०५ साउन २०८३, मंगलबार
युक्रेनलाई दबाब बढाउँदै ट्रम्प

युक्रेन नाटोमा प्रवेश गर्ने वा क्राइमिया फिर्ता पाउने सम्भावना छैन- ट्रम्प

भदौ २, २०८२
काठमाडौं
युक्रेन नाटोमा प्रवेश गर्ने वा क्राइमिया फिर्ता पाउने सम्भावना छैन- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध दबाब सिर्जना गर्दै युद्ध तत्काल अन्त्य गर्न सक्ने दाबी गरेका छन् ।

सोमबार वाशिङ्टनमा युरोपेली नेताहरूसँग हुने छलफलअघि उनले युक्रेनलाई नाटो सदस्यता वा रसियाले कब्जा गरेको क्राइमिया फिर्ता पाउन सक्ने सम्भावना अस्वीकार गरेका हुन् ।

ट्रम्पले आइतबार राति आफ्नो ट्रुथ सोसलमा लेख्दै भनेका छन्, ‘राष्ट्रपति जेलेन्स्की चाहने हो भने रूससँगको युद्ध लगभग तत्काल अन्त्य गर्न सक्छन्, वा लडाइँ जारी राख्न सक्छन् । तर १२ वर्षअघि क्राइमिया गइसकेको छ, त्यो अब फिर्ता आउने छैन र युक्रेनको नाटो प्रवेश पनि सम्भव छैन ।’

सोमबार वाशिङ्टनमा हुने बैठकमा बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका नेता फ्रेड्रिख मर्ज र राष्ट्रपति जेलेन्स्कीसमेत सहभागी हुने कार्यक्रम छ । यस बैठकमार्फत् अमेरिका समर्थित भनिएको ‘युक्रेनले भूमि साटासाट गर्ने योजना’लाई प्रतिवाद गर्ने तयारी भइरहेको छ ।

जेलेन्स्की आइतबार राति वाशिङ्टन पुगेका थिए । उनले टेलिग्राममा लेख्दै भनेका छन्, ‘म अमेरिकाका राष्ट्रपतिप्रति आभारी छु । हामी सबै युद्ध छिटो र भरपर्दो रूपमा अन्त्य गर्न चाहन्छौं । अमेरिका र युरोपेली साथीहरूको साझा बलले रूसलाई वास्तविक शान्तिमा बाध्य पार्छ भन्ने आशा छ ।’

यसअघि अलास्कामा भएको ट्रम्प–पुटिन शिखर बैठकलाई रूसका लागि जित र अमेरिकाका लागि पराजयका रूपमा व्याख्या गरिएको थियो । तर, ट्रम्पले त्यसलाई ‘महान प्रगति भएको’ भन्दै मिडियाले गलत व्याख्या गरेको दाबी गरेका थिए ।

युरोपेली नेताहरूले सोमबार युक्रेनको भौगोलिक अखण्डताको समर्थन पुनः पुष्टि गर्ने र रसियाको आक्रमणलाई पुरस्कृत गर्ने कुनै पनि भूमि साटासाट योजना अस्वीकार गर्ने बताएका छन् । उनीहरूले अमेरिकाले युक्रेनलाई दिने सुरक्षासम्बन्धी ग्यारेन्टीबारे थप स्पष्टता खोज्ने तयारी गरेका छन् ।

यसैबीच, रसियाका भियनास्थित प्रतिनिधि मिखाइल उल्यानोभले युक्रेनको भविष्यको शान्ति सम्झौतामा कीभका लागि सुरक्षा ग्यारेन्टी आवश्यक हुने बताए । तर, मस्कोलाई पनि समान सुरक्षा ग्यारेन्टीको अधिकार हुने उल्लेख गरे ।

ब्रिटिश प्रधानमन्त्री स्टार्मरले वाशिङ्टन भ्रमणअघि वक्तव्य जारी गर्दै ट्रम्पको ‘युद्ध अन्त्य गर्ने प्रयास’लाई प्रशंसा गरे । तर, उनले शान्तिको बाटो जेलेन्स्कीविना सम्भव नभएको भन्दै रसियामाथि अझ कडा प्रतिबन्ध आवश्यक रहेको दोहोर्‍याए ।

ट्रम्पका विशेष दूत स्टीभ विटकफले सीएनएससँग बताएअनुसार पुटिनले पहिलोपटक अमेरिका र युरोपले युक्रेनलाई सुरक्षा दिने प्रस्तावमा सहमति जनाएका छन् । 

यो नाटोको औपचारिक संरचना बाहिर हुने भए पनि गठबन्धनको अनुच्छेद ५ जस्तै स्व–रक्षा ग्यारेन्टी बराबर हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्