
नाइजेरियाले लामो समयदेखि दस्तावेज वा कागजात नभएका अफ्रिकी कामदारहरूको गन्तव्य बनेको दक्षिण अफ्रिकामा आप्रवासी विरोधी तनाव बढ्दै गएपछि आफ्ना एक हजारभन्दा बढी नागरिकलाई फिर्ता ल्याउने बताएको छ।
घानाले हालै दक्षिण अफ्रिकाबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएपछि अबुजाको यो कदम आएको हो।
नाइजेरियाको विदेश मन्त्रालयका प्रवक्ता किमिबी एबिएन्फाले शुक्रबार एएफपीलाई भने, “स्वेच्छिक स्वदेश फिर्तीका लागि नाइजेरियाले बिहीबारदेखि आफ्ना नागरिकको पहिचान गर्ने काम सुरु गरेको छ।”
उनले भने, “कुल आँकडा अझै तयार भइसकेको छैन। हामी एक हजारभन्दा बढी व्यक्ति त्यहाँ रहेको अपेक्षा गरेका छौँ।”
प्रिटोरियास्थित नाइजेरियाको उच्चायोगले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा भनेको छ, “आप्रवासनसँग सम्बन्धित अपराध भएकालाई हिरासतमा लिनुको सट्टा अन्तिम स्वदेश फिर्ती उडानहरूमा जान अनुमति दिइयोस्।”
महादेशको सबैभन्दा धनी औद्योगिक अर्थतन्त्र दक्षिण अफ्रिकाले लामो समयदेखि यस क्षेत्रका कामदारलाई आकर्षित गर्दै आएको छ।
तर ३० प्रतिशतभन्दा बढीको बेरोजगारी दरका कारण यसले हालैका हप्ताहरूमा नयाँ हिंसासहित बारम्बार विदेशीद्वेषी (आप्रवासीप्रतिको असहिष्णुता) दर्शाउँदै विरोध र प्रदर्शनहरूको सामना गरेको छ।
पछिल्लो तनावले अफ्रिकामा आप्रवासन, आप्रवासीप्रतिको असहिष्णुता र अफ्रिकी महादेशका रैथाने जनता तथा विश्वभर छरिएर रहेका अफ्रिकी मूलका मानिसबीचको ऐक्यबद्धता, सांस्कृतिक सम्बन्ध र एकतालाई प्रवर्द्धन गर्ने एक सामाजिक, राजनीतिक तथा सांस्कृतिक आन्दोलनबारे असहज बहसलाई पुनर्जीवित गरेको छ।
जुन ३० सम्ममा अवैध आप्रवासीलाई निष्कासन गर्न एक नागरिक नेतृत्वको समूहले चेतावनी दिएको र यसका कारण विगतमा भएको आप्रवासी विरोधी अशान्तिले दर्जनौँको ज्यान लिएपछि हिंसाको डर बढाएको छ।
दक्षिण अफ्रिकी सरकारले कागजात नभएका आप्रवासीविरुद्ध कारबाही बढाइरहेको बताएको छ, तर नागरिकलाई यस्ता मुद्दालाई नागरिकस्तरबाट व्यवस्थापन गर्ने प्रयास नगर्न आग्रह गरेको छ।
तथ्याङ्क कार्यालयका अनुसार दक्षिण अफ्रिकामा ३० लाखभन्दा बढी विदेशी बस्छन्, जुन त्यहाँको जनसङ्ख्याको ५.१ प्रतिशत हो।
त्यहाँ रहेका विदेशीमध्ये ६३ प्रतिशतभन्दा बढी १६ सदस्यीय दक्षिण अफ्रिकी विकास समुदाय (एसएडिसी) समूहका देशबाट आएका छन्।