११ साउन २०८३, सोमबार

‘गर या मर’को स्थितिमा रहेको नेपाल २२ वर्षपछि बलियो भियतनामसँग भिड्दै

असोज २३, २०८२
काठमाडौं
‘गर या मर’को स्थितिमा रहेको नेपाल २२ वर्षपछि बलियो भियतनामसँग भिड्दै

एएफसी एसियन कप छनोट फुटबलको तेस्रो चरणमा बिहीबार नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दैछ । खेल नेपाली समयानुसार, साँझ १८:१५ बजे भियतनामको हो ची मिन्ह सिटीमा शुरू हुनेछ ।

नेपाल र भियतनामबीच हालसम्म दुईपटक खेल भएको छ । यी दुवै खेल एसियन कपको छनोट प्रतियोगिताकै क्रममा सन् २००३ को सेप्टेम्बर र अक्टोबरमा खेलिएको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।

त्यतिबेला सेप्टेम्बर २७ तारिखमा खेलिएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–० गोलको फराकिलो अन्तरले हराएको थियो । अक्टोबर २१ तारिखमा खेलिएको दोस्रो खेलमा पनि भियतनामले नेपाललाई २–० गोलले पराजित गरेको थियो । यी दुवै टोली २२ वर्षपछि फेरि आपसमा भिड्न लागेका हुन्, त्यो पनि एसियन कपकै छनोट प्रतियोगितामा ।

सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपको १९औँ संस्करणका लागि यो छनोट प्रतियोगिता हो । नेपाल र भियतनाम छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेका छन् । उक्त समूहमा मलेसिया र लाओस पनि छन् ।

तेस्रो चरणको छनोट प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहेको छ । प्रत्येक समूहमा रहेका टोलीले ‘होम एन्ड अवे’ का आधारमा एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहमा पहिलो हुने टोली एसियन कपमा छनोट हुनेछन् ।

एसियन कप छनोटमा हालसम्म नेपाली टोलीको अवस्था सन्तोषजनक छैन । समूहका चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा नेपालले एक अंक पनि बटुल्न सकेको छैन । आफ्नो दुवै खेलमा पराजित भएको नेपाली टोली अंक तालिकामा सबैभन्दा तल छ ।

गत चैत १२ गते खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली मलेसियासँग ०–२ गोलले पराजित भएको थियो । उक्त खेल मलेसियाको घरेलु मैदानमा खेलिएको थियो ।

यसैगरी, गत जेठ २७ गते खेलिएको आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लाओससँग १–२ गोलले पराजित भएको थियो । त्यो खेल पनि लाओसको घरेलु मैदानमा खेलिएको थियो । उक्त खेलमा नेपालका लागि एकमात्र गोल मनिष डाँगीले गरेका थिए ।

विश्व फुटबल महासंघ (फिफा)द्वारा घोषित पछिल्लो वरीयतामा नेपाली टोली लाओसभन्दा अगाडि छ । वरीयतामा नेपाल १७६औँ र लाओस १८५औँ स्थानमा छन् । मलेसिया र भियतनाम फिफा वरीयतामा नेपालभन्दा अगाडि छन् । पछिल्लो वरीयतामा भियतनाम ११४औँ र मलेसिया १२३औँ स्थानमा छन् ।

एसियन कप छनोटको समूह ‘एफ’ तालिकामा ६ अंकसहित मलेसिया पहिलो स्थानमा छ । मलेसियाले भियतनामलाई पनि ४–० गोलले हराएको थियो । दुई खेलबाट तीन अंक बटुलेको भियतनाम भने तालिकाको दोस्रो स्थानमा छ ।

तालिकाको तेस्रो स्थानमा आसिन लाओसले पनि दुई खेलबाट तीन अंक जोडेको छ । लाओसको टोली आफ्नो पहिलो खेलमा भियतनामसँग ५–० गोलले विजयी भएको थियो । तालिकामा सबैभन्दा तल रहेको नेपालले भने हालसम्म अंक बटुल्न सकेको छैन ।

भियतनाम भ्रमणका क्रममा नेपाली टोलीले दुई खेल खेल्नेछ । नेपाल र भियतनामबीचको दोस्रो खेल भने असोज २८ गते खेलिने छ । यो खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो ।

तर, नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम ‘दशरथ रंगशाला’ लामो समयदेखि एसियाली फुटबल महासंघ (एएफसी) को निलम्बनमा परेकाले नेपाल र भियतनामबीचको दोस्रो खेल पनि विपक्षीकै घरेलु मैदानमा खेलिन लागेको हो ।

त्यसैले भियतनाम विरुद्धको यी दुई खेल नेपाली टोलीका लागि निकै महत्वपूर्ण छ । भियतनाम भ्रमणमा पनि गतिलो प्रदर्शन गर्न नसके नेपाली टोलीको एसियन कप खेल्ने सपना चकनाचुर हुनेछ । नेपाली टोलीले अब भियतनाम विरुद्धको दुई खेलसँगै मलेसिया र आलोसँग पनि एक–एक खेल खेल्न बाँकी छ ।

भियतनामविरुद्ध खेल्ने नेपाली टोलीमा अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक) र दिनेश हेन्जन रहेका छन् ।

यसैगरी, जिलेस्पीजङ कार्की, किरणकुमार लिम्बु (गोलरक्षक), कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवाष ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ पनि टोलीमा छन् ।

नेपाली टोलीले हालसम्म एएफसी एसियन कप खेल्न सकेको छैन । सन् १९५६ देखि शुरू भएको एएफसी एसियन कप प्रत्येक चार वर्षमा आयोजना हुँदै आएको छ । शुरूआती संस्करणमा चारवटा टोलीले मात्र सहभागिता जनाएको एसियन कपमा पछिल्लो समय टोलीको सँख्या बढाएर २४ पुर्‍याइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्