
भदौ ९ गते ललितपुरको भैँसेपाटीबाट पक्राउ परेका अमेरिकी नागरिक डेनियल एस कर्नीमाथि अनुसन्धान गर्दा रोचक तथ्य फेला परेको छ ।
अध्यागमनलाई डेनियलले दिएका बयानअनुसार उनी अवकाशप्राप्त अमेरिकी सैनिक हुन् ।
बिजनेस भिसामा नेपाल आएका उनले पुस्तक प्रकाशन गर्ने भन्दै कम्पनी रजिस्ट्रारको कार्यालय ललितपुरमा ‘कर्नी पब्लिसिङ हाउस’ नामक उद्योग दर्ता गरेको पाइएको छ ।
डेनियलले २०८० जेठ २६ मै उक्त संस्था दर्ता गरेका थिए । तर, यो संस्थाको मुख्य उद्देश्य सामान्य पुस्तक प्रकाशन गर्ने नभएर क्रिश्चियन धर्म प्रचार गर्ने रहेको अध्यागमनको अनुसन्धानले देखाएको छ ।
भैँसेपाटीस्थित सानो खोकनामा विगत केही वर्षदेखि चार तले घर भाडामा लिएर उनले बालगृह सञ्चालन गरिरहेका थिए । तर, त्यहाँ कुनै बोर्ड लगाइएको थिएन ।
आर्थिक अवस्था कमजोर भएका २५ जना बालबालिकालाई देशका विभिन्न स्थानबाट ल्याएर डेनियलले क्रिश्चियन धर्मको प्रचारका लागि प्रयोग गरेको पाइएको छ ।
ती बालबालिकालाई सानो खोकनाकै निर्मल सेकेन्डरी स्कूल, डाइनामिक पब्लिक स्कूल र अस्मिता सेकेन्डरी स्कुलमा पठनपाठन गराउँदै आएको अध्यागमनले जनाएको छ ।
नेपाली भाषा समेत जानेका डेनियल पहिलोपटक सन् २०१० मा नेपाल आएका थिए । त्यसपछि उनी धेरैपटक नेपाल आउजाउ गरेको उनको ‘ट्राभल हिस्ट्री’ले देखाउँछ ।
डेनियलले आफू गरिबलाई सहयोग गर्ने उद्देश्यले नेपाल आएको दाबी बयानमा गरेका छन् । तर, उनले क्रिश्चियन धर्मको प्रचारप्रसार गरेको पनि स्वीकारेका छन् ।
बयानमा डेनियलले भनेका छन्, ‘मैले गर्ने सहयोगको आर्थिक स्रोत केही मेरो पेन्सनबाट र धेरै सहयोग अमेरिकामा रहेको क्रिश्चियन चर्च तथा संस्थाले दिने गरेका छन् । सोही कारण क्रिश्चियन धर्म प्रचार गरेको हुँ ।’

डेनियलले बिजनेस भिसामा नेपाल आएर धर्म प्रचार गरेको र उक्त कार्य भिसाको उद्देश्यविपरीत गैरकानूनी भएको स्वीकार समेत उनले गरेका छन् ।
अचम्मको कुरा त डेनियलले आफूले गरेको कसुर पनि स्वीकार गरेका छन् र परिवारलाई समेत नेपालमा बस्न दिन आग्रह गरेका छन् । डेनियलका एक श्रीमती र ६ सन्तान छन् ।
‘म, मेरो श्रीमती र ६ जना छोराछोरीले नेपाललाई धेरै माया गर्छौं, त्यसैले हामीलाई नेपालमा बस्ने अवसर दिनु हुन अनुरोध गर्छु,’ डेनियलले भनेका छन्, ‘अध्यागमनको कानूनअनुसार जरिवाना तिरी नेपालमा बस्न दिएमा म आभारी हुनेछु ।’
डेनियलको कसुरअनुसार उनलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निस्कासनको प्रक्रिया अगाडि बढाउने तयारी अध्यागमनले गरेको छ ।
