२६ जेठ २०८३, मंगलबार
जेनजी आन्दोलन

मनोवैज्ञानिक रूपमै ‘विक्षिप्त’ प्रहरी– स्रोत साधनको जोहोसँगै मनोबल उकास्न जरुरी

असोज १, २०८२
काठमाडौं
मनोवैज्ञानिक रूपमै ‘विक्षिप्त’ प्रहरी– स्रोत साधनको जोहोसँगै मनोबल उकास्न जरुरी

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्का कान्छा सदस्य ओम प्रकाश अर्यालले गृहमन्त्रीको पदभार सम्हालेलगत्तै सुरक्षा निकायका प्रमुखहरूलाई ‘उच्च मनोबलले काम गर्नुस्’ भनेका छन् ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायत केही प्रहरी कार्यालयको अनुगमनका क्रममा उनले मनोबल उच्च राखेर काम गर्न आग्रह गरेका हुन् ।

देशैभर ध्वस्त संरचना, लुटिएका हतियार र सवारी साधनको आगजनीपछि प्रहरी अहिले ‘लौरो न हतियार’को अवस्थामा पुगेको छ । यस्तो बेला गृहमन्त्रीले भनेजस्तो तत्काल प्रहरीमा उच्च मनोबल आउने स्थिति छैन ।

तर, मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदबार, सर्वोच्च अदालतसँगै जिल्ला अदालतहरू र संसद् भवनसम्म खरानी बनाइएका बेला प्रहरी नयाँ शिराबाट उठ्नुको विकल्प भने छैन ।

प्रहरीका कति हतियार लुटियो भन्ने विवरण संकलन हुँदैछ । धेरै युनिटका प्रहरीको पोशाकदेखि जुत्तासम्म जलेका छन् । शान्ति सुरक्षाका लागि प्रयोग गर्ने अधिकांश सवारीसाधन (साइकल, मोटरसाइकदेखि गाडीसम्म) जलाइएका छन् । भवनहरू जलाइएका छन् । सञ्चार सेट जलेका छन् । सीसीटीभी मनिटरिङ कक्ष खरानी बनाइएको छ ।

एक हिसाबले प्रहरीको अस्तित्व मेट्न खोजिएको दृश्य प्रदर्शनका दिन देखिन्थ्यो । यो अवस्थामा गृहमन्त्री अर्यालले प्रहरीको मनोबल उकास्न जलेका भवन यथाशक्य छिटो ठड्याउनु आवश्यक छ । लुटिएका हतियार फिर्ता गराउनु आवश्यक छ । जलेका पोशाक सिलाउनु आवश्यक छ । तर, यी सबै तत्काल सम्भव देखिँदैन ।

गृहमन्त्री अर्यालले जलेका प्रहरी संरचनाको निरीक्षण गर्दै ‘सरकारले सहयोग गर्छ’ भनेका छन् । प्रहरीका मात्रै नभएर सरकारी एवं व्यक्तिगत सम्पत्ति जलाउनेलाई कानूनी दायरामा ल्याउन आयोग नै गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

छानबिन र अनुसन्धान जति ढिला हुँदै गयो, उति प्रमाण नष्ट हुँदै गर्छ । यो विभिन्न घटनाक्रमले पनि पुष्टि गरेकै छन् । यी सबैको प्रमाण जुटाउने काम प्रहरीकै हो । प्रहरीलाई अनुसन्धान गर्न त्यस अनुसारको स्रोत साधन जुटाउन ढिला गर्नुहुँदैन ।

उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउन ढिला गर्नुहुँदैन । आयोगमा पनि स्वतन्त्र व्यक्ति ल्याउनुपर्छ । आयोगलाई पछाडिबाट सबै प्रमाण दिलाउने काम प्रहरीकै हो ।

