२५ जेठ २०८३, सोमबार
आलेख

सभ्यताबीचको संघर्षले बदल्दै विश्व व्यवस्था

भदौ २, २०८२
काठमाडौं
सभ्यताबीचको संघर्षले बदल्दै विश्व व्यवस्था

स्यामुएल फिलिप्स हन्टिङ्टनले सन् १९९३ मा प्रकाशित आलेख ‘दि क्लासेस अफ सिभिलाइजेसन एन्ड रिमेकिङ अफ वर्ल्ड अर्डर’लाई विस्तार रूप दिएर १९९६ मा सोही शीर्षकलाई पुस्तक प्रकाशन गरे । भर्खरै शीतयुद्ध सकिएकाले शीतयुद्धपछि नयाँ विश्व व्यवस्था कस्तो होला भन्ने अनुमानमा लेखकको मस्तिष्क मन्थन भएको थियो । हन्टिङ्टनका अनुसार शीतयुद्धको अन्त्य हुनु वैचारिक आधारमा विभाजित विश्वले सांस्कृतिक रूपमा विभाजन हुने आधार निर्माण हुनु थियो । शीतयुद्धका समयमा विश्व विचारमा विभाजित थियो, विचारका केन्द्रमा साम्यवाद र लोकतन्त्र थिए । नियोजन र उदारता थिए । विचार, राजनीति र आर्थिक विषयले विश्वलाई हुँडलिरहेको थियो । एकधारको नेतृत्व सोभियत संघले गरेको थियो भने अर्को धारको संयुक्त राज्य अमेरिकाले । दुवै पक्षबाट पर रहनेहरू असंलग्न राष्ट्रहरूको संगठनको तेस्रो मोर्चामा थिए, तर यो मोर्चा भनिएजस्तो असंलग्न थिएन । शीतयुद्ध सकिएपछि वैचारिक विभाजनलाई संस्कृतिले विस्थापन गर्ने हाइपोथेसिस हन्टिङ्टन थियो । जर्ज अर्बेल, फ्रेडरिको मायर, युभल हरारी, भगवान प्रकाशहरूले आ–आफ्ना अनुमान विश्व परिवर्तनको रेखाचित्र कोरेका थिए, ती कति सत्य भए वा कति अनुमानमा सीमित । हन्टिङ्टनको हाइपोथेसिस तीन दशकपछि कति पूरा भए वा ती केवल अनुमान मात्र हुन् ? के विचार र देशहरूबीच हुने द्वन्द्वको रूप बदलिएर संस्कृति र सभ्यतामा पुगेको हो ? अहिले विवेचना गर्ने बेला भएको छ ।

पाँच खण्डमा विभाजित पुस्तकको पहिलो भागमा हन्टिङ्टन विश्व सभ्यताका आठ स्वरूपहरू उल्लेख गर्दछन् । पहिलो साझा दक्षिण पूर्वी एसियाली सभ्यता (चीन, भियतनाम, इन्डोनेसिया र दक्षिण पूर्वी एसियामा रहेको साझा एसियाली संस्कृति), दोस्रो जापानी सभ्यता (जुन बाँकी एसियाली सभ्यताभन्दा भिन्न छ), तेस्रो हिन्दू संस्कृति (भारत वर्षको सनातन सभ्यता), चौथो इस्लामिक सभ्यता (अरब खाडीमा विकास भई विश्वका सबै महादेशमा विस्तारित), पाँचौं रसियाली अर्थोडक्स सभ्यता (जुन बाँकी क्रिश्चियन संस्कृतिभन्दा भिन्न छ), छैठौं पश्चिमी सभ्यता (जुन युरोप र उत्तर अमेरिकामा फैलिएको छ), सातौं ल्याटिन सभ्यता (मध्य तथा दक्षिण अमेरिकाका क्याथोलिक बहुल मुलुकमा छ) र आठौं अफ्रिकी सभ्यता, जुन बाँकी विश्वबाट अलि भिन्न र कम विकसित पनि छ । यी सभ्यताहरू सन् १५०० सम्म अलग–अलग थिए । त्यसपछि आबद्धता, अन्तरक्रिया र सम्बन्धमा आए । एकले अर्कोलाई प्रभाव पार्न थाले, अधीनस्थ गर्नका लागि । अर्को अर्थमा यी सबै सभ्यताहरू आ–आफ्नो पहिचान विस्तारको संघर्षमा छन् । तर, अचम्मको कुरा हन्टिङ्टनले वेदमार्गीहरू, बुद्धमार्गीहरूले प्राचीन समयमा धर्म र संस्कृति विस्तार गर्न गरेको यात्रा र त्यसपछि पनि अशोक, समशुद्धिनहरूले मच्चाएका धार्मिक उधुमहरू उल्लेख गर्न छुटाएका छन् ।

