०९ साउन २०८३, शनिबार

खेलको प्रारम्भमै नेपालको आत्मघाती गोल, पहिलो हाफमा भियतनाम १-० ले अगाडि

असोज २८, २०८२
काठमाडौं
खेलको प्रारम्भमै नेपालको आत्मघाती गोल, पहिलो हाफमा भियतनाम १-० ले अगाडि

एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत मंगलबार जारी खेलको पहिलो हाफमा नेपाली टोली आयोजक राष्ट्र भियतनामसँग ०–१ गोलले पछि परेको छ ।

खेलको प्रारम्भमै नेपाली टोलीबाट आत्मघाती गोल भएपछि भियतनामले अग्रता लिएको थियो । खेल शुरू भएको पाँचौँ मिनेटमै नेपाली टोलीका खेलाडी सुमन श्रेष्ठबाट आत्मघाती गोल भएको थियो ।

नेपाली टोलीले भियतनामको घरेलु मैदानमा आफ्नो ‘होम गेम’ खेलेको हो । सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत यो खेल खेलिएको हो ।

यसअघि, असोज २३ गते नेपाली टोलीले भियतनामकै हो ची मिन्ह सिटीस्थित घरेलु मैदानमा ‘अवे खेल’ खेलेको थियो । उक्त खेलमा भियतनामले नेपाललाई ३–१ गोलले हराएको थियो ।

मंगलबारको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर, नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम ‘दशरथ रंगशाला’ एसियाली फुटबल महासंघ (एएफसी)को निलम्बनमा परेकाले नेपालले दोस्रो लेग खेल पनि भियतनामको घरेलु मैदानमा खेल्नु परेको हो ।

एएफसीले पटक–पटक दशरथ रंगशालालाई ‘अयोग्य’को सूचीमा राख्दै आएको छ । पछिल्लोपटक दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ‘अयोग्य’को सूचीमा राखिएको एक वर्षभन्दा पनि लामो समय बितिसकेको छ ।

एएफसीले दशरथ रंगशालाको विषयमा खासगरी खेल मैदान, सुरक्षा अवस्था, फ्लड लाइट (रंगशालामा प्रयोग गरिने कृतिम प्रकाश) जस्ता विषयमा प्रश्न उठाएको छ । एसियन कपको जारी छनोट प्रतियोगितामा नेपालले हालसम्म एक खेल पनि जित्न सकेको छैन ।

नेपाली टोली समूह ‘एफ’ तालिकाको सबैभन्दा तल (चौथो स्थानमा) छ । नेपाली टोली गत चैत १२ गते खेलिएको आफ्नो पहिलो खेलमा मलेसियासँग ०–२ गोलले पराजित भएको थियो । उक्त खेल मलेसियाको घरेलु मैदानमै खेलिएको थियो ।

यसैगरी, गत जेठ २७ गते खेलिएको आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लाओससँग १–२ गोलले पराजित भएको थियो । त्यो खेल पनि लाओसको घरेलु मैदानमा खेलिएको थियो । उक्त खेलमा नेपालका लागि एक मात्र गोल मनिष डाँगीले गरेका थिए ।

यसैगरी, असोज २३ गते खेलिएको तेस्रो खेलमा नेपाली टोली भियतनामसँग १–३ गोलले पराजित भएको थियो । उक्त खेलमा नेपाली टोली १० खेलाडीमा समेटिएको थियो र नेपालका लागि एकमात्र गोल सनिश श्रेष्ठले गरेका थिए । नेपालका लाकेन लिम्बुले रातो कार्ड पाएका थिए ।

भियतनामविरुद्धको दोस्रो खेलपछि पनि नेपाली टोलीले मलेसिया र लाओससँग एक–एक खेल खेल्नु पर्नेछ । नेपाल र मलेसियाबीचको खेल आगामी मंसिर २ गते तथा नेपाल र लाओसबीचको खेल आगामी चैत १७ गते खेलिने छ । यी दुवै खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने हो तर, त्यो सम्भावना देखिँदैन ।

जारी छनोट प्रतियोगितामा २४ टोली सहभागी छन् । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । छनोट प्रतियोगिताको समाप्तिपछि प्रत्येक समूहको पहिलो स्थानमा रहने टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९ औं संस्करणमा स्थान सुरक्षित गर्नेछन् ।

नेपाली टोलीले हालसम्म एएफसी एसियन कप खेल्न सकेको छैन । सन् १९५६ देखि शुरू भएको एसियन कप प्रत्येक चार वर्षमा आयोजना हुँदै आएको छ । शुरूआती संस्करणमा चार टोलीले मात्र सहभागिता जनाएको एसियन कपमा पछिल्लो समय टोलीको संख्या बढाएर २४ पुर्‍याइसकेको छ ।

सन् २०२७ को जनवरी ७ देखि फेब्रुअरी ५ तारिखसम्म आयोजना हुने एएफसी एसियन कपमा सहभागी हुने २४ मध्ये १८ टोलीको टुंगो यसअघि नै लागिसकेको छ ।

आयोजक साउदी अरेबियासँगै अस्ट्रेलिया, इराक, इरान, उज्बेकिस्तान, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, दक्षिण कोरिया, ओमान, प्यालेस्टाइन, बहराइन, जोर्डन, चीन, इन्डोनेसिया, उत्तर कोरिया, कुवेत र कीर्गिस्तान एसियन कपमा छनोट भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्