
अर्थ मन्त्रालयले सर्वसाधारणको गुनासो व्यवस्थापनका लागि सार्वजनिक गरेको फोन नम्बरमा एकै दिन हजारौं फोन र म्यासेज आएका छन् ।
मन्त्रालयअन्तर्गत नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने काम नगरेको वा घुस मागेको लगायतका अन्य धेरै गुनासोहरू गर्नका लागि मन्त्रालयले मंगलबार हटलाइन नम्बर र इमेल सार्वजनिक गरेको थियो ।
उक्त हटलाइनमा बुधबार मात्रै हजारौंले फोन गरेका छन् भने सार्वजनिक गरिएको इमेलमा १६६ वटा इमेल आएका छन् ।
कतिपय गुनासाहरू अर्थ मन्त्रालयसँग सम्बन्धित भए पनि अधिकांश गुनासो विविध विषयमा दुखेसो पोख्ने र उधारो नउठेको र लेनदेनका विषयहरू पनि आएका छन् ।
स्रोतका अनुसार चोरी, असुरक्षा र अन्य विषयबारे पनि नागरिकले गुनासो गरिरहेका छन् । बुधबार मात्रै त्यस्ता गुनासाहरू एक हजारभन्दा बढी आएका थिए । यद्यपि घुस मागेको बारे भने एकाध मात्र गुनासो छन् ।
यसरी फोन आएपछि गम्भीर विषयहरूको टिपोट गरेर सम्बन्धित निकायमा पठाउने गरिएको छ । फोन कुराकानीमा प्रष्ट नभएका विषयमा सम्बन्धितलाई इमेलमै विस्तृतमा लेखेर पठाउन आग्रह गर्ने गरिएको शाखा अधिकृत पवित्रा ज्ञवालीले बताइन् ।
‘यति धेरै गुनासाहरू आउलान् भन्ने हामीलाई लागेको थिएन,’ ज्ञवालीले भनिन्, ‘३ वटा नम्बरमा तारन्तार फोन आइरहेकै हुन्छन् । अधिकांश अर्थ मन्त्रालयसँग सम्बन्धित हुँदैन । हामीले ती गुनासाहरू टिपेर सम्बन्धित निकायमा पठाउने गरेका छौं ।’
मन्त्रालयले [email protected] र [email protected] गरी दुईवटा इमेल सार्वजनिक गरेको छ ।
त्यस्तै फोन गर्दा पैसा नलाग्ने टोलफ्री नम्बरका रूपमा १८१०५०००४१० र उपसचिव निरन भट्टराई र शाखा अधिकृत ज्ञवालीका नाममा ९८५१४०५२६५ र ९८५१४०५२७५ सार्वजनिक गरिएको छ ।