
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपाली टोलीले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार बिहान नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
जारी शृंखलामा नेपाल र यूएई दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए ।
नेपाली टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यूएईको टोली पनि आफ्नो पहिलो खेलमा अमेरिकासँगै चार विकेटले पराजित भएको थियो ।
जारी सिजनको लिग–२ प्रतियोगितामा नेपाल र यूएई पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
तर, एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भने नेपालका लागि यूएई पूर्वपरिचित प्रतिद्वन्द्वी हो । नेपाल र यूएईबीच हालसम्म १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलिएको छ । नेपालले नौ खेलमा यूएईलाई हराएको छ ।
यूएईले भने ६ खेलमा नेपाललाई पराजित गरेको छ । घरेलु मैदानमा नेपाली टोलीले पाँच खेल र यूएईले चार खेल जितेका छन् । नेपालले तीन खेलमा यूएईलाई उसैको घरेलु मैदानमा हराएको छ ।
यूएईले भने नेपालको घरेलु मैदानमा एक खेलमात्र जित्न सकेको छ । यसका अतिरिक्त, ‘न्यूट्रल भेन्यू’ मा नेपाल र यूएईले एक–एक खेल जितेका छन् ।