
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवाहरूले जिल्ला निर्वाचन कार्यालय, मोरङमा मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका छन् । दशैँको बेलासमेत युवाहरूले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको कार्यालयले जनाएको छ ।
आयोगले असोज ९ गतेदेखि कात्तिक ३० गतेसम्म नामावली संकलन गर्ने आयोगको कार्यतालिका छ । कार्यालय परिसरमा नयाँ मतदाता, विशेषगरी युवाहरूको उत्साहजनक उपस्थिति देखिएको छ ।
कार्यालय परिसरमा भेटिएकाहरूले मतदान गर्ने अधिकार सुरक्षित गर्न मात्र नभई देशको राजनीतिक नेतृत्वमा परिवर्तन ल्याउन मतदानमा सहभागी हुने प्रतिक्रिया दिएका छन् ।
कार्यालयमा भेटिएका अधिकांश युवा मतदाताले पुराना राजनीतिक दल र तिनका शीर्ष नेताहरूप्रति वितृष्णा व्यक्त गरेका छन् । उनीहरूको साझा आवाज छ, ‘अब देशलाई परम्परागत राजनीतिको चक्रबाट बाहिर निकालेर नयाँ र सक्षम नेतृत्वको हातमा सुम्पिनुपर्छ ।’ विगतका निर्वाचनमा उदासीन रहेका धेरै युवा यसपटक स्वतन्त्र उम्मेदवार र नयाँ अनुहारको सम्भावित उदयले आशावादी बनेका छन् ।
विराटनगर–३ की निष्ठा गौतम पहिले काठमाडौंमा बस्दै आएकाले मतदानमा खासै चासो नदेखाएको बताउँछिन् । ‘पहिले चुनावमा उठेका मान्छेहरू पनि चित्त बुझ्ने खालका थिएनन्, त्यसैले खासै चासो लागेन,’ उनी भन्छिन्, ‘तर अहिले देशको परिस्थितिमा केही परिवर्तनको महसुस भएको छ । नयाँ र चित्त बुझ्ने मान्छे उठ्छन् कि भन्ने आशाले नाम दर्ता गराउन आएकी हुँ ।’
उनले सक्षम र राम्रो काम गर्ने व्यक्ति जुनसुकै पार्टीको भए पनि वा स्वतन्त्र नै भए पनि आफ्नो भोट खेर नफाल्ने बताइन् ।
त्यस्तै, विराटनगर–५ का प्रसन्न लुइँटेलले फागुनमा चुनाव हुने खबरले उत्साहित हुँदै नाम लेखाउन आएको बताए । २० वर्ष पुगेका उनी पहिलोपटक मतदान गर्न पाउनेमा आशावादी छन् । ‘पहिलेका दलहरूले देशका लागि खासै केही गर्न सकेनन्,’ उनले भने, ‘अब नयाँ र काबिल मान्छे आउनुपर्छ । जेन–जी पुस्ता वा अरू कोही सक्षम व्यक्तिले देश चलाएको हेर्ने रहर छ ।’
यो आशा र उत्साहको पछाडि अघिल्लो स्थानीय तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले पाएको सफलताले पनि काम गरेको छ । धनकुटा नगरपालिका–२ स्थायी घर भई हाल विराटनगर बस्दै आएका विजय गुरागाईले पुराना दलहरूबाट आशा मरेकाले यसअघि भोट हाल्न जागर नचलेको अनुभव सुनाए । ‘पार्टीहरूमा कहिल्यै लागिएन र उनीहरूबाट आश पनि थिएन, त्यसैले भोट नै हालिएन,’ उनले भने, ‘तर अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारहरूको जुन माहोल बन्यो र उनीहरूले जितेर राम्रो काम गरेको देखियो, त्यसले आशा पलाएको छ । अब आउने चुनावमा पार्टीहरूको सिन्डिकेट तोडिएला भन्ने विश्वास छ ।’
विगतमा मतदानमा सहभागी नभएकाहरू पनि यसपटक आशावादी देखिएका छन् । विराटनगर–३ का सौरभ बस्नेतले भने, ‘यसभन्दा अगाडि जसलाई मतदान गरे पनि उस्तै हो भन्ने लाग्थ्यो । त्यही भएर नामावलीमा नाम पनि दर्ता गराएको थिइनँ । तर, यसपटक नयाँ अनुहार आउँछन् भन्ने ठूलो आशा छ ।’ लामो समय विदेश बसेर फर्किएका बेलबारी–११, लक्ष्मीमार्गका जाकिरमान तामाङले पनि छुटेको नाम दर्ता गराउँदै तोकिएकै मितिमा चुनाव हुनेमा आफू विश्वस्त रहेको बताए ।
नाम दर्ता गराउन आएका सबै युवाहरू पुराना दलप्रति पूर्ण रूपमा निराश भने छैनन् । उनीहरूको गुनासो दलभन्दा पनि दलभित्रका व्यक्ति र नेतृत्वप्रति बढी देखिन्छ । केही युवाहरूले पुराना दलभित्र पनि केही राम्रा व्यक्तिहरू भएकाले उम्मेदवार हेरेर मात्रै निर्णय लिने बताएका छन् । वितृष्णा दलको प्रणालीप्रति भन्दा पनि त्यसलाई सञ्चालन गर्ने गलत व्यक्तिहरूप्रति भएको उनीहरूको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय, मोरङका कम्प्युटर अपरेटर शंकर गिरीका अनुसार पछिल्लो चार दिनमा मात्रै २८६ जना नयाँ मतदाता थपिएका छन्, । ‘१६ वर्ष उमेर पुगेर नागरिकता बनाएकाहरूले उत्साहपूर्वक नाम दर्ता गराइरहेका छन्,’ उनले भने, ‘चुनावको मिति घोषणा हुनुभन्दा अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका सबैले मतदान गर्न पाउनेछन् ।’
निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरेपछि नामावली संकलन पुन: खुला गरेको हो । यसअघि उपनिर्वाचनका लागि गत असार १६ गतेदेखि रोकिएको संकलन कार्य नयाँ निर्वाचन घोषणासँगै अध्यादेशमार्फत कानुन संशोधन गरी शुरू गरिएको हो ।