
चितवन जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ ।
ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २१४ जना घाइते भएका छन् । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्वी राजमार्गअन्तर्गत २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ६२ जना घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सहरी सडकखण्डमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा ७३ घाइते भएका थिए । अन्य भित्री सडकमा २८३ दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ४७० घाइते भएका थिए । गत आवमा ९७गम्भीर घाइते र ९०२ जना सामान्य घाईते भएको उनले बताए ।
आव २०८१/०८२ मा जिल्लाका विभिन्न सडकमा भएको सवारी दुर्घटनामा १२० जनाको ज्यान गएको थियो । सवारी दुर्घटना पनि कमी आएको छ । सो आवमा एक हजार ५० वटा दुर्घटनामा परी एक हजार ८७७ जना घाइते भएका थिए । यसमध्ये १७२ जना गम्भीर घाइते भएका थिए । गत आवमा भएका दुर्घटनामध्ये तीव्र गतिका कारण धेरै भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३८ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको छ भने २२ प्रतिशत दुर्घटना चालकको लापर्वाहीका कारण भएको देखिन्छ । यस्तै १७ प्रतिशत (रोड युजर) बाटोका कारणले भएको उनले बताए ।