०५ साउन २०८३, मंगलबार
नाम मात्रका संघ

राखेपभन्दा जेठा खेल संघहरूको निरीहता– झोलामा कार्यालय, पूर्वाधार शून्य !

भदौ ११, २०८२
काठमाडौं
राखेपभन्दा जेठा खेल संघहरूको निरीहता– झोलामा कार्यालय, पूर्वाधार शून्य !

नेपाली खेलकुदमा राष्ट्रिय खेल संघहरूको इतिहास निकै पुरानो छ । केही खेल संघ त नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) भन्दा पनि जेठा छन् । तर, दशकौंअघि स्थापना भएका यी खेल संघहरूको उपलब्धि भने नेपाली खेलकुदमा अत्यन्तै न्यून छ ।

हाल अस्तित्वमा रहेका कतिपय चर्चित खेल संघले आफ्नो स्थापनाको ७८औं वार्षिकोत्सव पनि मनाउन भ्याइसकेका छन् । तर, खेलाडी उत्पादन, अन्तर्राष्ट्रिय उपलब्धि, भौतिक पूर्वाधारजस्ता संवेदनशील पक्षमा राष्ट्रिय खेल संघहरूले पुर्‍याएको योगदानको पक्ष निराशाजनक देखिन्छ ।

अवस्था कतिसम्म दयनीय छ भने आधा दशकभन्दा लामो इतिहास बोकेका कतिपय खेल संघको त कार्यालय भवनको समेत टुंगो छैन । आफ्नै स्वामित्वमा भौतिक पूर्वाधार, खेलकुद एकेडेमी वा कार्यालय भवन रहेका खेल संघको संख्या त झन् एउटा हातको औंलामा गन्न सकिने मात्र छन् ।

२०१५ सालमा तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद गठन भएपछि मात्र नेपाली खेलकुदको संस्थागत विकास अघि बढेको हो । त्यसको सदस्यसचिव होराप्रसाद जोशी थिए ।

त्यसपछि, २०१७ सालमा पुरानो नामबाट ‘स्वास्थ्य’ शब्द हटाइएपछि हालको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) रहन गएको हो । त्यसको चार वर्षपछि २०२१ सालमा राष्ट्रिय खेलकुद परिषद् ऐन बन्यो र सोही ऐनअन्तर्गत निर्देशित हुँदै नेपाली खेलकुद अगाडि बढेको थियो ।

तर, त्योभन्दा निकै अघिदेखि नेपाली खेलकुदमा खेल संघहरू अस्तित्वमा आइसकेका थिए । नेपालमा २००४ सालमै नेपाल क्रिकेट संघ (क्यान), नेपाल एथ्लेटिक्स संघ, नेपाल ब्याडमिन्टन संघ र नेपाल टेबुलटेनिस संघ गठन भइसकेका थिए । यस आधारमा यी चर्चित खेल संघहरू स्थापना भएको ७८ वर्ष पुगिसकेको छ ।

यीमध्ये क्यानबाहेक अन्य खेल संघको न स्थायी कार्यालय भवन छ, न त आफ्नो खेलसँग सम्बन्धित एकेडेमी वा भौतिक संरचना नै । राखेपको स्वामित्वमा रहेको लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा निर्मित संरचनालाई टेबलटेनिस संघले आफ्नो कार्यालयको रूपमा प्रयोग गर्दै आएको छ । ब्याडमिन्टनले पनि त्रिपुरेश्वरस्थित राखेपकै संरचनामा आफ्नो कार्यालय स्थापना गरेको छ ।

क्यानले भने पछिल्लो केही समययता मूलपानीस्थित क्रिकेट मैदानमा बनेको संरचनाबाट आफ्नो कार्यालय सञ्चालन गर्दै आएको छ । त्यसअघि क्यानको कार्यालय पनि भाडाकै घरमा रहेको थियो ।

हाल क्यानको मुख्यालय रहेको मूलपानी क्रिकेट मैदानमा निर्मित संरचना पनि राखेपकै स्वामित्वमा छ । अन्तर्राष्ट्रिय उपलब्धिको हिसाबले भने नेपाली क्रिकेटले गरेको प्रगतिलाई सन्तोषजनक मान्नु पर्छ ।

केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एथ्लेटिक्स संघका एक पदाधिकारीले एउटा रमाइलो प्रसंग कोट्याएका थिए । उनको कथन थियो, ‘औपचारिक रूपमा एथ्लेटिक्स संघको कार्यालय त्रिपुरेश्वरस्थित राखेप परिसरमा छ । तर, वर्षौंदेखि अनौपचारिक रूपमा संघको कार्यालय थापाथलीस्थित अध्यक्षज्यूको घरबाट सञ्चालित हुँदै आएको छ । कार्यालयको कामले सिधै अध्यक्ष ज्यूको घरमा जान पनि डरमर्दो छ, कतिबेला कुकुरले झम्टने हो थाहा हुन्न ।’

एथ्लेटिक्स संघका ती पदाधिकारीले फरक प्रसंगमा त्यो कुरा कोट्याएका थिए । तर, यथार्थमा यतिबेला अधिकांश खेल संघको अवस्था उनले भनेभन्दा फरक छैन । स्थापनाको लामो कालखण्ड पार गरिसकेका अधिकांश खेल संघले स्थायी रूपमा कार्यालय भवन समेत निर्माण गर्न सकेका छैनन् ।

निकै लामो समयदेखि चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा ब्याडमिन्टनको एकेडेमी निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो । तर, पर्याप्त बजेटको अभावमा छात्रावाससहितको उक्त एकेडेमी निर्माण कार्य अहिले अलपत्र अवस्थामा छ ।

‘ब्याडमिन्टन एकेडेमी निर्माणका लागि वडा कार्यालयले जग्गा उपलब्ध गराएको हो । म राखेपको कोषाध्यक्ष हुँदा एकेडेमी निर्माणको काम अघि बढेको थियो । केशव बिष्ट राखेपको सदस्यसचिव हुँदा राम्रो बजेट पनि परेको थियो । निर्माण कार्य अगाडि बढेको थियो, तर अहिले बजेटको अभावमा अलपत्र अवस्थामा छ । ब्याडमिन्टन संघका यसअघिका पदाधिकारीले पनि खासै पहल गरेनन्,’ राखेपका पूर्वकोषाध्यक्ष शैलेश कर्माचार्यले भने ।

यसैगरी, नेपाली खेलकुदमा फूटबल, हक्की र टेनिस संघको इतिहास पनि निकै पुरानो छ । अखिल नेपाल फुटबल संघ (एन्फा) २००८ सालमा, नेपाल हक्की संघ २०११ सालमा र अखिल नेपाल टेनिस संघ २०१३ सालमा गठन भएका हुन् ।

७४ वर्षअघि स्थापना भएको फूटबल संघको कार्यालय भवन हाल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा छ । कम्प्लेक्स रहेको जग्गा राखेपबाटै एन्फाले प्राप्त गरेको हो । तर, त्यहाँ निर्मित कार्यालय भवन, एकेडेमी भवन र फूटबल मैदान भने एन्फाकै सक्रियतामा निर्माण गरिएको हो ।

यसका अतिरिक्त, ललितपुरको च्यासल, धरान र बुटवलमा निर्मित गोल प्रोजेक्टअन्तर्गतको पूर्वाधार पनि अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) को सहयोगमा एन्फा आफैंले तयार पारेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्मित एकेडेमी र फूटबल मैदान पनि गोल प्रोजेक्ट परियोजनाअन्तर्गत नै निर्माण गरिएको हो ।

यसैगरी, ६९ वर्षअघि स्थापना भएको टेनिस संघको कार्यालय हाल सातदोबाटोस्थित टेनिस परिसरमा निर्मित संरचनामा रहेको छ । यो संरचनामा टेनिस कोर्टका अतिरिक्त आठ कोठे भवन पनि रहेको छ ।

राखेपअन्तर्गतको संघ–संस्था शाखाको तथ्याङ्क अनुसार, यो संरचना राखेपको स्वामित्वमा रहेको छ । अर्थात्, टेनिस संघले पनि आफ्नै पहलमा न कुनै संरचना निर्माण गरेको छ, न त कार्यालय भवन नै ।

