
अमेरिकाको सांगीतिक टुर सकाएर नेपाल फर्किएकी चर्चित गायिका एलिना चौहानले अमेरिकाको कार्यक्रममा अपमानजनक व्यवहार सहनुपरेको गुनासो सार्वजनिक गरेकी छिन्।
चौहानले सोमबार आफ्नै फेसबुकमा लेख्दै उक्त टुरलाई जीवनको ठूलो सिकाइको रूपमा व्याख्या गरेकी छिन्। उनले लेखेकी छन्, 'जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो।'
उनका अनुसार आयोजकहरूले कलाकारलाई सम्मानजनक व्यवहार गर्नुभन्दा पनि ‘मालिक’को हैसियत देखाउन खोजे। चौहानले भनिन्, 'एउटा कुरा स्पष्ट भन्न चाहन्छु — आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।'
उनले अगाडि लेखेकी छन्, 'नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।' उनीसँगै कलाकार प्रताप दास र बद्री पंगेनी पनि एक आयोजकमार्फत अमेरिका गएका थिए ।