०५ साउन २०८३, मंगलबार
जेनजी आन्दोलनपछिको सकस

कांग्रेस महाधिवेशनको किचलो: कसले र किन चलायो पार्टी फुट्ने हल्ला ?

कात्तिक ११, २०८२
काठमाडौं
कांग्रेस महाधिवेशनको किचलो: कसले र किन चलायो पार्टी फुट्ने हल्ला ?

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्योलमा परिरहेका बेला संस्थापन पक्षका नेताहरूले इतर पक्षले पार्टी फुटाउन खोजेको भनेर हल्ला चलाउन थालेका छन् ।

सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर महाधिवेशन उन्मुख हुन आग्रह गरेका थिए । तर, हल्ला भने पार्टी फुटको चलाइएको छ । नियमित र विशेष महाधिवेशनको चक्करका बीच कांग्रेस फुट्नेसम्मका हल्ला भित्रबाटै चलाइएका हुन् ।

मुख्यगरी संस्थापनपक्षीय नेताले म्याद सकिन लागेको महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको राजनीतिक औचित्य नरहेको दाबी गरेका छन् ।

साथै, फागुन २१ गतेको निर्वाचनको चापले मंसिरभित्र महाधिवेशन हुनै नसक्ने अडान राखिरहेका छन् । अर्थात्, मंसिरमा महाधिवेशन पनि नहुने र म्याद सकिएपछि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे पनि विशेष महाधिवेशन डाक्न नहुने उनीहरूको दाबी छ ।

तर, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला समूहका केही नेता मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् ।

null

महाधिवेशनको कार्यतालिका तत्काल ल्याउँदा अहिलेको जोखिम टर्ने उनीहरूको तर्क छ । नियमित नभए ५४ प्रतिशतको मागलाई तत्काल सम्बोधन गर्न विशेष महाधिवेशनमा जानुपर्ने माग उनीहरूले राख्दै आएका छन् । यी दुवै मतका बीच बिहीबारबाट कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । बैठक बस्नुपूर्व महाधिवेशन तत्काल गर्नुपर्ने र गर्नै नहुने भन्ने पक्षबीच रस्साकस्सी देखिएको छ ।

परिस्थितिले मंसिरमै नियमित महाधिवेशन नभए बहुमत बढी सदस्यले मागेको विशेषको मागमा प्रक्रिया अगाडि बढाउनैपर्ने चुनौती देखिएको छ ।

यी चुनौतीका बीच पार्टी फुटाउन खोजेकोसम्म भाष्य बनाइएको छ । चुनावअगाडि महाधिवेशन हुन नसक्ने र विशेष महाधिवेशनमा जानु भनेको पार्टी फुटेबराबर हुने अर्थ संस्थापन भित्रैका नेताले लगाएका छन् ।

नियमित महाधिवेशन नगर्दा ५४ प्रतिशतको मागलाई सम्बोधन गर्न विशेष महाधिवेशनमा जानुपर्ने हस्ताक्षरकर्ता पक्षको माग छ । पार्टीले औपचारिक रूपमा नबोलाए छुट्टै भेला बोलाउने र विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेसम्मको तयारीमा अर्को पक्ष लागेको छ । यसैलाई पार्टीको संस्थापन पक्षले पार्टी फुटाउन खोजेको रूपमा अर्थ्याएको एक नेता बताउँछन् ।

कांग्रेसका एक नेता म्याद सकिएका प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन नहुने अडान अराजनीतिक भएको बताउँछन् ।

‘आफूलाई चुनेका बहुसंख्यक प्रतिनिधिले हस्ताक्षर गरेपछि सभापतिले कार्यवाहक दिएको स्थिति एकातिर छ । तर, संस्थापनका नेताहरू म्याद सकिएका प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन हुँदैन भन्दैछन्,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘तर, उनीहरू नियमित महाधिवेशन पनि गर्न हुँँदैन भन्ने अडानमा छन् । अनि पार्टी विधानको प्रक्रियामा अगाडि बढ्दा पार्टी फुटाउन खोजेको न्यारेटिभ बनाउन खोजिरहेका छन् ।’

पार्टी फुटका हल्लादेखि महाधिवेशन नै नहुने स्थिति आएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय कार्यालय सानेपामा अर्थपूर्ण बोली बोले । फरक कोणबाट विशेष महाधिवेशनको माग भएकोतर्फ संकेत गर्दै खड्काले नियमित महाधिवेशनभित्रै यसलाई अटाउने मोडलमा जाने प्रस्ट्याएका हुन् ।

‘पार्टीमा नेताहरूले आफूलाई लागेको कुरा खुलस्त राख्नुभएको छ । हामी फरक जोड र कोणलाई पनि एकतृत गरेरै निर्वाचन र पार्टीको महाधिवेशनसम्म एकताका साथ अघि बढ्छौं,’ खड्काले भने, ‘महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । यसलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर हामी एक भएर अगाडि बढ्छौं ।’

