
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमा जन्मदिनको शुभकामना दिएका छन् । यस क्रममा दुई नेताबीच रुस-युक्रेन युद्धबारे पनि छलफल भएको हो ।
'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गरिरहेका छन्,' ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भने, 'नरेन्द्र, रुस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद ।'
साथै, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताहरूबीचको कुराकानीको विवरण पनि साझा गरेका छन् ।
प्रधानमन्त्री मोदीले लेखेका छन्, 'मेरो साथी राष्ट्रपति ट्रम्प, तपाईंको फोन कलको लागि धन्यवाद र मेरो ७५ औं जन्मदिनको शुभकामना। तपाईंजस्तै, म पनि भारत-अमेरिकाको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छु। हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको प्रयासलाई समर्थन गर्छौं ।'
आज (सेप्टेम्बर १७) प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिन हो । अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएपछि मोदी र ट्रम्पबीचको यो पहिलो कुराकानी हो । कर लगाएको ४० दिनपछि भारत र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । मोदीले अन्तिमपटक जुन १७ मा ट्रम्पसँग लगभग ३५ मिनेट फोनमा कुरा गरेका थिए ।