
कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् ।
भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फर्किएका हुन् । हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।
फर्किएकामध्ये अधिकांश आफैं सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए ।
‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौं । प्रहरीले पनि खोजी कार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ’, उनले भने ।
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैं ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए ।