०५ साउन २०८३, मंगलबार
आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिता

उच्च मनोबल र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली टोली महत्त्वपूर्ण शृंखलामा

कात्तिक ८, २०८२
काठमाडौं
उच्च मनोबल र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली टोली महत्त्वपूर्ण शृंखलामा

बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजमाथिको अभूतपूर्व जीत, छनोट प्रतियोगितामा च्याम्पियन बन्दै टी–२० विश्वकपको ऐतिहासिक यात्रा, अप्ठ्यारो स्थितिमा पनि दबाब झेल्न सक्ने क्षमताको विकास र उच्च मनोबलसँगै उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली क्रिकेट टोली यतिबेला अर्को महत्त्वपूर्ण यात्रामा छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) यात्रा नेपाली क्रिकेट टोलीका लागि निकै महत्त्वपूर्ण छ । यूएई भ्रमणका क्रममा नेपाली टोलीले आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण शृंखला खेल्नेछ । शृंखलामा नेपाली टोलीको प्रतिद्वन्द्वीका रूपमा आयोजक यूएई र अमेरिका छन् ।

नेपाली टोलीको भविष्यसँग जोडिएको यो शृंखला निकै अर्थपूर्ण छ । लिग–२ को जारी सिजनअन्तर्गत खेल्न लागिएको यो १५ औं शृंखला हो । लिग–२ अन्तर्गत नेपाली टोलीले खेल्न लागेको भने यो पाँचौं शृंखला हो ।

यूएई भ्रमणका क्रममा नेपाली टोलीले अमेरिका र आयोजक राष्ट्रसँग दुई–दुई खेल खेल्नेछ । अमेरिका र यूएईबीच पनि दुई खेल खेलिने छ । नेपालले आफ्नो पहिलो खेल भोलि आइतबार (अक्टोबर २६ तारिख) मा अमेरिकासँग खेल्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल अक्टोबर ३० तारिख (कार्तिक १३ गते) आयोजक यूएईसँग खेल्नेछ । नेपालले आफ्नो तेस्रो खेल नोभेम्बर १ तारिख (कार्तिक १५ गते) अमेरिकासँग र चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) यूएईसँग खेल्नेछ ।

लिग–२० शृंखलाअन्तर्गतका खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा प्रत्येक शृंखला सकिएपछि सहभागी तीनवटै टोलीबीच टी–२० शृंखला पनि खेलिँदै आएको छ । यद्यपि, टी–२० शृंखलाको नतिजाले लिग–२ प्रतियोगिताको तालिकामा कुनै असर पार्दैन ।

जारी लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।

यस कारण महत्वपूर्ण छ लिग–२ प्रतियोगिता

सहभागी टोलीका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

null

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।

त्यसैले सहभागी टोलीका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

भर्खरैमात्र छनोट चरण पार गर्दै तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको नेपाली टोलीले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन । यो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपालसामु जारी लिग–२ प्रतियोगितामा अब्बल प्रदर्शन गर्नुको विकल्प छैन ।​

यस्तो छ अंक तालिकाको पछिल्लो अवस्था

जारी लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि लिग–२ को पहिलो संस्करणमा सात टोलीमात्र सहभागी थिए । अघिल्लो संस्करणको आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकामा सबैभन्दा तल (१३ औं स्थानमा) रहेको राष्ट्र नेदरल्यान्ड्सलाई पनि यसपटक लिग–२ मा समावेश गरिएको हो ।

जारी सिजनका लिग–२ तालिकामा नेपाली टोलीको अवस्था खासै सन्तोषजनक छैन । यद्यपि, नेपाल र यूएईले अन्य टोलीको तुलनामा कम खेल खेलेका छन् । हालसम्म २४ खेल खेलेको स्कटल्यान्ड ३० अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । स्कटल्यान्डले १३ जीत र सात हारको नतिजा निकालेको छ । स्कटल्यान्डको चार खेल भने अनिर्णित रूपमा सकिएको छ । 

यसैगरी, २० खेलबाट २८ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाले हालसम्म १४ जीत हासिल गरिसकेको छ । पछिल्लो समय एकपछि अर्को अब्बल प्रदर्शन गर्दै आएको अमेरिका ६ खेलमा भने पराजित भएको छ ।

यसैगरी, २४ खेलबाट २८ अंक हात पारेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा आसिन छ । १३ खेलमा विजयी भएको नेदरल्यान्ड्स नौ खेलमा पराजित भएको छ । नेदरल्यान्ड्सको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ ।

null

यस्तै, २० खेलबाट २४ अंक हात पारेको ओमान तालिकाको चौथो स्थानमा छ । ओमानले हालसम्म ११ खेलमा जीत हात पारेको छ । सात खेलमा पराजित भएको ओमानको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ ।

यसैगरी, २४ खेलबाट २१ अंक बटुलेको क्यानडा तालिकाको पाँचौं स्थानमा छ । क्यानडाले हालसम्म नौ खेलमा जीत हात पारेको छ । क्यानडाको तीन खेल अनिर्णित रूपमा सकिएको छ । १२ खेलमा भने क्यानडा पराजित भएको छ ।

२४ खेलबाट १९ अंक कमाएको नामिबिया तालिकाको छैटौं स्थानमा आसिन छ । नामिबियाले पनि नौ खेलमा जीत हात पारेको छ । नामिबियाको एक खेल अनिर्णित रूपमा सकिएको छ । १४ खेलमा भने नामिबिया पराजित भएको छ ।

