
आईसीसी महिला एकदिवसीय विश्वकपमा लगातार दोस्रो हार ब्यहोरेपछि आयोजक भारत दबाबमा परेको छ । आफ्नो पछिल्लो खेलमा भारतीय टोली अस्ट्रेलियासँग तीन विकेटले पराजित भयो ।
यसअघि, भारतीय टोली दक्षिण अफ्रिकासँग पनि तीन विकेटले पराजित भएको थियो । भारतविरुद्धको खेलमा अस्ट्रेलियाले अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एउटा गजबको कीर्तिमान पनि बनायो ।
उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतीय टोलीले ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय ३० रनको सम्मानजनक योगफल तयार पारेको थियो । दुर्भाग्य, यो विशाल स्कोर पनि भारतीय टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४९ ओभरमा सात विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो । महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यो कीर्तिमानी जीत पनि हो । यसअघि कुनै पनि टोलीले यति ठूलो विजयी लक्ष्य पूरा गर्न सकेको थिएन ।
यसअघि, सबैभन्दा ठूलो विजयी लक्ष्य पूरा गर्ने टोलीको कीर्तिमान श्रीलंकाको नाममा थियो । श्रीलंकाले सन् २०२४ मा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध तीन सय दुई रनको लक्ष्य पूरा गरेको थियो । अहिले अस्ट्रेलियाले त्यही कीर्तिमान भङ्ग गरेको हो ।
अस्ट्रेलियाको जितमा कप्तान एलिसा हेलीले एक सय ४२ रनको योगदान गरिन् । महिला विश्वकपको इतिहासमा कुनै पनि टोलीको कप्तानले बनाएको यो तेस्रो ठूलो स्कोर हो ।
यसअघि, सन् १९९७ को विश्वकपमा कप्तानको भूमिकामा बेलिन्डा क्लार्कले अविजित दुई सय २७ र सन् २०१७ को विश्वकपमा मेग लेनिङले अविजित एक सय ५२ रन बनाएका थिए ।
अस्ट्रेलिया र भारतबीचको खेलमा दुबै टोलीले गरेर कुल ६ सय ६१ रन बनाए । महिला विश्वकपको इतिहासमा दुबै टोलीले बनाएको यो दोस्रो ठूलो कुल स्कोर हो । यसअघि, सन् २०१७ को विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले मिलेर कुल ६ सय ७८ रन बनाएका थिए ।
भारतले पहिले ब्याटिङ गर्दै बनाएको तीन सय ३० रन महिला विश्वकपको इतिहासमा भारतीय टोलीले बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि, सन् २०२२ को विश्वकपमा भारतले वेस्ट इन्डिजविरुद्ध सात विकेट गुमाएर तीन सय १८ रन बनाएको थियो ।
अस्ट्रेलियासँगको हारले भारतीय टोली दबाबमा परेको छ । चार खेल खेलेको भारत चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । आठ टोलीको सहभागिता रहेको महिला विश्वकपको प्रारम्भिक चरणमा सबै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने चार टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ । चार खेल खेलेको अस्ट्रेलिया सात अंकसहित तालिकाको पहिलो स्थानमा छ । तीन खेल खेलेको इङ्ल्यान्ड ६ अंकसहित दोस्रो स्थानमा छ ।
जारी विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्ड मात्र हालसम्म अपराजित छन् । तीन खेल खेलेको दक्षिण अफ्रिका चार अंकसहित चौथो स्थानमा छ । तीन खेल खेलेको न्युजिल्यान्ड दुई अंकसहित पाँचौं स्थानमा छ ।
यसैगरी, तीन खेल टुंग्याएको बंगलादेश पनि दुई अंकसहित छैटौं स्थानमा छ । तीन खेल सकेको श्रीलंका एक अंकसहित सातौँ स्थानमा छ । तीनवटै खेलमा पराजित भएको पाकिस्तान तालिकामा सबैभन्दा तल छ ।
अब, भारतीय टोलीले तीन खेल खेल्न बाँकी छ । त्यसमध्ये एक खेलमा पनि पराजित भए भारतको अगाडि बढ्ने सपनामा नराम्रो धक्का लाग्न सक्छ । भारतले अब बलियो इङ्ल्यान्ड, न्युजिल्यान्ड र बंगलादेशसँग खेल्न बाँकी छ ।
एकदिवसीय महिला विश्वकपको यो १३औँ संस्करण हो । सन् १९७८ मा सम्पन्न दोस्रो संस्करणदेखि भारतले यो प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । तर, महिला एकदिवसीय विश्वकपमा भारतीय टोली सधैँ अभागी सावित हुँदै आएको छ ।
भारतले हालसम्म एकदिवसीय महिला विश्वकपको उपाधि जित्न सकेको छैन । भारतीय टोली फाइनलसम्म पनि दुईपटक मात्र पुग्न सकेको छ । भारत सन् २००५ र सन् २०१७ को विश्वकपमा फाइनलमा पराजित भएको थियो ।
सन् २००५ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई ९८ रनले हराएको थियो । त्यसपछि सन् २०१७ को विश्वकपको फाइनलमा इङ्ल्यान्डले भारतलाई नौ रनले पराजित गरेको थियो ।
एकदिवसीय महिला विश्वकपको सबैभन्दा सफल राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले हालसम्म सातपटक उपाधि जितिसिकेको छ । अस्ट्रेलिया सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५, सन् २०१३ र सन् २०२२ मा च्याम्पियन बनेको थियो ।
यसैगरी, इङ्ल्यान्डले हालसम्म चारपटक उपाधि कुम्ल्याएको छ । इङ्ल्यान्डले सन् १९७३, सन् १९९३, सन् २००९ र सन् २०१७ मा उपाधि जितेको थियो । यसका अतिरिक्त, न्युजिल्यान्डले पनि एकपटक उपाधि जितेको छ । न्युजिल्यान्डले सन् २००० मा उपाधि चुमेको थियो ।