१४ औं महाधिवेशनका ४७४३ मध्ये २४८८ प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । यही हस्ताक्षर तयार भएपछि नै देउवाले खड्कालाई कार्यवाहक सभापति दिएका थिए । त्यसैले कि नियमित महाधिवेशन, नभए विशेष महाधिवेशनको विकल्पमा जानुपर्नेमा गगन, विश्व र शेखर एकमतमा देखिएका छन् ।

तर, विशेष महाधिवेशन नडाक्दा अर्को पक्षले विशेष महाधिवेशन पक्षधरको भेला डाक्ने स्थितिलाई डा. शेखरले पनि पार्टी फुटको जोखिम भनेर अर्थ्याएका छन् । पार्टी विभाजन नै हुने स्थिति आएमा यस्ता भेला गर्न नहुने र नियमित महाधिवेशनमा जानुपर्ने उनको मत छ । स्थिति पेचिलो बन्ने स्थितिमा शेखरले आफूलाई समन्वयकारी नेताको रूपमा उभ्याउने आशय व्यक्त गरेका हुन् ।

‘कसैले कांग्रेसमा विग्रह आओस् भनेको छ, धूप हालेर बसेको छ भने यस्तो बिलकुलै नसोचे हुन्छ । हामी एक ढिक्का हुन्छौं, रहन्छौं,’ महामन्त्री शर्माले सोमबार केन्द्रीय कार्यालयमा भने, ‘सभापति र महामन्त्रीहरू पार्टी संगठनको संस्थापन हो, विचारगत र समूहगत हिसाबले को मानिस कहाँ उभिन्छ, फरक हुन् । विश्वप्रकाश शर्मा वा गगन थापा कहाँ उभिने अलग कुरा हुन् । पार्टीलाई कसैले विग्रहमा लान खोजे सभापति र महामन्त्रीहरूले ठीक ठाउँमा ल्याउँछन् । यो हाम्रो कर्तव्य हो ।’

कार्यवाहक सभापति मात्रै होइन, महामन्त्री विश्वप्रकाश शर्माले समेत पार्टी फुटबारे अनावश्यक हल्ला फैलाइएको बताए ।

‘कसैले कांग्रेसमा विग्रह आओस् भनेको छ, धूप हालेर बसेको छ भने यस्तो बिलकुलै नसोचे हुन्छ । हामी एक ढिक्का हुन्छौं, रहन्छौं,’ महामन्त्री शर्माले सोमबार केन्द्रीय कार्यालयमा भने, ‘सभापति र महामन्त्रीहरू पार्टी संगठनको संस्थापन हो, विचारगत र समूहगत हिसाबले को मानिस कहाँ उभिन्छ, फरक हुन् । विश्वप्रकाश शर्मा वा गगन थापा कहाँ उभिने अलग कुरा हुन् । पार्टीलाई कसैले विग्रहमा लान खोजे सभापति र महामन्त्रीहरूले ठीक ठाउँमा ल्याउँछन् । यो हाम्रो कर्तव्य हो ।’

हस्ताक्षर अभियानमा सक्रिय भएर लागेका नेता गुरु घिमिरेले बहुमतको दम्भ देखाउनेले वैधानिक मागलाई विभाजनको नाममा विवादित बनाउन खोजेको बताए ।

‘बहुमतको दम्भ देखाएर लम्ब्याउन सक्ने मनोविज्ञान राखिरहे । तर, महाधिवेशन गर्न अग्रसरता लिएनन् । आपत आएपछि पनि विकल्प नखोज्ने प्रवृत्ति देखियो । जेनजी आन्दोलनले संकटतिर धकेल्दा प्रधानमन्त्रीलाई राजीनामा गराउन सकिएन । सरकारबाट बाहिरिएको घोषणा गर्न सकिएन । त्यस्तो भएको भए देश खरानी हुने थिएन । संसद् विघटन हुने थिएन । कांग्रेसको अगुवाइमा जेनजीसँग वार्ता गरेर समाधान हुने स्थिति थियो,’ घिमिरे भन्छन्, ‘दम्भले र प्रधानमन्त्रीको लोभले गल्तीमाथि गल्तीको शृंखलाका कारण विकल्पतिर लागेनन्  । अनि हामीले विधानको व्यवस्था र इतिहासको अभ्यासलाई टेकेर विशेष महाधिवेशनको माग र हस्ताक्षर जुटाउँदा पार्टी विभाजन गर्छन् भन्ने निराधार, फत्तुर एवं आधारहीन आरोप लगाएका हुन् । फुटको हल्ला विभाजनकारी प्रवृत्ति भएकाले नै चलाएका हुन् ।’

