
सुन्धारामा अवस्थित ऐतिहासिक बागदरबार अहिले पूर्णरूपमा जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालको भूकम्पपछि अभिभावकविहीन बनेको यो दरबारका ढोका–झ्याल सबै काम नलाग्ने अवस्थामा छन् ।
भित्ताहरू चर्किएर कतिपय भाग भत्किएका छन् भने भित्तामै झारसमेत पलाइसकेको छ । संरक्षणको जिम्मेवारी लिने निकायले बेवास्ता गर्दा बागदरबार आज पनि पुनर्निर्माणको पर्खाइमै छ ।
भवनलाई भत्काएर नयाँ संरचना बनाउने कि रेट्रोफिटिङमार्फत प्रबलीकरण गर्ने भन्ने विषयमा लामो समयदेखि बहस भइरहे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
२००७ सालपछि सरकारी स्वामित्वमा आएको यो दरबारमा केही समय अर्थ मन्त्रालय बसेको थियो ।

२०६० पुस २८ गते तत्कालीन सरकारले काठमाडौं महानगरपालिकालाई उपलब्ध गराएपछि महानगरले सोही वर्षदेखि आफ्नो कार्यालय बागदरबारमै सारेको थियो ।
जनप्रतिनिधि नआउँदा अघि नै तत्कालीन कार्यकारी प्रमुख रुद्धसिंह तामाङले दरबार भत्काएर नयाँ संरचना बनाउन योजना अघि सारेका थिए । तर, सम्पदा अभियन्ताको विरोधपछि त्यो योजना रोकिएको हो । पछि निर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले त्यही योजना दोहोर्याएपछि विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

महानगरले बागदरबार भत्काएर आधुनिक ‘मल्टिपर्पस’ भवन बनाउने तयारी गरे पनि ऐतिहासिकता र पहिचान हराउने भन्दै जनहित संरक्षण मञ्च तथा सम्पदा अभियन्ताले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले बागदरबारमा महानगरलाई भोगचलनको अधिकार मात्र रहेको र स्वामित्व नरहेको ठहर गर्दै दरबार नभत्काउन र यसको संरक्षण गर्न सरकारका नाममा २०७५ चैतमा परमादेश जारी गर्यो ।
तत्कालीन पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरलाई दरबारमा थप क्षति हुन नदिन निर्देशन दियो । त्यसपछि भत्काउने योजना अघि बढ्न सकेन र महानगर कार्यालय कमलादीस्थित काठमाडौं प्लाजामा सारियो । अहिले पनि बागदरबार परिसरमा महानगर प्रहरीको कार्यालय भने यथावत् छ ।
२०७९ सालको स्थानीय चुनावपछि निर्वाचित मेयर बालेन्द्र शाहले बागदरबारलाई रेट्रोफिटिङ गरेर प्रबलीकरण गर्ने निर्णय गरे । सोअनुसार गत आर्थिक वर्षमा १ करोड रुपैयाँ र बहुवर्षीय योजनाअन्तर्गत ४० करोड रकम विनियोजन गरिएको थियो । तर, ठेक्का आह्वान गर्दा कसैले चासो नदेखाएपछि काम अघि बढ्न सकेन । यस वर्ष पनि महानगरले भदौ १५ सम्मलाई समयसीमा तोकी १ करोड ४८ लाख ५ हजारमा ठेक्का आह्वान गरेको छ ।

पूर्वमेयर विद्यासुन्दर शाक्यले भत्काउने भनिएको भवन वास्तवमा बागदरबार नभई हरि शम्शेरले प्रयोग गरेको ‘हरि भवन’ रहेको दाबी गरे । उनले बागदरबार सुशील शम्शेरले दिलविकास राज भण्डारीलाई बिक्री गरिसकेको जिकिर गरे ।
तर, सम्पदा अभियन्ता गणपति श्रेष्ठले नयाँ संरचना बनाउन सहज बनाउनकै लागि इतिहासलाई तोडमोड गरेर भवनलाई सामान्य व्यक्तिको सम्पत्तिसरह प्रस्तुत गरिएको आरोप लगाए ।

पृथ्वीनारायण शाहका पालामा उनका भाइभारदारले प्रयोग गरेको यो क्षेत्र पछि राणाकालसम्म विभिन्न कालखण्डको साक्षी बनेर उभिएको छ ।
करिब १७ रोपनी क्षेत्रफलमा रहेको बागदरबार त्यतिबेला उत्तरमा धरहरादेखि दक्षिणमा केन्द्रीय कारागारसम्म फैलिएको थियो । आज भने यसको अस्तित्व नै संकटमा परेको छ ।
भिडियो :