दोस्रो खण्डमा हन्टिङ्टन सभ्यताको सन्तुलनको बदलिँदो रूप उल्लेख गर्दछन् । पहिला पश्चिमी सभ्यताले प्रभुत्व कायम गरेकोमा शीतयुद्धपछि यसलाई चुनौती दिने अरू सभ्यताहरू विशेषत: जापानी, अरबी पहिचानहरू उदीयमान भएको उल्लेख गर्दछन् । उनले शक्ति सन्तुलनको तीन प्रवृत्तिलाई उल्लेख गरेका छन् । पहिलो, पश्चिमी शक्तिको पतन प्रक्रिया ढिलो गतिमा भैरहेको छ, जसले तत्काल खासै असर देखाउँदैन । दोस्रो, पश्चिमी शक्तिको पतन रेखीय गतिमा नभइ उल्टोपाल्टो, विस्तारित र स्थीर हुने प्रवृत्तिमा रहन्छ । तेस्रो, राज्यबाट शक्ति नियन्त्रणको प्रक्रिया शक्ति प्रयोगकर्ताको व्यवहारबाट निर्धारित रहन्छ ।

सञ्चार, सम्बन्ध, गतिशीलता र प्रविधिले राजनीतिभन्दा धर्मको शक्ति, आर्थिक तथा व्यापारिक शक्तिबाट पहिचान खोज्ने काम हुन्छ । ग्याङ अफ फोर (ताइवान, सिङ्गापुर, हङकङ र दक्षिण कोरिया), चीन लगायतका एसियाली मुलुकहरू पश्चिमी ढाँचाभन्दा पर रहेर आर्थिक विकासको एसियाली ढाँचामा पुग्नेछन् । राज्य र अर्थतन्त्रको असफलताका कारण युवाहरूमा आक्रोश बढ्न गई इस्लाम सभ्यताको पुनरुत्थानको माग हुनेछ ।

तेस्रो खण्डमा, सभ्यताको उदीयमान स्वरूपको अनुमान उल्लेख गरिएको छ ।

शीतयुद्धका समयमा निर्माण भएका दुई ध्रुवीय शक्ति, असंलग्न आन्दोलन, आसियान, युरोपीय संघ, उत्तर अमेरिकी आर्थिक संगठनहरू फेरिएर सांस्कृतिक समानताका पहिचानमा पुग्नेछन् ।

चौथो खण्डमा सभ्यताको द्वन्द्व विश्लेषणमा केन्द्रित छ । शत्रुको शत्रु मित्र हुन्छ भन्ने मान्यतामा पश्चिमी शक्तिका विरुद्धमा एसियाली र इस्लामिक शक्तिबीच सहकार्य हुनेछ । एसियाली संस्कृति र इस्लामी संस्कृतिबीच पूर्ण हार्दिकता छैन, न त्यति ठूलो शत्रुता । ठूलो शक्तिमाथि साझा शक्ति आफूहरू मिलेर बनाउने तर्क हन्टिङ्टनको थियो । हन्टिङ्टनका अनुसार तीन कारण पश्चिमी शक्ति र बाँकी विश्व प्रभावित हुनेछन् ।

पहिलो पश्चिमी सैनिक शक्तिको अधिनस्थता, दोस्रो मानव अधिकार जस्ता पश्चिमी राजनीतिक मूल्य र तेस्रो, गैरपश्चिमीलाई पश्चिममा आप्रवासनमा प्रतिबन्ध, शरणार्थी समस्या । यसले स–साना फल्ट लाइन वा स–साना द्वेषरेखा प्रवाह भैरहने छ । इस्लामविरुद्ध पश्चिम, एसिया र चीनविरुद्ध पश्चिम, क्रिश्चियनविरुद्ध इस्लामहरू द्वन्द्व गतिशीलतामा रहनेछन् । विश्वभरि नै द्वन्द्वका फल्ट लाइनहरू क्रियाशील भइरहने छन् । यी स्मल फल्ट लाइनमा समुदायबीच साम्प्रदायिक द्वन्द्व, धार्मिक विवाद, द्वेषको लामो रूप, द्वेषका विध्वंसात्मक परिणाम, पहिचानका द्वन्द्व (हामीविरुद्ध तिनीहरूको भावनामा), डायस्पोराको विस्तार र शान्तिका लागि तेस्रो पक्षको हस्तक्षेप जस्ता स्वरूपहरू देखिने छन् ।

पाँचौं खण्डमा हन्टिङ्टनले भविष्यको सभ्यतामाथि संकेत गरेका छन् । पश्चिमी मूल्य स्खलन भएपछि बहुसांस्कतिक सञ्चार अपरिहार्य देखिने छ, किनकि विश्व साम्राज्य असम्भव हुनेछ । अमेरिकी र पश्चिमी पहिचान नवीकरणको आवश्यकतामा रहने छन् । पश्चिमी सभ्यता अर्को सभ्यतासँग हिँड्नुले विश्व व्यवस्थाका लागि ठूलो खतरा हुनेछ । यो सावधानीपूर्वक अघि बढ्ने दिशामा हुनुपर्ने छ ।

कतिपय विचारकहरूका अनुसार मानव अधिकार, उदार लोकतन्त्र र बजार अर्थतन्त्र मात्रै पहिचानका वैचारिक विकल्प हुन् । यिनै आधार लिएर फ्रान्सिस फुकायामाले त विश्व इतिहासको अन्त्य (इन्ड अफ हिट्री) मा पुग्ने बताएका थिए । आर डी काप्लानले आफ्नो पुस्तक ‘दी कमिङ एनार्की’मा वातावरण विनाश, जनसंख्याको वृद्धि र राज्य अधिकारको पतनका कारण अविकसित मुलुकहरू जातीय र साम्प्रदायिक तनावमा फस्ने भनेका छन् । स्यामुएल हन्टिङ्टनले विश्व वैचारिक लाइनको संघर्ष सकिएर सभ्यता वा धार्मिक तथा सांस्कृतिक लाइनमा पुग्नेछ भन्ने निष्कर्ष निकालेका छन् । शीतयुद्धकालीन विश्वका घटनाक्रमलाई आधार मानेर त्यसपछिको विश्व कस्तो होला, वा यस्तो हुनुपर्ला भन्ने अनुमान र आग्रह हन्टिङ्टनको थियो । सोभियत संघ र पश्चिमा शक्ति भनौं या नियोजनका रूपमा राज्यले जे गरे पनि हुन्छ भन्ने साम्यवादी शक्ति र उदारवादका रूपमा जे गरे पनि हुन्छ भन्ने पश्चिमा शक्तिबाट विश्व आजित थियो । त्यसबाट विश्वले खोज्ने मुक्ति भनेको पहिचान र स्वतन्त्रताको थियो ।

सौम्य शक्तिको विकास भैसकेको छैन, आर्थिक शक्तिको विकास छ, त्यो पनि वैश्विक तहमा । जसले साझा विश्व आर्थिक व्यवस्था विकास गरिरहेको छ । सभ्यताले होइन, आर्थिक आप्रवाहले राजनीतिमाथि अधीन कायम गरेको छ । आर्थिक एजेन्डालाई सभ्यता र संस्कृतिले पछ्याइरहेको छ ।

उतिबेला विश्व आर्थिक, सामरिक र वैचारिक आधारमा संघर्षमा पुग्थ्यो । राष्ट्रराज्यहरू संघर्षका पात्र हुन्थे । एक्काइसौं शतब्दीमा सभ्यताबीच द्वेषरेखा कोरिन्छ र भविष्य पहिचानको लामो संघर्षमा रहन्छ । संघर्षका कारकहरू आर्थिक उपलब्धि, वैचारिक एवं सामरिक प्रभावबाट पर पुगी भाषा, इतिहास, धर्म, स्वपहिचान जस्ता भावनात्मक पक्षमा पुग्नेछन् । यो भनेको अस्तित्वको खोजीको संघर्ष हो । सभ्यता गतिशील रहने प्रक्रियामा रहन्छ । प्रमुख सभ्यताहरू द्वन्द्वका पात्र बन्नेछन् । बढ्दो अन्तरक्रिया बढ्दो द्वन्द्वमा रहन्छन् । राजनीतिज्ञहरू यसलाई ठम्याउन सक्दैनन्, ठम्याउने क्षमतामा छैनन् । सभ्यताभित्रै पनि पहिचानका स-साना द्वेषरेखा कोरिएर अन्तरसभ्यता संघर्ष रहन्छ ।

