०६ साउन २०८३, बुधबार

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

असोज ९, २०८२
झापा
अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो ।  

गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । 

आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए । 

कार्यालयको तथ्यांकअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ ।  

सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार बराबरको चिया निर्यात भएको छ ।

भन्सार कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब ६ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्