अनुसन्धान अधिकृतले डेनियलको बिजनेस भिसा रद्द गर्ने र श्रीमतीसहित ६ जना छोराछोरीलाई समेत अमेरिका फर्कने टिकट पेश गर्न लगाएर भिसा रद्द गर्न सिफारिस गरेका छन् ।
डेनियल अमेरिकामै पनि अपराधमा मुछिएको अध्यागमनको अनुसन्धानले देखाएको छ । उनीविरुद्ध अमेरिकाकै न्यूजर्सीस्थित जिल्ला अदालतमा विभिन्न आरोपमा मुद्दा दर्ता भएको छ ।
उनलाई त्यहाँको अदालतले पाँच हजार अमेरिकी डलर जरिवाना गरेको र उनले एक हजार डलर तिरिसकेको पाइएको छ ।
अध्यागमनले भारतीय पक्षसँग समेत डेनियलको बारेमा बुझ्दा उनलाई सन् २०१७ मा भारत सरकारले ‘लिगल राइट्स प्रोटेक्सन फोरम’को उजुरीपछि कालोसूचीमा राख्दै निष्कासन गरेको पाइएको छ । तर, पछिल्लो समय उनले नेपाल हुँदै पुन: भारत प्रवेश गर्ने र संवेदनशील क्षेत्रमा विवादास्पद गतिविधि सञ्चालन गरेको आरोप छ ।
भारतको उत्तर–पूर्वी राज्य मणिपुरमा चलिरहेको जातीय द्वन्द्वमा कुकी समुदायका व्यक्तिहरूलाई ड्रोन, बुलेटप्रुफ ज्याकेट, कम्ब्याट बुट, मोजालगायतका सामग्री वितरण गरेको आरोप डेनियलमाथि लगाइएको छ ।
भारतीय समाचार संस्था इन्डिया टुडेले डेनियलले मणिपुरमा बुलेटप्रुफ ज्याकेट वितरण गरेको भिडियो समेत प्रशारण गरेको थियो ।
उच्च स्रोतका अनुसार डेनियलले त्यतिबेला एक नेपाली नागरिककै सहयोगमा त्यहाँ पुगेर बुलेटप्रुफ ज्याकेट वितरण गरेको पुष्टि नेपालको अध्यागमनले गरेको छ ।
अध्यागमनका प्रवक्ता टीकाराम ढकालले डेनियलमाथि अनुसन्धान सकिएको र उनलाई जरिवाना तिराएर अमेरिका डिपोर्ट गर्ने तयारी भइरहेको बताए ।
‘हामीले डेनियलको बारेमा धेरै गहिरो अनुसन्धान गर्यौं । उहाँले बिजनेस भिसामा नेपाल आएर धर्म प्रचार गर्नुभएको पुष्टि भयो । उहाँले स्वीकार पनि गर्नुभएको छ,’ ढकालले लोकान्तरसँग भने, ‘अध्यागमन ऐन र नियमावलीअनुसार उहाँलाई कारबाहीस्वरूप अमेरिका डिपोर्ट गर्दैछौं ।’
अनुसन्धान अधिकृतहरूले डेनियललाई अध्यागमन ऐन, २०४९ को दफा ९(१) र अध्यागमन कार्यविधि, २०६५ को दफा ६.२ (२) को ३, ४ र ९ बमोजिम पुन: नेपाल प्रवेशमा प्रतिबन्ध लगाई नेपालबाट निष्कासन प्रक्रिया अगाडि बढाउन सिफारिस गरेका छन् ।
शुरूमा उनी सन् २०१० मा नेपाल आएका थिए । सन् २०१९ फेब्रुअरी ८ यता मात्र डेनियल ३२ पटक नेपाल आएको पाइएको छ । पछिल्लोपटक सन् २०२४ अक्टोबर ११ मा भारतबाट नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको ट्राभल हिस्ट्रीले देखाउँछ ।
डेनियल थाइल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्किएबाट समेत नेपाल आएको पाइएको छ । उनी स्टडी भिसा, बिजनेस भिसा र टुरिस्ट भिसामा नेपाल आएका थिए ।
उनलाई अध्यागमनको हिरासतमा राखेर अनुसन्धान गरिएको हो ।