
उच्च अदालत पाटनले मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले जिल्लाकै आदेश सदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले गत साउन १४ मा झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशसँगै झा डिल्लीबजार कारागार चलान भएका थिए । जिल्लाले थुनामा पठाएपछि उनले वेरीतको निवेदन लिएर उच्च अदालत पुगेका थिए ।
उनीविरुद्ध एक युवतीले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
आफूलाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा झाले बलात्कार गरेको आरोप लगाएकी थिइन् । झाले भने आफूमाथि बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा हालेका थिए ।