
नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले नयाँ सवारी साधन खरिद नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले यो सरकार कामचलाउ सरकार भएकाले नयाँ सवारी साधन खरिद नगर्न निर्देशन दिएका हुन् ।
कर्मचारीहरूलाई निर्देशन दिँदै उनले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेट चाहिने भएकाले नयाँ सवारी साधन किन्न नहुने बताएका हुन् ।
‘निजी सवारीमा भएको क्षतिको दायित्व बीमाबाट पूर्ति हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौं, कवाडी भएको बिक्री गरौं, पुनःनिर्माण तत्कालै शुरू गरी हामी केही महिनाभित्रै उठ्यौं भन्ने सन्देश दिन जरुरी छ’, मन्त्री खनालले भने ।
अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए ।
उनले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने समेत बताए । त्यसका लागि मन्त्री खनालले सोमबार नै बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकीकरण गर्नेछ ।
विनासबाट उठ्यौं है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी समेत उनले बताए । अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने उल्लेख गरे ।
‘कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौं है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ’, मन्त्री खनालले भने ।