यसैगरी, ७१ वर्षअघि स्थापना भएको हक्की संघको अवस्था पनि दयनीय नै छ । कार्यालय सञ्चालनमा समेत हक्की संघले राखेपकै भर पर्नु परेको छ । तर, पछिल्लो समय हक्की संघले धुलिखेलमा जग्गा प्राप्ति गरिसकेको छ । राखेप संघ–संस्था शाखाका प्रमुख चन्द्रकुमार राईका अनुसार, हक्की संघलाई धुलिखेल नगरपालिकाले एकेडेमी र खेल मैदान निर्माण गर्न जग्गा उपलब्ध गराएको हो ।

बक्सिङ र भलिबल पनि निकै पुराना खेल संघ हुन् । नेपाली बक्सिङ संघ र नेपाल भलिबल संघको स्थापना २०३३ सालमा भएको हो । यस आधारमा यी दुवै खेल संघ स्थापना भएको ४९ वर्ष पुगिसकेको छ । तर, यी दुवै खेल संघको आफ्नै स्वामित्वमा कार्यालय भवन समेत छैन ।

बक्सिङ र भलिबल संघले त्रिपुरेश्वरस्थित राखेपको एउटा कोठाबाट आफ्नो कार्यालय सञ्चालन गर्दै आएका छन् । त्यसमाथि भलिबलले त देशकै राष्ट्रिय खेलको गौरवसमेत प्राप्त गरेको छ ।

यसका अतिरिक्त नेपालका लागि परिणामुखी खेलका रूपमा दरिएका कराँते, तेक्वान्दो, सुटिङ, पौडी र स्क्वासको छुट्टै प्रशिक्षण केन्द्र छ । तर, यी खेलका पूर्वाधारहरू पनि राखेपले नै निर्माण गरिदिएको हो । संघ–संस्था शाखाका अनुसार, सम्बन्धित संघहरू आफैंले जग्गाको व्यवस्था वा आफ्नै स्रोत परिचालन गरेर यी पूर्वाधार निर्माण गरेका होइनन् ।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कराँते, तेक्वान्दो, पौडी र सुटिङको पूर्वाधार निर्माण गरिदिएको छ । राखेपले स्क्वासको प्रशिक्षण स्थल र कार्यालय भवन पनि सातदोबाटोमै निर्माण गरेको छ । यीमध्ये पौडी पोखरी, सुटिङ रेन्जलगायतका अधिकांश पूर्वाधार नेपालमै आयोजित आठौं दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । 

संघ–संस्था शाखाका प्रमुख राईका अनुसार, नयाँबजारमा जुडो प्रशिक्षण केन्द्र र कीर्तिपुरमा खो खो प्रशिक्षण केन्द्र रहेको छ । राखेपले आफ्नो आधिकारिक वेबसाइटमा पाँच दर्जनभन्दा बढी खेल संघको विवरण राखेको छ । त्यसमध्ये अधिकांश संघको ठेगानामा त्रिपुरेश्वर उल्लेख गरिएको छ ।

त्रिपुरेश्वर ठेगाना उल्लेख गरिएका यस्ता संघको कार्यालय राखेपकै स्वामित्वमा रहेको संरचनामा रहेका छन् । कबड्डी, ई–स्पोर्टस, आर्चरी, एथ्लेटिक्स, बेसबल तथा सफ्टबल, बास्केटबल, बडी बिल्डिङ तथा फिटनेस, बक्सिङ, क्लाइम्बिङ स्पोर्टस, साइक्लिङ, जिमन्याष्टिक, ह्यान्डबल लगायत थुप्रै खेल संघको कार्यालय त्रिपुरेश्वरमा रहेको उल्लेख छ ।

