
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका मातहतको फोहोर पानी प्रशोधन केन्द्रको कागजात नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले शहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रसँग सम्बन्धित उजुरी परेपछि आज छापा हानेर आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए ।
‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको हो,’ उनले भने ।
वीरगञ्ज महानगर र शहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।