हन्टिङ्टनका हाइपोथेसिसका तीन सारभूत मान्यतामा थिए, (क) संघर्ष (द्वन्द्व) को कारण वैचारिक (वा आर्थिक, राजनैतिक) नभई मानवीय विभाजन र संस्कृति द्वन्द्वको स्रोत हुनेछ, (ख) राष्ट्र राज्यहरू द्वन्द्वका पात्र भएपनि प्रमुख कारकचाहिँ समूह पहिचान र विभिन्न सभ्यता हुनेछन् । (ग) सभ्यताको द्वन्द्वले विश्व राजनीतिमाथि प्रभुत्व जमाउने छ ।

हन्टिङ्टनले सभ्यताबीच हुने द्वन्द्वको प्रमुख उद्देश्य अस्तित्व वा पहिचानको रक्षा हो भनेका छन् । विश्वमा प्रमुख सात/आठ सभ्यताहरू आफ्नो पहिचानको रक्षा, सम्वर्द्धन र विस्तारमा लागिरहेका छन् । सभ्यताबीचको द्वन्द्व समष्टिगत (म्याक्रो) तहमा र सूक्ष्म (माइक्रो) तहमा पनि भैरहन्छ । सभ्यताबीचको द्वन्द्वको फल्ट लाइन शीतयुद्ध समाप्तिपछि भएको वैचारिक विस्थापनले शुरू गरेको हो ।

राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका विश्व संस्थाहरूले विश्वका सबै मानिसका भावना होइन, पश्चिमी मूल्य र शक्तिलाई संस्थागत गर्न खोजेकाले सभ्यता द्वन्द्वको म्याक्रो स्वरूपमा पश्चिमविरुद्ध बाँकी विश्व देखिने छ । यसले तीन विकल्प देखाउने छ, पश्चिमी मूल्य संस्कृति र संस्थाबाट अलग (आइसोलेसनमा रहने), वा पश्चिमी मूल्य संस्कृति र संस्थात्मक संरचनामा समाहित हुने वा आफ्ना मूल्य संस्कृति आधुनिक र सन्तुलित बनाउँदै लैजाने । तेस्रो विकल्पलाई हन्टिङ्टन ‘मोडर्नाइज्ड नट वेष्टर्नाइज्ड’ भन्न रुचाउँछन् । तेस्रो विकल्पले विश्व संस्कृति होइन, विविध संस्कृतियुक्त विश्व सभ्यता सम्भव छ र त्यो नै आवश्यक हो भन्छ ।

विचारक हन्टिङ्टनको हाइपोथेसिसमाथि थुप्रै आलोचना छ । ऐतिहासिक तथ्यमार्फत आलोचकहरू सभ्यताको द्वन्द्वमा अघि सारिएका अनुमानमाथि आलोचना गर्दछन् । प्रो जोहन स्पेसिटो भन्छन्– देशले देशमाथि युद्ध गर्छ, न कि सभ्यता वा धर्ममाथि । पश्चिमी शक्तिले इराक तथा अफगानिस्तानमाथि गरेका आक्रमण सभ्यताबीचको संघर्ष थिएन, न युगोस्लाभिया वा कोसोभोको युद्ध नै सभ्यताबीचको थियो ।

सभ्यताबीचको संघर्ष लेखिएको तीन दशकमा यो प्रमाणित भएको छैन कि सभ्यता नै युद्धको कारण र पात्र हो । तर, विश्वव्यापी रूपमा विस्तार भएको डायस्पोराले संस्कृतिको समाहितीकरण, विलय र समर्पणको स्थिति देखिएको छ । जातीय राष्ट्रिय पहिचानका स्वर–स्वरूपहरू गुम्सिएर द्वेषरेखा बन्ने स्थितिमा पुग्दैछ । डायस्पोरा त्यति संगठित नभएकाले पहिला पहिचान अनि सभ्यताको संघर्ष हुने स्थिति अहिले नै देखिइसकेको छैन, तर विस्तारै पृष्ठभूमि भने बन्दैछ । अमेरिका, युरोप तथा अस्ट्रेलियाको उदार राज्य प्रणालीले राष्ट्रिय राजनीति भूगोलबाट भावनामा विस्तारित भएकाले फल्ट लाइनहरू गहन नबन्लान् भन्ने सम्भावना सत्य देखिएको छैन ।

