
राजधानी काठमाडौंसँग पूर्वी तराई र मधेश प्रदेशलाई जोड्ने व्यस्त बीपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास सडक) अहिले आंशिक मात्र खुला छ ।
जोखिमका कारण गत असार ७ गतेयता साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
भदौ १५ गतेसम्मको समय सीमा राखेर लगाइएको रोक यसपछि पनि जारी रहने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यसअघि गरिएको निर्णय अझै कायमै रहने बताए ।
‘जोखिम उस्तै छ, कम भएको छैन । हामीले काभ्रे भञ्ज्याङबाट साँझ ५ बजेसम्म मात्र गाडी छाड्ने हो भने उज्यालो छँदै उक्त गाडीले जोखिमयुक्त क्षेत्र पार गर्न सक्छ भनेर त्यस्तो निर्णय गरेका थियौं । उक्त निर्णय यो महिनाभरि कायमै रहनेछ ।’
उनले दशैं अघिसम्म जुनसुकै समयमा पनि दोहोरो आवतजावत हुने गरी सडक खुलाउन प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताए ।
यता सडक विभागले दशैंमा पूर्ण रूपमा राजमार्ग खुलाउने तयारीस्वरूप ३५ वटा भारी मशिन तैनाथ गरेको छ ।
चेन स्काभेटर, ह्वील स्काभेटर, ह्वील लोडर, चेन बुल डोजर, टिपर र फ्ल्याट ट्रेलर गरी ३५ वटा ठूला मशिनहरू तयारी अवस्थामा राखिएको प्रवक्ता प्रभातकुमार झाले लोकान्तरसँग बताए ।

विभाग आफैंले २२ र ठेकेदार कम्पनीहरूले १३ वटा मशिन तयारी अवस्थामा राखेका छन् । ‘आवश्यक पर्नेबित्तिकै हामीले ती मशिन चलाएर बाटोमा आउन सक्ने सम्भावित अवरोध हटाउँछौं,’ प्रवक्ता झाले भने ।
काभ्रे र सिन्धुलीका जोखिमयुक्त क्षेत्रमा तत्काल खटाइएका यी मशिनले अस्थायी राहत दिन सक्ने भए पनि दीर्घकालीन समाधान भने अझै केही वर्ष हुने देखिन्न ।
यस्तो छ ठेक्का प्रक्रिया
गत सालको असोज १२ गते आएको भीषण वर्षाका कारण १६० किलोमिटर लामो राजमार्गको विभिन्न खण्डमा क्षति पुगेको छ ।

त्यतिबेला राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको २९ किलोमिटरमा बाढीले क्षति पुर्याएको थियो भने करिब १७ सय मिटर सडक पूर्णरूपमा ध्वस्त भएको थियो ।
कालढुंगा, बोक्सीकुना, थली बेसी, नार्के पुल र चौकी डाँडामा रोशी खोलाले सडकलाई पूर्णरूपमा नष्ट गरेको थियो, जसमध्ये चौकी डाँडामा ५०० मिटर सडक सबैभन्दा बढी प्रभावित भयो ।
लोकान्तरले यसबारे मनसुनअघि नै सम्बन्धित ठाउँमै पुगेर विस्तृत रिपोर्टिङ गरेको थियो ।
हेर्नुहोस् रिपोर्टिङ -
पहिलो प्याकेजअन्तर्गत खाल्टे डिभिजनको ४.९ किलोमिटरमा खरिदुंगा/घिसिङ/क्षितिज जेभीले ठेक्का पाएको छ ।
नेपालथोकदेखि बर्खेखोलासम्मको खण्डमा दिइएको उक्त ठेक्का रकम ६१ करोड रहेको सडक विभागले दिएको जानकारीमा उल्लेख छ ।
त्यस्तै, जाइका आफैंले बर्खेखोलादेखि पिप्लेसम्मको खण्ड बनाउने अग्रसरता लिएको छ ।
त्यस्तै, पिप्लेदेखि दलाबेसीसम्मको २.३ किलोमिटर पनि सडक विभागले नै बनाउने भएको छ । अनुमानित १ अर्ब २१ करोड लाग्ने यो खण्डमा प्राविधिक मूल्यांकन भइरहेको विभागले बताएको छ ।
दोस्रो, प्याकेजअन्तर्गत दलाबेसीदेखि चारसयबेसीसम्मको ८.५ किलोमिटर खण्ड खानी/एवान/कमलजित जेभीलाई १ अर्ब ४२ करोडमा ठेक्का दिइएको छ । यो भक्तपुर सडक डिभिजनअन्तर्गतको जिम्मामा छ ।
तेस्रो प्याकेजअन्तर्गत चारसयबेसीदेखि भकुन्डेबेसीसम्मको ११.८ किलोमिटर सडक बनाउने ठेक्का लामा-नवकान्तिपुर जेभीले पाएको छ । यसको कूल रकम १ अर्ब ३३ करोड ५३ लाख रहेको विभागले बताएको छ ।

