
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बिगो कायम गर्दै उनीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
यादवले दशौं वर्षसम्म निमित्त कार्यालय प्रमुखका रूपमा बसेर सरकारी जग्गा प्लट मिलान गर्ने नाममा व्यक्तिको नाममा पार्ने, करोडौंको आर्थिक चलखेल गर्ने तथा पदीय मर्यादाविपरीतका कार्य गर्दै गैरकानूनी सम्पत्ति आर्जन गरेका आयोगको दाबी छ ।
२०५३ साल असार १३ देखि २०८१ साल असार १६ गतेसम्मको अवधिमा उनको परिवारसहितको कुल आय करिब ९ करोड ३ लाख रुपैयाँ रहेको देखिएको छ भने सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च तथा लगानी भएको पाइएको छ। यसका आधारमा झण्डै पाँच करोड उनासी लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति जफत गरी सो बराबरको बिगो असुल गर्न मागदाबी गरेको छ। साथै, यादवले सम्पत्ति विवरण लुकाएर झुट्टा विवरण दिएको अभियोगमा समेत कारबाही गर्नुपर्ने आयोगको दाबी छ ।
यादवले आर्जन गरेको सम्पत्तिको केही अंश श्रीमती गायत्री यादव तथा छोराहरू सुधान्सु र शुभम यादवका नाममा समेत दर्ता गरिएको पाइएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
यस्तो छ आरोपपत्र :