
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने आफ्नो योजना 'सभ्यताको इतिहासका महानतम् दिनमध्ये एक' हुन सक्ने दाबी गरेका छन् । सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटपछि उनले सार्वजनिक गरेको २० बुँदे प्रस्ताव कूटनीतिक दृष्टिले महत्त्वपूर्ण कदम मानिएको छ ।
यसले युद्धपछिको गाजाको भविष्यप्रति ट्रम्प प्रशासनको अघिल्लो धारणा बदल्ने प्रयास गरेको छ र नेतन्याहुलाई सम्झौतामा ल्याउन वाशिङटनले थप दबाब दिएको छ । तर, योजना कार्यान्वयन हुने वा नहुने कुरा नेतन्याहु र हमास दुवैको प्रतिक्रियामा भर पर्नेछ ।
हमासले अझै स्पष्ट प्रतिक्रिया दिएको छैन । केही नेताले प्रस्तावले प्यालेस्टिनी हितलाई सुरक्षित नगरेको र गाजाबाट इजरायलको पूर्ण फिर्ती नहुने खण्डमा स्वीकार नगर्ने बताएका छन् । नेतन्याहुले भने सिद्धान्त स्वीकार गरेको घोषणा गरेका छन्, तर उनको गठबन्धनभित्रै केही नेताले अस्वीकार गरिसकेका छन् ।
विशेषज्ञहरूका अनुसार मात्र सिद्धान्त स्वीकार गर्नु युद्ध अन्त्य गर्नु होइन ।
प्रस्तावले गाजामा अस्थायी प्राविधिक प्रशासन गठन गर्ने, इजरायली सेना सीमित रूपमा फिर्ता गर्ने, हमासले बाँकी बन्धक छाड्ने र त्यसपछि सयौँ प्यालेस्टिनी कैदी मुक्त गर्ने व्यवस्था गरेको छ । त्यसपछि मिस्रमा आधारित 'बोर्ड अफ पिस'ले गाजाको सेवा–सुविधा सञ्चालन गर्नेछ ।
हमासका सदस्यले शान्तिपूर्ण सहअस्तित्व स्वीकार गरी हतियार त्यागे आममाफी पाउने, अरूलाई निर्वासन पठाइने व्यवस्था छ । अमेरिकी र अरब देशको 'स्थिरीकरण फौज' गाजाको सुरक्षामा खटिनेछ ।
प्यालेस्टिनी राज्य स्थापना भने अस्पष्ट रूपमा मात्र उल्लेख छ । योजना भन्छ, रामल्लास्थित प्यालेस्टिनी प्राधिकरणमा सुधार भएमा मात्र आत्मनिर्णय र राज्यतर्फको बाटो खुल्न सक्छ ।
अरब देशहरूले यसलाई प्रगति ठानेका छन् । यसमा प्यालेस्टिनी राज्यको उल्लेख हुनुका साथै 'इजरायलले गाजालाई कब्जा वा जोड्ने छैन' भन्ने बुँदा उनीहरूका लागि महत्त्वपूर्ण मानिएको छ ।
तर, नेतन्याहुले युद्धपछिका आफ्ना लक्ष्य हमासलाई निशस्त्र पार्ने, गाजालाई सैन्यरहित बनाउने र भविष्यमा प्यालेस्टिनी राज्य रोक्ने योजनासँग मेल खाने बताएका छन् । उनको सरकारकै केही अंशले भने निशस्त्रीकरण र राज्यतर्फका प्रावधान अस्वीकार गर्न सक्छन् ।
यसैबीच, गाजामा इजरायली तोपबारी र हवाई आक्रमण तीव्र बनेको छ । इजरायलले तेस्रो बख्तरबन्द डिभिजन पठाएको छ, जसले सर्वसाधारणमा थप विनाश ल्याएको छ ।
युरोप र अरब देशहरूले कूटनीतिक पहललाई पुनर्जीवित गर्न प्रयास गरिरहेका छन् । नेतन्याहु अझै अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)को पक्राउ आदेशको विषय बनेका छन् ।
विश्लेषकहरू भन्छन्, ट्रम्पको योजना वास्तवमा युद्ध अन्त्यको स्पष्ट खाका नभई वार्ताका लागि एउटा रूपरेखा मात्र हो । यसलाई वास्तविक शान्ति सम्झौतामा परिणत गर्न अझै धेरै समय र मेहनत लाग्नेछ ।