२७ जेठ २०८३, बुधबार
अनलाइन ठगहरूको नयाँ चाल

युवतीको ‘लभ रियाक्ट’मा फसेर युवकको ३६ लाख गुम्यो, बोनसको लोभमा व्यवसायीले ७४ लाख गुमाए

साउन २०, २०८२
काठमाडौं
युवतीको ‘लभ रियाक्ट’मा फसेर युवकको ३६ लाख गुम्यो, बोनसको लोभमा व्यवसायीले ७४ लाख गुमाए
AI generated photo

भक्तपुरको चाँगुनारायणका हरि (नाम परिवर्तन)लाई ह्वाट्सएपमा ‘हेलो सर, मेरो नाम पार्वती थापा हो, एउटा पेजमा मैले हजुरले गर्नुभएको वर्क फ्रम होम जबको नोटिफिकेसन देखेकी थिएँ’ भनेर म्यासेज आयो । हरिले म्यासेज पढ्न नपाउँदै उनले अर्को म्यासेज पठाइन् । ‘के हजुरसँग कुरा गर्ने राइट टाइम हो र अहिले’ ? आधा घण्टापछि हरिले रिप्लाई गरे । ‘हजुर म बल्ल फ्री भएँ’ । अनि घर बसीबसी काम गर्ने जागिरबारे हरिले सोध्न थाले । फेरि थापाले जवाफ फर्काइन् ‘रिप्लाई गर्नुभएकोमा धन्यवाद, के म हजुरको नाम जान्न सक्छु ?’ हरिले रिप्लाई दिए, ‘म हरि हो, भक्तपुरमा बस्छु ।’ अनि थापाले म्यासेजमा लभ रियाक्ट गरेर भनिन्, ‘हजुर फ्री हुनुहुन्छ भने म हजुरलाई कामबारे एक्सप्लेन गर्छु ।’ हरिले हुन्छ भने ।

रिमोटल्यान्ड्स–ब्याडप्याक डटकम नामको पेज देखाइन् । त्यहाँ आइडी र पासवर्ड राखेर लगइन गर्न लगाइन् । हरिले थापाको कमान्ड पूरा गर्दै गए । कमान्डअनुसार हरिले रिमोटल्यान्ड्स हेल्प सेन्टरमा एडमिन क्रिएट गरे । थापाले क्यूआर दिएर त्यहाँ पैसा हाल्न लगाइन् । हरिले दुई हजार पठाए । रिमोटल्यान्ड्सको एडमिनमा हरिलाई एक हजार बोनस भनेर तीन हजार पठाइयो । दुई हजार लगानीमा एक हजार तुरुन्त बोनस पाइने भएपछि लोभमा हरिले खुुरुखुरु पैसा पठाउन थाले । शुरू शुरूमा बोनस बैंकको खातामा जम्मा हुन थाल्यो । पछि रिमोटल्यान्ड्सको एडमिनमा बोनस जम्मा भएको देखाइयो तर, बैंक खातामा जम्मा भएन । त्यसपछि हरिले थापालाई सोधे, ‘मैले पैसा धमाधम पठाएको छु, बोनस भनेर रिमोटल्यान्ड्सको एडमिनमा देखाउँछ तर, बैंक खातामा जम्मा हुँदैन किन ?’ थापाले जवाफ दिइन्, ‘तपाईँले अझै टाक्स पूरा गर्न बाँकी छ, त्यसका लागि केही पैसा अझै जम्मा गर्नुपर्छ ।’ हरिले पटक–पटक गरी ३६ लाख ५० हजार पठाए । तर, बैंक खातामा बोनस त परै जाओस्, साँवा समेत फिर्ता आएन ।

अनि थापा सम्पर्कविहीन भइन् । बल्ल हरिले आफू ठगिएको पत्तो पाए । त्यसपछि उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन पुगे ।

सोमबार अनुसन्धान कार्यालयमा भेटिएका हरिले लोकान्तरसँग भने, ‘शुरूमा दुई हजार जम्मा गर्दा तीन हजार खातामै जम्मा भएको देखेर खुरुखुुरु अनलाइनमा दिएको टाक्स पूरा गर्न थालेँ, पछि मलाई यो टाक्स पूरा भएन, ऊ टाक्स भएन भनेर पैसा जम्मा गर्न लगाए, झण्डै ३६ लाख रुपैयाँ गुमेपछि मात्रै म स्क्यामरबाट ठगिएको रहेछु भनेर थाहा भयो ।’ हरिले १७ जनाको नाममा विभिन्न बैंकमा खोलिएका खातामा रकम ट्रान्सफर गरेका थिए ।

सर्लाहीका अन्सारी (नाम परिवर्तन) भने ट्राभल सिटी नामक कम्पनीको पेजमार्फत् १५ लाख रुपैयाँ ठगिएको उजुरी लिएर अनुसन्धान कार्यालयमा पुगेका थिए । उनलाई पनि हरिकै शैलीमा शुरूमा ह्वाट्सएप पेजमा कुरा गरेर पछि टेलिग्राममार्फत् कुराकानीगरी टाक्स पूरा गर्न लगाएर बोनस दिने नाममा १५ लाख रुपैयाँ ठगी गरेको पाइयो ।