‘अवस्था निराशाजनक छ । संघका पदाधिकारीहरू जहिले पनि आपसी विवादमै अल्झिरहेका हुन्छन् । खेलाडीको हकहित, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माणका लागि स्रोतको खोजीजस्ता विषयमा उनीहरूको ध्यान नै जाँदैन । संघको कार्यालय स्थापनादेखि लिएर प्रतियोगिता आयोजनासम्म राखेपकै अनुदानमा भर पर्दै आएका छन्,’ राखेपका एक अधिकारी भन्छन् ।

संघ–संस्था शाखाको तथ्याङ्कअनुसार, पछिल्लो समय रग्वीले कागेश्वरी मनोहरा नगरपालिकामा एकेडेमी बनाउने तयारी अघि बढाएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा रग्वीको पूर्वाधार निर्माण गर्न डीपीआर पनि तयार भइसकेको छ ।

नेपाल अटोमोबाइल्स संघले पनि धुलिखेलमा आफ्नो खेल पूर्वाधार निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । नेपाल कबड्डी संघले पनि कागेश्वरी मनोहरा नगरपालिकामा एकेडेमी भवन र प्रशिक्षण केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

राखेपअन्तर्गत सामान्य प्रशासन शाखाका प्रमुख तिलक नेपालीका अनुसार, राखेपले देशभर रहेको आफ्नो पूर्वाधारको अवस्थाबारे तथ्याङ्क संकलन गर्न ‘भौतिक पूर्वाधार उपयोग तथा सञ्चालन कार्यविधि मस्यौदा कार्यदल’ गठन गरेको छ । त्यो कार्यदलले राखेपको स्वामित्वमा रहेको पूर्वाधार र त्यसको उपयोगको विषयमा अध्ययन गरिरहेको छ ।

राखेपकी बोर्ड सदस्य सुवर्ण श्रेष्ठको संयोजकत्वमा गठित उक्त कार्यदलमा सदस्यका रूपमा नेपाली र पूर्वाधार विकास शाखाका प्रमुख राजु श्रेष्ठ रहेका छन् । यो कार्यदलले राखेपको पूर्वाधारको अवस्था कस्तो छ र कसले प्रयोग गरिरहेको छ भन्ने विषयमा पनि तथ्याङ्क संकलन गरिरहेको छ ।

‘वैशाख १ गते कार्यदल गठन गरिएको हो । हामीले देशभरिबाट तथ्याङ्क संकलन गर्ने काम अगाडि बढाएका छौं । छिट्टै नै आफ्नो प्रतिवेदन बुझाउने तयारीमा छौं । यो प्रतिवेदनले राखेपको पूर्वाधारलाई व्यवस्थित गर्न सहयोग पुर्‍याउने विश्वास लिएका छौं,’ उनले लोकान्तरसँग भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ पनि अधिकांश खेल संघहरूको अवस्था र कार्यशैली सन्तोषजन नभएको बताउँछन् ।

‘परिषदभन्दा निकै अघि स्थापना भएका खेल संघहरू छन् । तर, खेल पदाधिकारीको ढर्रा भने अझै परम्परागत नै छ । आफ्नो भूमिका र दायित्वप्रति उहाँहरू सचेत हुनु आवश्यक देखिन्छ,’ सदस्यसचिव घिसिङ भन्छन् ।

आफ्नो खेलको विकासका लागि निरन्तर प्रयास गर्नु, खेलाडीहरूको हकहितमा काम गर्नु, पूर्वाधार निर्माणका लागि स्रोतको खोजी र परिचालन गर्नुजस्ता कार्यहरू सम्बन्धित खेल संघका पदाधिकारीको प्रमुख जिम्मेवारी भएको सदस्यसचिव घिसिङ बताउँछन् ।

‘खेलकुद क्षेत्रको विकासमा खेल संघको भूमिका महत्वपूर्ण हुन्छ । खेल संघका पदाधिकारीहरूले पनि यो जिम्मेवारी बोध गर्नु आवश्यक छ । तर, हाम्रा खेल पदाधिकारीहरूको शैली फरक देखिन्छ । संघबाट बिदा हुँदा नयाँ नेतृत्वलाई बरबुझारथ गर्ने परम्परासम्म छैन । नेपाली खेलकुदमा यस्ता थुप्रै उदाहरण छन्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्