२१ असार २०८३, आइतबार
भेपमार्फत सुन तस्करी

पूर्वसभामुख महराविरुद्ध पूरक जाहेरी, ८ करोड बढी बिगो मागदाबी

असोज २७, २०८२
काठमाडौं
पूर्वसभामुख महराविरुद्ध पूरक जाहेरी, ८ करोड बढी बिगो मागदाबी

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा ८ करोड बढी बिगोसहित पूरक अभियोगपत्र पेस भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महराविरुद्ध संगठित अपराध र भन्सार ऐन अन्तर्गत पूरक अभियोगपत्र पेस गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिनुका साथै ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गरिएको छ ।

‘सोमबार महराविरुद्ध अनुसन्धान तथा बयान सकेर पूरक अभियोगपत्र अदालतमा पेस भएको हो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘अब अदालतमा भोलि मंगलबार महराको बयान भएपछि थुनछेक बहस हुनेछ ।’

‘प्रतिवादी कृष्णबहादुर महराले भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), उपदफा (२) र उपदफा (३) को खण्ड (क) बमोजिमको कसुर गरेकोमा बिगो रू. ८, ५५, २८,३७४ को आधारमा सोही ऐनको दफा ५७ को उपदफा (१घ) को खण्ड (ख) बमोजिम सजाय हुन र प्रस्तुत कसुर संगठित रूपमा समूह बनाई तहगत रूपमा जिम्मेवारी अनुसारको कार्य गरी संगठित रूपमा कसूर गरेकोमा महरालाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क) बमोजिम थप सजाय हुन मागदाबि लिइएको छ’, श्रेष्ठले भने । 

विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका महरालाई अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार खुमलटारबाट पुन: पक्राउ गरेको थियो ।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा उनी २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक आडमा उनीविरुद्ध मुद्दा चलेको थिएन । दोस्रोपटक महरा २०८० चैत ५ मा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

पक्राउलगत्तै उनलाई काठमाडौंस्थित सीआईबीमा ल्याएर अनुसन्धान शुरू गरिएको थियो । चर, चैत ९ मा सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई मुद्दा नै नचलाइ हाजिरी जमानीमा छाडिदियो । यही घटनालाई लिएर सीआईबीले महरालाई पुन: पक्राउ गरेको हो ।

चिनियाँ नागरिक दावाजिन वाङसँग मिलेर अवैध सुन तस्करी गरेको आरोपमा २०७९ मा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

तर, सीआईबीले त्यतिबेला उनको संलग्नता पुष्टि नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी र महराका छोरा राहुललाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो  ।

हाल महरा पक्राउ परेको घटना चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बराबरको सुन तस्करी भएको सम्बन्धी हो ।

भेप स्टोरमा थन्क्याएर भन्सारका नायब सुब्बा रेवन्त खड्कासहितको मिलेमतोमा सुन बिक्री गरेको आरोप छ । भन्सारमा अड्किएको भेप छुटाउन महरा र उनका छोरा राहुलसँगै भन्सारमा कार्यरत कर्मचारी र बिचौलिया सक्रिय रहेका थिए ।

त्यतिबेला महराको तस्कर र बिचौलीयासँग भएको फोन संवाद समेत बाहिरिएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले पनि भेप प्रकरणमा महराको भूमिका सन्दिग्ध रहेको र तथ्य–प्रमाणले उनलाई कसुरदार होइनन् भन्न नसकिने भन्दै पुन: अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

सुन लुकाएर ल्याइएको भेप छुटाउनमा महरा बाबुछोराले मात्रै भन्सारका कर्मचारीसहितसँग २ सय ५६ पटक फोन/मोबाइलमा कुराकानी गरेको तथ्य ३ वर्षअघि नै बाहिरिएको थियो ।

त्यसक्रममा दावाजिन वाङले मात्रै महरासँग ११ पटक र उनका छोरा राहुलसँग २८ पटक कुराकानी गरेको विवरण सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्