यसैगरी, १६ खेलबाट १२ अंक हात पारेको नेपाल तालिकाको सातौं स्थानमा छ । नेपालले हालसम्म पाँच खेलमा मात्र जीत हात पार्न सकेको छ । नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ । नेपाल नौ खेलमा भने पराजित भएको छ ।

यसैगरी, १६ खेलबाट केवल ६ अंक कमाएको यूएई तालिकाको आठौं स्थानमा छ । यूएईले हालसम्म तीन खेलमा मात्र सफलता हात पार्न सकेको छ । १३ खेलमा भने यूएई पराजित भएको छ ।

पहिलो शृंखलामा नेपालको प्रदर्शन

जारी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको पहिलो शृंखला नेपालमै खेलिएको थियो । त्यो त्रिकोणात्मक शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । सन् २०२४ को फेब्रुअरी १५ तारिखमा खेलिएको शृंखलाको पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

यसैगरी, फेब्रुअरी १७ मा खेलिएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । फेब्रुअरी १९ मा खेलिएको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियामाथि सात विकेटको जीत हासिल गरेको थियो ।

यसैगरी, चौथो खेल फेब्रुअरी २१ तारिखमा खेलिएको थियो । त्यो खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको थियो । फेब्रुअरी २३ मा खेलिएको पाँचौं खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो ।

फेब्रुअरी २५ मा खेलिएको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटले पराजित गरेको थियो । समग्रमा त्यो शृंखला नामिबियाका लागि निकै फलदायी सिद्ध भएको थियो । नामिबियाले आफूले खेलेको चार खेलबाट ६ अंक बटुलेको थियो ।

null

दोस्रो शृंखलामा नेपालको प्रदर्शन

जारी सिजनको लिग–२ प्रतियोगितामा नेपालले आफ्नो शृंखला क्यानडामा खेलेको थियो । समग्रमा भने लिग–२ को यो छैटौं शृंखला थियो । सन् २०२४ को सेप्टेम्बर १६ देखि २६ तारिखसम्म खेलिएको उक्त शृंखलामा नेपालका अतिरिक्त आयोजक क्यानडा र ओमान सहभागी थिए ।

उक्त शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली ओमानसँग एक विकेटले पराजित भएको थियो ।

यसैगरी, आफ्नो तेस्रो खेलमा नेपाली टोली आयोजक क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । नेपाल र ओमानबीचको खेल भने वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो । समग्रमा त्यो शृंखला नेपाली टोलीका लागि निकै निराशाजनक थियो ।

तेस्रो शृंखलामा नेपालको प्रदर्शन

जारी लिग–२ प्रतियोगितामा नेपाली टोलीले आफ्नो तेस्रो शृंखला अमेरिकामा खेलेको थियो । समग्रमा लिग–२ को यो सातौं शृंखला थियो । सन् २०२४ को अक्टोबर २५ देखि नोभेम्बर ४ तारिखसम्म खेलिएको उक्त शृंखलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी थिए ।

उक्त शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपाली टोलीले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

यसैगरी, आफ्नो तेस्रो खेलमा नेपाली टोली आयोजक अमेरिकासँग ३७ रनले पराजित भएको थियो । नेपाल र स्कटल्यान्डबीचको चौथो खेल भने वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो । समग्रमा त्यो शृंखला पनि नेपाली टोलीका लागि उत्साहजनक रहन सकेको थिएन ।

null

चौथो शृंखला र नेपालको प्रदर्शन

नेपाली टोलीले आफ्नो चौथो शृंखला स्कटल्यान्डमा खेलेको थियो । समग्रमा लिग–२ को यो १३ औं शृंखला थियो । सन् २०२५ को जुन २ देखि १२ तारिखसम्म खेलिएको उक्त शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी थिए ।

नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जीत हासिल गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले नेदरल्यान्ड्सलाई पाँच विकेटको फराकिलो अन्तरले हराएको थियो ।

यसैगरी, आफ्नो तेस्रो खेलमा नेपाली टोली स्कटल्यान्डसँग केवल दुई रनले पराजित हुन पुगेको थियो । आफ्नो चौथो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको थियो । समग्रमा यो शृंखला नेपाली टोलीका लागि उपलब्धिपूर्ण रहेको थियो । यो शृंखलाबाट नेपालले ६ अंक बटुलेको थियो । 

यस्तो छ नेपाली टोली

नेपाल क्रिकेट संघ (क्यान)ले लिग–२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक शृंखलाका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली ओमानमा टी–२० विश्वकपको छनोट प्रतियोगिता खेलेर लिग–२ शृंखलामा सहभागी हुन उतैबाट यूएई पुगेको हो ।

क्यानले लिग–२ शृंखलाका लागि रोहित कुमार पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । घोषित टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलसन कुमार झा र साहब आलम रहेका छन् ।

लिग–२ को पहिलो संस्करण र नेपाली टोलीको रमाइलो संयोग

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अंक बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अंक जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अंक बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए ।

पहिलो संस्करणमा नेपाली टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको थियो । शृंखलाका शुरूआती चरणका खेलमा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृंखलामा खेलिएका कूल १२ मध्ये ११ खेलमा जीत हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।

बाँकी चार राष्ट्र नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीले भने विश्वकप क्वालिफायरको प्ले-अफ खेल्नु परेको थियो । प्ले-अफ चरण पार गर्दै पछि यूएई र अमेरिका विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका थिए ।

सन् २०२३ को एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना भएको थियो । त्यो प्रतियोगिताबाट श्रीलंका र नेदरल्यान्ड्स सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट भएका थिए । अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल आठौं, यूएई नवौं र अमेरिका दशौं भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्