सडक विभागले तत्कालका लागि यातायात आवागमन सहज बनाउने र दीर्घकालमा सडक खण्डको पुनर्निर्माण गर्ने गरी दुई रणनीतिमा काम गरिरहेको प्रवक्ता झाले बताए ।
‘आम यात्रुलाई आवागमनमा समस्या नहोस् भनेर हामीले जोखिमयुक्त ठाउँमा मशिन राखेका छौं । त्यसमाथि दशैंमा यात्रुको चाप धेरै हुने भएकाले हामीले त्यही अनुसार काम गरिरहेका छौं । अर्कोतर्फ भत्किएका संरचनाहरू छिटो निर्माण गर्नुपर्ने बाध्यता छ । लगभग सबै खण्डमा ठेक्का लागिसकेको छ र हामीले त्यसलाई छिटो गर्न प्रयास गरिरहेका छौं,’ प्रवक्ता झाले भने ।
देशैभर कहाँ-कहाँ समस्या ?
यस वर्षको मनसुनजन्य विपद्का कारण देशका अन्य महत्त्वपूर्ण राजमार्गहरूमा गम्भीर क्षति पुगेको छ । सडक विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार, रसुवामा चीनबाट आएको भीषण बाढीले नदीमा कटान गर्दा गल्छी-त्रिशूली-रसुवागढी सडक अवरुद्ध भएको थियो । अहिले आवत-जावत खुलेको भएपनि यो सडकमा जोखिम कायमै रहेको छ ।
अर्कोतर्फ, ताप्लेजुङको तमोर कोरिडोरमा अविरल वर्षासँगै आएको बाढीले रानीपुल बेली ब्रिज बगाएको छ, जसले गर्दा उक्त क्षेत्रसँगको सम्पर्क टुटेको छ । सडक खुलाउन अहिले काम भइरहेको सडक विभागले जनाएको छ ।
त्यस्तै, संखुवासभाको कोशी राजमार्गमा बरुण नदीले डाइभर्सन बगाउँदा र हुम्लाको कर्णाली राजमार्गमा पैमा खोलाको बहाव बढ्दा यातायात आंशिक रूपमा ठप्प छ ।

देशका अन्य भागमा पनि पहिरोले राजमार्गहरूमा क्षति पुर्याएको छ । पश्चिम रुकुम र डोल्पामा भेरी कोरिडोर, रोल्पामा शहीद मार्ग र दैलेखमा तल्लो डुङ्गेश्वर-मान्मा सडक खण्डमा लगातार पहिरो खसिरहेको विभागले जनाएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गको ठाउँठाउँमा पनि पहिरो जाने क्रम घटेको छैन ।
सडक विभाग र सम्बन्धित निकायहरूले स्काभेटर तथा लोडर जस्ता उपकरण प्रयोग गरी अवरोध हटाउने प्रयास गरिरहेको विभागले जनाएको छ । तर, लगातारको वर्षा, खोलामा पानीको सतह नघटेको अवस्था र पहिरो खस्ने क्रम नरोकिँदा सडक सुचारु गर्ने कार्य चुनौतीपूर्ण बनेको विभागको भनाइ छ ।