ट्राभल सिटी पेजमा गएर अन्सारीलाई लगइन गर्न लगाइयो । लगइनपछि उनलाई टाक्स पूरा गर्नुभन्दै खातामा आएको रकम स्क्यामरले दिएको क्यूआर कोडमार्फत् ट्रान्सफर गर्न लगाइयो । अन्सारीले पैसा ट्रान्सफर गरेलगत्तै तीन हजार रुपैयाँ बोनस भनेर स्क्यामरले खातामा पठाइदिए । अन्सारी मख्ख परे । त्यतिमात्रै होइन, स्क्यामरले क्यूआर कोड दिँदै भने, ‘यो खातामा तुरुन्त दुई लाख पठाइदिनु, अहिले साँवा र बोनस १० हजारसहित दुई लाख १० हजार तपाईंको खातामा आउँछ ।’

अन्सारीले दायाँबायाँ नसोची पठाइदिए । स्क्यामरले पहिले कबोलेअनुसार दुई लाख १० हजार पठाइदिए । यो क्रम एक हप्तासम्म चल्यो । स्क्यामरले पटक–पटक गरी बोनससहित सावाँ फिर्ता गरिदिन्छु भनेर अन्सारीलाई १५ लाख रुपैयाँ खाताबाट ट्रान्सफर गर्न लगाए ।

ट्राभल सिटीमा गरेको पेजमा बोनससहित १७ लाख जम्मा भएको देखिए पनि अन्सारीको आफ्नो बैंक खातामा भने एक रुपैयाँ पनि जम्मा भएन । अनि स्क्यामरलाई उनले सोधे, ‘मेरो पैसा खै ?’ स्क्यामर एकाएक सम्पर्कविहीन भए । अन्सारी बल्ल ठगिएको महसुस गरेर प्रहरीमा पुगे ।

काठमाडौंकै कीर्तिपुरमा फर्निचर व्यवसायगरी बसेका रमेश (नाम परिवर्तन)ले त अनलाइन स्कारमको पछि लाग्दा ७४ लाख रुपैयाँ गुमाए । उनी आइतबार अनुसन्धान कार्यालयमा वकिलसहित जाहेरी दिन पुगेका थिए । उनी पनि टेलिग्राममा आएको फोनको पछि लाग्दा नराम्रोसँग ठगिए ।

रमेशले प्रहरीलाई बताएअनुसार टेलिग्राममार्फत् फोन गरेर लगानी गर्न शुरूमा स्क्यामरले उकासेका थिए । शुरूमा १० हजार लगानी गर्दा २० हजार रुपैयाँ फिर्ता गरे । ३० हजार लगानी गर्दा ५० हजार फिर्ता गरे । एउटा पेजमा लाइक, सेयर र सस्क्राइभ बढाएबापत् बोनस बढ्दै जाने भनेर रमेशलाई लोभ देखाए । प्रहरीका अनुसार रमेशलाई प्रिमियर प्याकेज भनेर एक लाख लगानी गरेबापत दुई लाख हुने भन्दै स्क्यामरले फकाइफकाई १० लाख रुपैयाँ जम्मा गर्न लगाए ।

पेजमा पैसा र बोनसको डिटेल देखाए पनि खातामा जम्मा भएन । टाक्स पूरा भएको छैन भनेर उनलाई पटक–पटक गरी ७४ लाख जम्मा गर्न लगाएपछि स्क्यामर सम्पर्कविहीन भए ।

रमेशले पनि पटक–पटक गरी स्क्यामरले पठाएका विभिन्न व्यक्तिका १७ वटा बैंक खाताका क्यूआरमार्फत् पैसा ट्रान्सफर गरिदिएका थिए । उनले भने, ‘मैले श्रीमती र जेठानसँग समेत सापटी मागेर पैसा पठाएँ, पछि थाहा भयो स्क्यामरले ठगेका रहेछन् ।’

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार लोभमा परेर धेरै सर्वसाधरणले लाखौं रुपैयाँ गुमाएका छन् । ‘पीडितले पैसा ट्रान्सफर गरेको खातावाललाई ल्याएर केरकार गर्दा उसलाई नै थाहा हुँदैन कसले आफ्नो खातामा पैसा ट्रान्सफर गरेको हो भनेर,’ आचार्यले भने, ‘यसमा ठूलो गिरोह लागेको हुने रहेछ, तेस्रो व्यक्तिको मोबाइल बैंकमा प्रवेश गरेर पैसा ट्रान्सफर हुँदा पनि सम्बन्धित व्यक्तिलाई थाहै हुँदैन ।’ आचार्यका अनुसार कुनै–कुनै घटनामा त सरकारी अधिकृतहरू समेत ठगिएको उदाहरण छन् ।

salt training

कमेन्ट गर्नुहोस्