
जोय फाउन्डेसन नेपालले प्रहरी वृत्त स्वयम्भूलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी प्रदान गरेको छ ।
प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको अवस्थामा यी आधारभूत उपकरण उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ । यी सामग्रीले प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन मद्दत पुर्याउने विश्वास लिइएको छ ।
जोय फाउन्डेसन नेपालले कठिन परिस्थितिमा राष्ट्रिय हितमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कोभिड–१९ महामारीका क्रममा यस संस्थाले देशभर १०० वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरी स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।
फाउन्डेसनले २५ वर्षदेखि तिलगंगा नेत्र विज्ञान संस्थासँग सहकार्य गर्दै नेपालभर आँखा शिविर सञ्चालन गर्दै आएको छ । सन् २०२३ को जाजरकोट भूकम्पपछिको राहत कार्य अन्तर्गत यसले प्रभावित बालबालिकालाई ट्रयाकसुट वितरण गरेको थियो ।
ठमेलस्थित नेपाली घर होटल परिसरबाट सञ्चालनमा रहेको फाउन्डेसनले निरन्तर रूपमा देशभरका समुदायलाई सहयोग गर्दै आएको छ ।