०३ साउन २०८३, आइतबार
लोकान्तर सम्पादकीय

अन्यत्र होइन, निर्वाचनमै ध्यान लगाऊ, तोकिएकै मितिमा चुनाव गर

असोज १, २०८२
काठमाडौं
अन्यत्र होइन, निर्वाचनमै ध्यान लगाऊ, तोकिएकै मितिमा चुनाव गर

जेनजी पुस्ताको आह्वानमा भदौ २३–२४ गते काठमाडौंलगायत देशका विभिन्न स्थानमा भएको आन्दोलनपछि देशमा नयाँ परिस्थिति सिर्जना भएको छ । चुनावी अन्तरिम सरकार बनेसँगै प्रतिनिधि सभा विघटन भएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ । राजनीतिक दलहरूले सांकेतिकरूपमा प्रतिनिधि सभा विघटनको विरोध गरे पनि चुनावका लागि तयार भएजस्तो देखिन्छ ।

प्रधानमन्त्री स्वयंले बारम्बार दोहोर्‍याएको कुरा हो– तोकिएको समयमा निर्वाचन । अब सरकारले आफ्नो एक मात्र अर्जुनदृष्टि फागुन २१ गतेको चुनाव सफल बनाउनेमा लगाओस् । संक्रमणकालीन चुनावी सरकारको एक मात्र काम निर्वाचन नै हो ।

सरकारले चुनाव बाहेकका अन्य गतिविधिमा ध्यान लगायो भने राजनीतिक वातावरण खल्बल्याउने छ र चुनाव अनिश्चित बन्नेछ । स्थापित दलहरूलाई संवादको माध्यमबाट विश्वासमा लिएर सरकारले चुनावको तयारीलाई तीव्र बनाउनु पर्छ ।

निश्चितरूपमा फागुन २१ गते चुनाव गर्न केही चुनौती छन्, तर राजनीतिक इच्छाशक्तिका अगाडि प्राविधिक विषय गौण हुन् । निर्वाचन आयोगमा पदाधिकारी रिक्त छ । प्रमुख आयुक्त छैनन् । निर्वाचन आयोगलाई पूर्णता दिएर चुनावका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ ।

प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी संरचना जलेका कारण चुनाव गर्नका लागि केही चुनौती थपिएका छन् । तर, सहिष्णु नेपाली समाज भत्किएका संरचना बनाउन पनि आफैं अग्रसर भइरहेको छ । ठाउँ–ठाउँका प्रहरी चौकी स्थानीयले स्वतस्फुर्त पुन:निर्माण गर्दैछन् ।

जलेर ठूलो नोक्सानी भएपनि सरकार र राज्य संयन्त्र शून्यको अवस्थामा पुगेको होइन ।

सरकारले आह्वान गर्दा छिमेकी मुलुक र दातृ राष्ट्रले चुनाव गराउनका लागि आवश्यक गाडीहरू उपलब्ध गराउने छन् । छिमेकी देशहरूले नेपालमा लोकतन्त्रको पुनर्बहाली गर्नलाई सहयोग गर्ने तत्परता देखाइसकेका छन् ।

विगतमा पनि भारत सरकारले चुनावका बेला निर्वाचन आयोग र सुरक्षा निकायका लागि गाडीलगायत बस्दोबस्तीका सामान उपलब्ध गराउँदै आएको थियो ।

३ वर्षअघिको निर्वाचनमा किनिएका मतपेटिका सुरक्षित नै छन् र यसमा सरकारले आह्वान गर्दा दाताले सहयोग गर्न तयार हुन्छन् ।

सरकारले निर्णय गरी पनि सकेको छ– मितव्ययिता अपनाउनेबारे । फजुल खर्च कम गरेर मितव्ययी ढंगले पनि चुनाव गर्न सकिन्छ ।

मुलुक लामो समयसम्म संसदविहीन अवस्थामा रहन सक्दैन ।

भोलि चुनाव हुन नसकेको अवस्थामा फेरि संसद् पुन:स्थापनाको माग चर्केर जानेछ । यो अवस्थामा निर्वाचन नै राजनीतिक निकासको प्रस्थानबिन्दु हुनसक्छ ।

नेपाली कांग्रेस र नेकपा एमालेजस्ता मूलधारका राजनीतिक दलले सरकारलाई तोकिएको समयमै निर्वाचन गर्न सहयोग र दबाब सिर्जना गर्नुपर्छ । राजनीतिक दलले आफ्ना गतिविधिलाई निर्वाचनकेन्द्रित गरेर गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्छ ।

सरकारले राजनीतिक दलका लागि गतिविधि गर्न शान्ति सुरक्षाको उपयुक्त प्रबन्ध गर्न जरुरी छ ।

निर्वाचनको सर्वस्वीकार्यता र वैधताका लागि मूलधारका राजनीतिक दललाई आफ्ना एजेन्डा लिएर जनताकोमा जाने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।

आगामी फागुनमा चुनाव हुन सकेन भने यो अस्थिरता झन् लम्बिने छ । त्यो अनिश्चितताले देशलाई झन् जर्जर र कमजोर बनाउने छ । नयाँ आन्दोलनले पुरानो संसद्लाई अस्वीकार गरेको अवस्थामा ताजा जनादेशमा जानु नै सही निर्णय हुनेछ ।

जेनजी आन्दोलनले ल्याएको उपथलपुथलपछि उत्पन्न असामान्य परिस्थिति सम्हालेर चुनाव गराई लोकतान्त्रिक सरकारलाई सत्ता हस्तान्तरण गर्न सके वर्तमान सरकारको सफलता त्यही हुनेछ ।

नयाँ खालको संक्रमणकाल पार लगाएको भनेर सुशीला कार्की र उनको सरकारले जस पाउने छ । आम निर्वाचनबाट लोकतान्त्रिक सरकार बनेपछि देशले नयाँ गति लिनेछ । आर्थिक विकास र समृद्धिका अधुरा काम त्यसपछि सुचारु हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्