू प्रायः ढिलो, महंगो र एकअर्कासँग असंगत छन् । तर, आजको घोषणासँगै हामी स्वास्थ्य सेवालाई डिजिटल युगमा लैजान ठूलो कदम चालिरहेका छौं ।'

गोपनीयताको चिन्ता

अमेरिकीहरू व्यक्तिगत गोपनीयताको विषयमा एकदमै चिन्तित रहन्छन् । यो प्रविधि कार्यान्वयनमा आएपछि गोपनीयताको विषयमा के हुने भन्ने चिन्ता अहिलेदेखि नै व्यक्त हुन थालेको छ ।

'ठूलै नैतिक र कानूनी चिन्ताहरू छन्,' सार्वजनिक स्वास्थ्यमा विशेषज्ञ जर्जटाउन विश्वविद्यालयका कानून प्राध्यापक लरेन्स गोस्टिनले भने, 'अमेरिकाभरका बिरामीहरूले उनीहरूका चिकित्सकीय अभिलेखहरू तिनीहरू र तिनका परिवारलाई हानी पुर्‍याउने तरिकाले प्रयोग हुनेमा गम्भीर चिन्ता गर्नुपर्ने हुन्छ ।'

सुरक्षा र सहमतिका उपाय

मेडिकेयर र मेडिकेड सेवासम्बन्धी केन्द्रका अधिकारीहरूले (जसले यो प्रणाली सञ्चालन गर्नेछन्) बिरामीहरूले आफ्ना चिकित्सकीय अभिलेख र तथ्यांक साझेदारी गर्नका लागि 'अप्ट-इन' गर्नुपर्ने र ती तथ्यांक सुरक्षित राखिने बताएका छन् ।

तिनीहरूले भनेका छन्, यस प्रणालीले बिरामीहरूलाई आफ्ना अभिलेख सजिलै पाउन मद्दत गर्नेछ, अघिसम्म फ्याक्स मशिन प्रयोग गर्नुपर्ने जस्ता झन्झटहरूका कारण यो असम्भवजस्तै भएको थियो ।

'हामी उपभोक्ताहरूले आफ्ना अभिलेखहरू प्रयोग गर्ने तरिकामा उल्लेखनीय प्रगति देख्नेछौं,' मेडिकेयर र मेडिकेड सेवाका प्रमुख डा. मेहमेत ओजले ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा भने ।

व्यावहारिक प्रयोग

प्रसिद्ध तौल घटाउने र फिटनेस सेवा नूम, जसले यस पहलमा हस्ताक्षर गरेको छ, उसले यो प्रणाली आगामी वर्षको शुरूआतमा शुरू भएपछि चिकित्सकीय अभिलेखहरू उपयोग गर्न सक्षम हुनेछ ।

यसमा प्रयोगशाला वा चिकित्सकीय परीक्षणहरू पनि पर्न सक्छन्, जसलाई प्रयोग गरेर एआईमा आधारित विश्लेषण विकास गरिनेछ, जसले प्रयोगकर्ताहरूलाई तौल घटाउन मद्दत गर्ने सीईओ जेफ कुकले असोसिएटेड प्रेसलाई बताए ।

एप्स र स्वास्थ्य प्रणालीहरूले आफ्ना प्रतिस्पर्धीहरूको जानकारीमा समेत पहुँच पाउनेछन् । उदाहरणका लागि नूमले एप्पल हेल्थबाट कुनै व्यक्तिको तथ्यांक प्रयोग गर्न सक्नेछ ।

'अहिले तपाईंसँग धेरै विखण्डित तथ्यांकहरू छन्,' कुकले भने ।

अस्पताललाई पनि सहज

'क्लिभल्यान्ड क्लिनिकमा उपचारका लागि देशभर यात्रा गर्ने बिरामीहरूले विभिन्न प्रदायकहरूबाट आफ्ना सम्पूर्ण चिकित्सकीय अभिलेखहरू प्राप्त गर्न गाह्रो हुने गरेको छ,' अस्पताल प्रणालीका सीईओ डा. टोमिस्लाभ मिहालेभिचले भने । उनले नयाँ प्रणालीले त्यो अवरोध हटाउने बताए, जसका कारण कहिलेकाहीँ उपचार ढिला हुने वा डाक्टरहरूले पूर्ण चिकित्सकीय इतिहास नभएकाले सही निदान गर्न नसक्ने अवस्था उत्पन्न हुने गर्छ ।

'खानेकुरा वा व्यायामबारे स्वास्थ्य एप्समा भण्डारण भएको जानकारीमा सहज पहुँचले डाक्टरलाई मोटोपन र अन्य दीर्घरोग व्यवस्थापनमा पनि मद्दत गर्नेछ,' मिहालेभिचले भने ।

'यी एप्सले हामीलाई बिरामीको स्वास्थ्यबारे चिकित्सकको कार्यालय बाहिर के भइरहेको छ भन्ने बुझ्न मद्दत गर्छन्,' उनले भने ।

सिफारिस र सेवा

सीएमएसले Medicare.gov मा ती एप्सको सूची सिफारिस गर्नेछ, जसले मानिसहरूलाई दीर्घरोग व्यवस्थापन गर्न र स्वास्थ्य सेवा प्रदायक वा बीमा योजना छान्न सहयोग गर्नेछ ।

डिजिटल गोपनीयतासम्बन्धी अभियन्ताहरू भने बिरामीका तथ्यांक सुरक्षित भण्डारण हुनेमा आश्वस्त छैनन् ।

तर, संघीय सरकारले स्वास्थ्य एप्स वा टेलिहेल्थ कार्यक्रमलाई नियमन गर्न धेरै कम काम गरेको छ, डिजिटल डेमोक्रेसी सेन्टरका जेफ्री चेस्टरले भने ।

स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियर र उनको समूहले स्वास्थ्य सेवामा प्रविधि बढाउने पक्षमा वकालत गर्दै वियरेबल उपकरणहरू र टेलिहेल्थलाई प्राथमिकता दिएका छन् ।

डाटा सङ्कलन र भविष्यका चिन्ता

केनेडीले अमेरिकीहरूका चिकित्सकीय अभिलेखबाट अझ धेरै तथ्यांक सङ्कलन गर्न खोजेका छन्, जुन उनले पहिले अटिजम र खोप सुरक्षाबारे अध्ययन गर्न प्रयोग गर्ने बताएका थिए ।

उनले स्वास्थ्य प्रविधि स्टार्टअप वा व्यवसायसँग काम गरेका कर्मचारीहरूलाई समेत एजेन्सीमा राखेका छन् ।

सीएमएससँग पहिल्यै मेडिकेयर र मेडिकेडमा दर्ता भएका १४ करोडभन्दा बढी अमेरिकीहरूका विशाल तथ्यांक छ । यसै महिनाको शुरूमा संघीय एजेन्सीले घरको ठेगानासहितको विशाल डाटाबेस निर्वासन अधिकारीहरूलाई बुझाउने सम्झौता गरेको थियो ।

नयाँ पहलले संघीय सरकार र प्रविधि कम्पनीहरूका लागि बिरामीहरूको जानकारीको भण्डार अझै बढाउनेछ । चिकित्सकीय अभिलेखमा सामान्यतया डाक्टर र बिरामीबीचको वार्ता वा पदार्थ दुरुपयोग तथा मानसिक स्वास्थ्य रेकर्डजस्ता अझ संवेदनशील जानकारी रहने गर्छ ।

'यो योजना संवेदनशील र व्यक्तिगत स्वास्थ्य जानकारीलाई अझ बढी प्रयोग र व्यावसायीकरण गर्ने खुला ढोका हो,' चेस्टरले भने ।

ट्रम्प प्रशासनले २०१८ मा यसभन्दा कम महत्त्वाकांक्षी इलेक्ट्रोनिक अभिलेख कार्यक्रम शुरू गर्ने प्रयास गरेको थियो, जुन उनको पहिलो कार्यकालमा प्रमुख प्रविधि कम्पनीहरूको साथ नपाउँदा सफल हुन सकेको थिएन ।

  • एपीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्