गृहमन्त्री अर्यालले भनेजस्तै प्रहरीलाई उच्च मनोबल बनाएर काम गर्न भौतिक स्रोत साधनसँगै उनीहरूको मनोविज्ञान र मनोभावनामा समेत परिवर्तन ल्याउनुपर्ने पूर्व प्रहरी अधिकारीहरूको सुझाव छ ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना प्रहरीको मनोबल उच्च राख्न सरकारले भौतिक संरचना पुनर्निर्माण गरेर मात्र नपुग्ने बताउँछन् । भावनात्मक सम्बन्धलाई उच्च राख्नुपर्ने उनको सुझाव छ ।

‘यो घटनाले राष्ट्र र समाजका लागि खटिएका प्रहरीको मनोभावनामा गम्भीर आघात पुर्‍याएको छ । कलिला बालबालिका मर्नुहुँदैनथ्यो, उनीहरूका अभिभावकको भावनामा पनि चोट पुगेको छ,’ रानाले लोकान्तरसँग भने, ‘अब दुवै घटनाको गम्भीर समीक्षा गरेर प्रहरीको मनोबल उच्च राख्नुपर्छ । पीडितका घाउमा मल्हम लगाउनुपर्छ ।’

उनले प्रहरीलाई पूर्ववत् अवस्थामा फर्काउन टोल, समाज, बुद्धिजीवीसँगै सरकार, लाइन मिनिस्ट्री (गृह मन्त्रालय) र संगठन प्रमुखले अभिभावकको भूमिका खेल्नुपर्ने बताए ।

रानाले भने, ‘प्रहरीले विगतमा विभिन्न द्वन्द्व झेल्दै आएको थियो । पछिल्लो घटना कल्पनाभन्दा बाहिरको हुन पुग्यो । अब जे भयो–भयो, त्यसलाई बिर्सेर शान्ति सुरक्षामा फ्रन्ट लाइनमा खटिने प्रहरीलाई काममा फर्काउन सरकारले अभिभावकत्व लिनुपर्छ ।’

नेपाल प्रहरीकै अर्का पूर्व अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह प्रहरीको मनोबल उच्च राख्न प्रहरीलाई अत्यावश्यक गाँस, बास र लत्ताकपडाको व्यवस्था तत्काल गर्नुपर्ने बताउँछन् ।

‘प्रहरीले २०४६ देखि हालसम्म आउँदा थुप्रै घटनाहरू व्यहोर्दै आयो । जेनजीको प्रदर्शनका क्रममा घुसपैठ भएरै होला, सुनियोजित ढंगले प्रहरीका कार्यालय जलाइए, प्रहरीलाई मारियो,’ शाहले लोकान्तरसँग भने, ‘अब उनीहरूलाई पुरानै अवस्थामा फर्काउन उनीहरूको मनोविज्ञानको उपचार जरुरी छ । त्यो भनेको समाजका अगुवा, पूर्व प्रहरी, नागरिक समाजलगायत सबै पक्षले उनीहरूका कुरा सुन्ने र आवश्यक सहयोग गर्ने हो ।’

प्रहरीलाई आत्मीय र भावनात्मक सहयोगको खाँचो रहेको शाह बताउँछन् ।

‘प्रहरीमाथि जुन खालको घटना भएको छ, त्यो झेल्न प्रहरी कर्मचारीको मनोविज्ञान धेरै कमजोर छ । त्यसैले उनीहरूलाई मनोपरामर्शको पनि खाँचो देखेको छु,’ शाहले भने, ‘स्थानीय स्तरमा प्रहरीका भौतिक आवश्यकता पूरा गरे पनि उनीहरूको भावनामा पुगेका चोटको उपचार हुन जरुरी छ ।’

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी कार्यालयको क्षतिको विवरण अझै पूरा आउन बाँकी रहेको बताए ।

उनले भने, ‘विवरण संकलनको काम भइरहेको छ । कति प्रहरी कर्मचारीहरू अझै सम्पर्कमा आएका छैनन् । विभिन्न प्रयासबाट उनीहरूलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ ।’

फिल्डमा खटिने प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न प्रहरी मुख्यालयले निर्देशन दिएको जानकारी घिमिरेले दिए ।

 

salt training

कमेन्ट गर्नुहोस्