
टेस्ट राष्ट्र बंगलादेशले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानसँग लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राति आबुधाबीमा खेलिएको खेलमा बंगलादेशलाई दुई सय रनको विशाल अन्तरले हराएको हो ।
जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा पनि ‘ह्वाइट वास’ गरेको छ । यसअघि पहिलो एकदिवसीयमा अफगानिस्तानले बंगलादेशलाई पाँच विकेटले हराएको थियो । अफगानिस्तानले दोस्रो खेलमा पनि ८१ रनको जित हात पारेको थियो ।
तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशी टोली भने २७.१ ओभरमै केवल ९३ रन बनाउँदै अलआउट भयो ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि ओपनर इब्राहिम जदरानले ९५ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका जदरानले एक सय ११ बलमा दुई छक्का र सातवटा चौका पनि हिर्काएका थिए ।
मोहम्मद नाबीले पनि अर्धशतकीय पाली खेले । उनले अविजित ६२ रन बनाए । यसक्रममा उनले केवल ३७ बलको सामना गरी पाँच छक्का र चार चौका हिर्काए । ओपनर रहमानुल्लाह गुरबाजले पनि टोलीको खातामा ४२ रन थपे ।
अफगानिस्तानले बंगलादेशी बलरको खराब प्रदर्शनको फाइदा उठाउँदै अतिरिक्त रुपमा पनि २३ रन पायो । बंगलादेशका बलर सेफ हसनले तीन विकेट लिए । हसन महमुद र तनविर इस्लामले पनि दुई–दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर सेफ हसनले सर्वाधिक ४३ रन बनाए । बंगलादेशका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका बलर बिलाल सामी एक्लैले पाँच विकेट लिए ।
रासिद खानले पनि तीन विकेट हात पारे । अजमतुल्लाह ओमरजाईले पनि एक विकेट कुम्ल्याए । अफगानिस्तानका बिलाल सामी प्लेयर अफ दि म्याच घोषित भए । अफगानिस्तानकै इब्राहिम जदरान प्लेयर अफ दि सिरिज बने ।