०९ साउन २०८३, शनिबार

विश्वकप छनोट फूटबल : रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बराबरीमा रोकियो पोर्चुगल

असोज २९, २०८२
काठमाडौं
विश्वकप छनोट फूटबल : रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बराबरीमा रोकियो पोर्चुगल

​विश्वकप छनोट फूटबल प्रतियोगिताको बुधबार बिहान सम्पन्न खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । पोर्चुगललाई उसकै घरेलु मैदानमा बलियो हंगेरीले २/२ गोलको बराबरीमा रोकेको हो ।

हंगेरीसँग बराबरीमा रोकिएपछि पोर्चुगलले आगामी विश्वकपमा स्थान पक्का गर्न थप प्रतीक्षा गर्नुपर्ने भएको छ । उक्त खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले भने कीर्तिमानी प्रदर्शन गरे ।

पोर्चुगलका लागि दुवै गोल रोनाल्डोले गरेका थिए । समकालीन विश्व फूटबलका महान खेलाडीमध्येका एक रोनाल्डोले निर्धारित समयको २२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

हंगेरीका लागि भने एटिला सजलाई र डोमिनिक स्जोबोस्ज्लाईले एक/एक गोल गरेका थिए । ४० वर्षीय रोनाल्डोले विश्वकप छनोटमा गरेको गोल संख्या कीर्तिमानी रूपमा ४१ पुगेको छ ।

उनले ग्वाटेमालाका स्ट्राइकर कार्लोस रुइजको कीर्तिमान तोडेका हुन् । कार्लोस रुइजले विश्वकप छनोट फूटबलमा ३९ गोल गरेका थिए । युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा पोर्चुगल समूह ‘एफ’ मा रहेको छ । उक्त समूहमा चार टोली छन् ।

चार खेल खेलेको पोर्चुगल १० अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । समान खेल खेलेको हंगेरी पाँच अंकसहित दोस्रो स्थानमा छ । चार अंकसहित आयरल्यान्ड तेस्रो र तीन अंकसहित आर्मेनिया चौथो स्थानमा आसीन छ ।

अब प्रत्येक टोलीले दुई/दुई खेल खेल्न बाँकी छ । अर्को खेलमा विजयी भए पोर्चुगल विश्वकपमा छनोट हुनेछ । पोर्चुगलले अब आयरल्यान्ड र आर्मेनियासँग खेल्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्