
जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेश प्रदेशसभा र सचिवालयमा ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति पुर्याइएको छ ।
त्यस्तै, प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको उनले बताए । तोडफोडमा प्रदेशसभा सचिवालयको हायसगाडीमा आगजनी गरेर ध्वस्त बनाइएको छ भने सभामुख मण्डलको निजी गाडीको सिसा तोडफोड गरेर क्षतिग्रस्त बनाएको बताइएको छ ।
कार्यालयभित्र भएका फर्निचर, कम्प्युटर, ल्यापटप, इन्टरनेट, टेलिभिजन र पङ्खालगायतका भौतिक सामग्री लुटपाट गर्नुका साथै जलाएर पूर्ण क्षतिग्रस्त बनाएको उनले जानकारी दिए ।
साथै, सभामुख मण्डलले आफ्नो निवासमा पनि आन्दोलनकारीहरूले तोडफोड गर्नुका साथै तीन तोला सुनको गहना लुटेर लगेको जानकारी दिँदै यो एकदम गम्भीर एवं दुःखद् विषय भएको बताए ।
त्यस्तै, प्रदेशसभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटपाट भएको सचिवालयले जनाएको छ । यसैबीच, मधेश प्रदेशसभाबाट आन्दोलनको नाममा लुटपाट गरी लगिएको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामरा, मनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत विद्युतीय उपकरणका साथै भौतिक सामग्रीलगायतका सामान फिर्ता गर्न अनुरोध गरिएको छ ।
मधेश प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा लिखित सूचनामा उपरोक्त विद्युतीय सामग्री फिर्ता पठाउन अनुरोध गरिएको छ ।