त्यहाँ विकास विस्तार भैरहेको बहुजाति, भाषीय र सांस्कृतिक समूहहरू जतिखेर पनि आफ्नै सभ्यताको जग मजबुत बनाइरहेका छन्, स्वार्थरक्षामा खतरा देखिनेबित्तिकै पहिचानको रूप देखिइहाल्छ । कमजोर भएका पहिचानहरू दबिएर भुसको आगोजस्तो अवस्थामा छन् । सभ्यता र पहिचानभन्दा गरिबी, विपन्नताजस्ता साझा शत्रुबाट अविकसित मुलुकहरू ग्रसित भएकाले त्यहाँ सभ्यताको संघर्ष कमजोर छ ।

कुनै भूगोलबाट विस्थापित पहिचान कालखण्डमा झनै शक्तिशाली हुनेछन् । चीनले तिब्बती र मुस्लिममाथि गरेको एस्सिमिलेसन, त्यसैगरी भुटानमा डुक्पाबाट नेपालीमाथि गरिएको एस्सिमिलेसन र सिंहालीले तमिलमाथि गरेको यस्तै समाहितीकरण सामर्थ्य निर्माणपछि संस्थापन भनिएकाविरुद्ध कडा हुनेछन् । म्यान्मार, बंगलादेश, अफ्रिका भरि यही प्रवृत्ति आउने छ । त्यस्तै, स्थूल सभ्यताभित्र पहिचानका स–साना रूपहरूले अस्तित्व रक्षा नहुँदा द्वन्द्वका द्वेषरेखाहरू कोरिरहेका छन् । बाठा र क्रियाशील राज्य प्रणालीमा विविधता व्यवस्थापनले पहिचान र स्वीकृतिको स्तर बढाएको छ । तर, धार्मिक रागमा विस्तार भएको राजनीतिले पश्चिमी र इस्लाम संस्कृतिबीच द्वन्द्वाभिमुख प्रवृत्ति बढाएको छ । एसियन संस्कृति शालीन व्यवहारमा छ ।

अर्को हाइपोथेसिस पनि के मेल खाँदैन भने तनावको कारण अहिले पनि आर्थिक छ । व्यापार युद्ध, बहुराष्ट्रिय कम्पनीको विस्तार र देशहरू साझा मञ्च/महासंघ बन्ने क्रमले आर्थिक एजेन्डा नै विश्व व्यवस्थामा प्रभुत्वकारी छन् । कर्पोरेट गरिल्लाहरू विश्व अर्थव्यवस्था माथि धावा बोल्दै राज्य शक्तिलाई झण्डै विस्थापन गरेर उत्पादन, उपभोग र आपूर्तिको नयाँ संस्कृति, नयाँ स्वाद विकास गरिरहेका छन् ।

सौम्य शक्तिको विकास भैसकेको छैन, आर्थिक शक्तिको विकास छ, त्यो पनि वैश्विक तहमा । जसले साझा विश्व आर्थिक व्यवस्था विकास गरिरहेको छ । सभ्यताले होइन, आर्थिक आप्रवाहले राजनीतिमाथि अधीन कायम गरेको छ । आर्थिक एजेन्डालाई सभ्यता र संस्कृतिले पछ्याइरहेको छ ।

केचाहिँ सही देखिएको छ भने- पश्चिमी भर्सेस अन्य शक्तिबीच द्वन्द्व रहने र पश्चिमी शक्ति अस्तित्वमा रहन पनि आफैँ रूपान्तणमा पुग्नुपर्ने बाध्यतामा छ । तर, त्यो शक्तिको स्थान र केन्द्र बदलिने क्रममा छ, पश्चिमबाट पूर्वतिर । दक्षिणपन्थी राजनीतिज्ञको हावीले पनि नजानिँदो रूपमा यसलाई बल पुर्‍याएका छन् । उदीयमान एसियाको अर्को आर्थिक चित्र बन्दैछ, सभ्यता शक्ति भने एसियाभन्दा अझै उतैतिर छ । (@maonaligopi)

salt training

कमेन्ट गर्नुहोस्