वैधानिक हिसाबले गरिएको मागलाई बेवास्ता गरिए पार्टीले गम्भीर क्षति भोग्नुपर्ने घिमिरे बताउँछन् ।

‘बरु सभापतिजीले १४ औं महाधिवेशनपछि छिटफुटबाहेक गुटको बैठक बोलाउनुभएको थिएन । उहाँले कार्यवाहक दिएको भोलिपल्टदेखि पार्टी प्यालेस र होटलमा गुटको बैठक चलिरहेका छन् । बरु खरानी बन्ने, खरानी उठाउनै तयार हुने भन्ने सोचमा नेताहरू छन् । यसैले गुटका बैठकका लागि प्रेरित गरेका छन्,’ घिमिरे भन्छन्, ‘अहिलेकै नेतृत्वलाई लिएर चुनावमा जाने सम्भावना छैन । गए पार्टीले नमीठो क्षति व्यहोर्छ । यसैले व्यावहारिक रूपमा नयाँ नेतृत्व लिएर जानुपर्छ ।’

सम्भव हुँदासम्म नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन  गरेर जानु नै अहिलेको निकास भएको घिमिरे बताउँछन् ।

‘गुटको भेला बोलाउनेले नियमित महाधिवेशन गरौं, नभए विशेष महाधिवेशनमा जाऊँ भन्दा हामीलाई ललकारेको छ,’ घिमिरे भन्छन्, ‘दुवै विकल्पमा नजाने अनि हिजोकै जस्तो आफ्नै गुटलाई टिकट बाँड्ने उहाँहरूको रणनीति देखिन्छ । बदनामी व्यहोर्न र साक्षी बन्न हामी तयार छैनौं । यसैले नियमितले विशेषलाई सम्बोधन गर्छ । अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि प्रक्रिया शुरू गर्नुपर्छ, होइन भने अबको ७६ दिनभित्र विशेष महाधिवेशन हुन्छ ।’

देउवाले छाडे, अरूले छाडेनन्

१३ औं महाधिवेशनबाट सभापति हुनुअघि शेरबहादुर देउवाले निरन्तर गुटगत बैठक राख्ने गरेका थिए । तर, दुई कार्यकाल सभापति रहँदा देउवाले गुटगत बैठकलाई प्राथमिकता दिएका थिएनन् । आफूलाई साथ दिएका गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिसम्मले पटक–पटक आग्रह गर्दा पनि देउवाले गुटको बैठक राख्न अस्वीकार गरेका थिए । केही विषयमा छलफल गर्नुपर्दा पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाउने गर्थे ।

१५ औं महाधिवेशनबाट सभापतिमा दोहोरिन नमिल्ने भएकैले देउवाले आफूलाई गुटभन्दा माथि राख्न खोजेका थिए । जेनजी आन्दोलनको रापतापपछि देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिए ।

null

त्यसपछि भने खड्कामाथि गुटको बैठक राख्न निरन्तर दबाब परेको छ । कार्यवाहक भएकै भोलिपल्ट खड्काले ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा गुटको बैठक राखेका थिए । संस्थापनका पुराना नेताको दबाबमा खड्का यस्तो गुटका बैठक राख्न बाध्य भएको एक नेता बताउँछन् ।

‘महामन्त्रीहरू नै म्याद सकिन लागेका प्रतिनिधिहरूको हस्ताक्षर जुटाउन लाग्छन् भने हामी किन चुप लाग्ने ?’ संस्थापन निकटका एक पूर्व पदाधिकारी भन्छन्, ‘यसैले हाम्रै आग्रहमा कार्यवाहक सभापतिले गुटको बैठक बोलाउनुभएको हो । गगनहरूलाई काउन्टर दिनैका लागि हामीले यो विकल्प रोजेका हौं ।’

खड्काले पटक–पटक गरी संस्थापन निकटका नेताको बैठक गरिसकेको ती नेता बताउँछन् । अर्का युवा नेता भुपेन्द्रजंग शाही नियमित महाधिवेशन नै पार्टीको हितमा रहेको बताउँछन् ।

‘छिटो नियमित महाधिवेशन पार्टीको हितमा हुन्छ । अन्यथा हामीले कठिन अवस्थाको सामना गर्नुपर्छ । महाधिवेशन नभए कार्यसमिति भंग गरेर अर्को समिति गठन गर्नुपर्छ भनेर हामीले कार्यवाहक सभापतिको ध्यानाकर्षण गराएका छौं,’ शाहीले भने, ‘यत्तिको संकटमा पनि समाधान नदिए हामीले कांग्रेसलाई पार लगाउन सक्दैनौं ।’

salt training

कमेन्ट गर्नुहोस्