
अर्जेन्टिनाका अति-दक्षिणपन्थी राष्ट्रपति हाभिएर मिलेईको पार्टी 'ला लिबेर्ताद अभान्जा'ले आइतबारको मध्यावधि निर्वाचनमा महत्त्वपूर्ण जीत हासिल गरेको छ । यो जीत यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टिनाका लागि ४० अर्ब डलरको आर्थिक उद्धार (बेलआउट) प्याकेज घोषणा गर्दै मिलेईको जीतमा थप सहायता निर्भर रहने शर्त राखेका थिए ।
९५ प्रतिशतभन्दा बढी मत गणना हुँदा मिलेईको पार्टीले राष्ट्रव्यापी रूपमा ४०.८४ प्रतिशत मत प्राप्त गरेको छ । यो निर्वाचनलाई स्वयंलाई 'अराजक-पूँजीवादी' बताउने मिलेईको करिब दुई वर्षे शासनमाथिको जनमत संग्रहका रूपमा हेरिएको थियो । प्रमुख विपक्षी पेरोनिस्ट गठबन्धन 'फुएर्जा पाट्रिया'ले ३१.६७ प्रतिशत मत प्राप्त गरेको छ ।
यो नतिजाले मिलेईलाई कंग्रेसमा बहुमत दिलाउन पर्याप्त नभए पनि (जहाँ पेरोनिस्टहरूकै बहुमत कायम छ) अर्जेन्टिनी विश्लेषकहरूले यसलाई 'आश्चर्यजनक' मानेका छन् । हालै उनकी बहिनी मुछिएको भ्रष्टाचार आरोपदेखि जारी आर्थिक संकटसम्मका कारण मिलेईको लोकप्रियता घटेको विश्लेषण भइरहेका बेला यो नतिजा आएको हो ।
सरकार आफैंले ३० देखि ३५ प्रतिशत मतलाई सन्तोषजनक मानिरहेको थियो, विशेषगरी सेप्टेम्बरमा ब्यूनस आयर्स प्रान्तीय चुनावमा पेरोनिस्टहरूसँग १४ प्रतिशत अंकले पराजित भएका थिए । तर, यसपटक मिलेईको पार्टीले देशको सबैभन्दा ठूलो निर्वाचन क्षेत्रमा जीत निकाल्दै नतिजा उल्टाएको छ ।
ब्यूनस आयर्सको एक होटलमा सयौं समर्थकहरूलाई सम्बोधन गर्दै मिलेईले भने, 'आज हामीले निर्णायक मोड पार गरेका छौं । एक महान अर्जेन्टिनाको निर्माण शुरू भएको छ ।' उनले मञ्चमा उक्लँदै 'म हराएको संसारको राजा हुँ' भनेर गीत गाएका थिए ।
उनले अमेरिकी बेलआउटको प्रशंसा गर्दै यसलाई अर्जेन्टिनाको मात्र नभई विश्व इतिहासकै अभूतपूर्व भने ।
'अब हामी अर्जेन्टिनालाई फेरि महान बनाउन (Make Argentina Great Again) आवश्यक सुधारहरू गर्नमा केन्द्रित छौं,' उनले ट्रम्पको नारा सापटी लिँदै भने ।
ट्रम्पले पनि आइतबार राति मिलेईको पार्टीको जीतलाई ठूलो जीत भन्दै बधाई दिएका छन् । 'उनीप्रतिको हाम्रो विश्वासलाई अर्जेन्टिनाका जनताले जायज ठहराएका छन्,' ट्रम्पले भनेका छन् ।
यस निर्वाचनमा तल्लो सदनका २५७ मध्ये १२७ सिट र सिनेटका ७२ मध्ये २४ सिटमा प्रतिस्पर्धा भएको थियो । मिलेईको पार्टीले तल्लो सदनमा ६४ र सिनेटमा १२ सिट जितेको छ । यी नयाँ सिटहरूले सरकारलाई राष्ट्रपतीय भिटो (veto) कायम राख्न आवश्यक पर्ने तल्लो सदनको एक तिहाइको लक्ष्य पूरा गर्न मद्दत गर्नेछ ।
करिब दुई वर्षअघि सत्तामा आएका मिलेईले 'चेन-स' (आरा) उपनाम दिइएको कठोर खर्च कटौती नीति लिएका थिए । उनले हजारौं सार्वजनिक रोजगारी कटौती गर्नुका साथै पूर्वाधार, स्वास्थ्य, शिक्षा, निवृत्तिभरण (पेन्सन) र औषधि आपूर्तिमा समेत लगानी रोकेका थिए ।
उनले २०२३ मा २०० प्रतिशतभन्दा बढी रहेको मुद्रास्फीतिलाई सेप्टेम्बरमा करिब ३० प्रतिशतमा झार्न सफल भए, जसले १४ वर्षमा पहिलो पटक देशलाई वित्तीय सन्तुलन (fiscal surplus) मा लग्यो । अगस्ट २०२५ मा आर्थिक गतिविधि ०.३ प्रतिशतले बढ्यो ।
तर, यसको मूल्यस्वरूप जनताको क्रय शक्ति ह्वात्तै घटेको छ । अधिकांश अर्जेन्टिनीहरूले गुजारा चलाउन संघर्ष गरिरहेको बताएका छन् । २ लाख ५० हजारभन्दा बढी रोजगारी गुमेका छन् र करिब १८ हजार व्यवसाय बन्द भएका छन् ।
मिलेईले प्रवर्द्धन गरेको क्रिप्टोकरेन्सी पतन हुनु, उनकी बहिनी तथा क्याबिनेट सदस्य करिना मिलेई भ्रष्टाचारमा मुछिनु र पार्टीका एक प्रमुख उम्मेदवारले लागुऔषध तस्करबाट २ लाख डलर लिएको स्वीकार्नुले उनको लोकप्रियतामा धक्का लागेको थियो ।
पेसोको अवमूल्यन रोक्न सरकारले डलर सञ्चिति खर्च गर्यो, आईएमएफ (IMF) बाट २० अर्ब डलर ऋण लिए पनि (जसमध्ये १४ अर्ब डलर खर्च भइसक्यो) अन्ततः ट्रम्पको ४० अर्ब डलरको बेलआउटमा भर पर्नुपर्यो । देशका धेरैले ट्रम्पको यो कदमलाई चुनावी हस्तक्षेप मानेका थिए ।
अर्जेन्टिनामा मतदान अनिवार्य भए तापनि यसपटकको मतदान सन् १९८३ मा प्रजातन्त्र पुन:स्थापनापछिकै सबैभन्दा कम रह्यो । केवल ६७.८५ प्रतिशत मत खस्यो, जसले २०२१ को ७१ प्रतिशतको न्यून रेकर्डलाई पनि तोडेको छ ।
– द गार्डियनबाट