
मोरङको लेटाङ नगरपालिका–२ बाट १३ दिनदेखि हराइरहेकी १३ वर्षीया एक बालिकाको शव भेटिएको छ । शव शुक्रबार चिसाङ साझेदारी वनमा क्षतविक्षत अवस्थामा फेला परेको हो ।
लेटाङ-२ की अंशु गौतमको शव स्थानीयले घाँस काट्न जाँदा वनभित्र भेटेपछि प्रहरीलाई खबर गरेका थिए । गौतम असोज २१ गतेदेखि हराएकी थिइन् ।
घटनाको प्रकृति अत्यन्त क्रूर र अमानवीय देखिएको वडा अध्यक्ष तेजप्रसाद तिमसिनाले जानकारी दिए । तिमसिनाका अनुसार घटनास्थलमा शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।
चप्पल एकातर्फ, हाफप्यान्ट र भित्री वस्त्रहरू अर्कोतर्फ, घडी एकातर्फ, कम्मरभन्दामुनिको भाग एकातिर र कम्मरभन्दा माथिको करङ, ढाड तथा माथिको वस्त्र अर्कोतिर भेटिएको छ । त्यस्तै, टाउकोको अस्थिपञ्जर र कपाल पनि छुट्टै स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख, एसपी कवित कटवालसहितको टोली पुगेर अनुसन्धान शुरू गरेको छ। यो घटनाले गाउँ नै शोकमा डुबेका छ । अंशुका एक दिदी र एक जना भाइ छन् ।
प्रहरीले यस घटनाको सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको जनाएको छ । ‘घटना शङ्कास्पद छ । हामीले सूक्ष्म रूपमा अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, मोरङ प्रहरीकी सूचना अधिकारी, डीएसपी कोपिला चुडालले भनिन् ।
हत्या हो कि आत्महत्या भन्ने अहिले नै केही नखुलेको डीएसपी चुडालले बताइन् । ‘जंगली जनावरले उनको शव क्षत-विक्षत बनाएको हुन सक्ने अनुमान गरेका छौं । शव पोस्टमार्टमपछि सबै कुरा खुल्छ । अहिले हाम्रो विशेष टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भनिन् ।
अंशुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। अनुसन्धान कार्यमा मोरङ प्रहरी प्रमुख, लेटाङ प्रहरी प्रमुख, बेलबारी प्रहरी प्रमुखलगायतको टोली खटिएको छ ।