
नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न बुधबार भारत प्रस्थान गरेको छ । भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, नेपालले कार्तिक ७ गते इरानसँग पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसपछि नेपाली टोलीले कार्तिक १० गते आयोजक राष्ट्र भारतसँग दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।
नेपाल, भारत र इरानबीचको यो खेल फिफा विन्डोअन्तर्गत हुन लागेको हो । त्यसपछि नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ ।
उक्त खेल कार्तिक १३ गते खेलिने छ । यो खेल फिफा विन्डोअन्तर्गत पर्दैन । तर, यो खेलले पनि अन्तर्राष्ट्रिय मान्यता भने पाएको एन्फाले जनाएको छ ।
त्रिदेशीय खेलका लागि घोषित नेपाली टोलीमा सावित्रा भण्डारी (कप्तान), एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, निशा थोकर, समीक्षा घिमिरे, पुजा राना, सजनी थोकर, मनमाया दमाई र प्रतीक्षा चौधरी रहेका छन् ।
यसैगरी, टोलीमा हिराकुमारी भुजेल, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, सरु लिम्बू, सरस्वती हमाल, अनिता बस्नेत, सविता रानामगर, मीना देउवा, रश्मिकुमारी घिसिङ, पूर्णिमा राई र रेखा पौडेल पनि रहेका छन् ।