
विश्व खेलकुदमा यस्ता रमाइला घटना बिरलै सुन्न पाइन्छ । यस्तै एउटा घटना शटगन विश्व च्याम्पियनसिपमा भएको छ ।
आफ्ना खेलाडीले शटगन विश्व च्याम्पियनसिपमा पदक जितेपछि एक प्रशिक्षक आफ्नो कपाल खौरिएर ‘टक्लु’ बनेका छन् ।
ग्रिसको एथेन्समा सम्पन्न शटगन विश्व च्याम्पियनसिपमा भारतीय खेलाडी जोरावर सिंहले कास्य पदक जितेका थिए । विश्व च्याम्पियनसिपमा लामो समयपछि भारतीय खेलाडीले पदक जितेका हुन् ।
त्यसपछि जोरावर सिंहका प्रशिक्षक पिटर विल्सनले आफ्नो कपाल खौरिएर सबैलाई आश्चर्यमा पारेका हुन् । पिटर विल्सन सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडी हुन् ।
खासमा, विश्व च्याम्पियनसिप शुरू हुनुअघि नै प्रशिक्षक पिटर विल्सनले यस्तो घोषणा गरेका थिए । उनले विश्व च्याम्पियनसिपमा आफ्ना कुनै खेलाडीले पदक जिते कपाल खौरिने वाचा गरेका थिए ।
आफ्नो सोही वाचा पूरा गर्न उनले कपाल खौरिएका हुन् । प्रशिक्षक पिटर विल्सनले कपाल खौरिएर ‘टक्लु’ बनेको तस्वीर अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ ।
सोरावर सिंह विश्व च्याम्पियनसिपको ट्र्याप स्पर्धामा पदक जित्ने तेस्रो भारतीय खेलाडी हुन् । सन् १९६२ मा भारतीय खेलाडी करणी सिंहले यो स्पर्धामा रजत पदक जितेका थिए ।
यसैगरी, सन् २००६ को विश्व च्याम्पियनसिपमा भारतीय खेलाडी मानवजीत सिंह सन्धुले स्वर्ण पदक जितेका थिए ।