
भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले शुक्रबार इरानसँग खेल्दैछ ।
भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार साँझ ६:१५ मा शुरू हुनेछ ।
सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद् शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जीत निकालेको थियो ।
पछिल्लो पटक इरान-नेपालको भेट सन् २०१९ मा भएको थियो । भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो । फिफा वरीयतामा इरान ७० औं स्थानमा छ भने नेपाल ८९ औं स्थानमा छ ।
नेपाली टोलीमा कप्तान भण्डारीसहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, विमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन् ।
त्यस्,तै प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् ।