
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि काठमान्डू गुर्खाजले पहिलो विदेशी खेलाडीका रुपमा विकेटकिपर ब्याट्सम्यान रिकार्डो भास्कोन्सेलोसलाई आफ्नो टोलीमा भित्र्याएको छ ।
दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इङ्ल्यान्डको घरेलु क्रिकेट खेल्छन् ।
सोमबार आफ्नो २८औं जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डू गुर्खाजले आफ्नो पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।
रिकार्डोले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । रिकार्डोले पछिल्लो समय इङ्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् ।
उनले नर्थएम्टनसायरबाट काउन्टी क्रिकेट खेल्छन् । यसका साथै उनले भाइटालिटी ब्लास्ट पनि खेलिरहेका छन् । दुई महिनाअघि सम्पन्न भाइटालिटी ब्लास्ट–२०२५ मा रिकार्डोले १५ खेलमा १४२ भन्दा माथिको स्ट्राइक रेटमा कूल तीन सय ४२ रन बनाएका थिए ।
काठमान्डू गुर्खाजका अनुसार भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ भन्दा माथिको स्ट्राइक रेटमा एक हजार चार सय ४६ रन बनाइसकेका छन् ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डू गुर्खाजले रिकार्डोको अनुबन्धलाई लिएर आफू निकै उत्साही रहेको जनाएको छ ।
मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, राशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको काठमान्डू गुर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्र्याएको थियो ।
काठमान्डू गुर्खाजको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् । टोलीको प्रशिक्षकमा वसन्त शाही रहेका छन् ।