
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल बिहीबार खेलिएको आफ्नो दोस्रो खेलमा आयोजक यूएईसँग पाँच विकेटले पराजित भएको हो ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर दुई सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल र यूएई दुवैले आफ्नो १८ औं खेल खेलेका हुन् । जारी प्रतियोगितामा यी दुवै टोली दबाबमा छन् । नेपालले हालसम्म केवल पाँच जीत र ११ हारको नतिजा निकालेको छ ।
नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ । १२ अंकसहित नेपाल तालिकाको सातौं स्थानमा यथावत् छ । समान खेल खेलेको यूएई भने आठ अंकसहित तालिकाको अन्तिम अर्थात, आठौं स्थानमा आसिन छ । यूएईले हालसम्म चार जीत र १४ हारको नतिजा निकालेको छ ।
यूएईमा जारी यो शृंखलाको पहिलो खेलमा नेपाल र यूएई दुवै टोली अमेरिकासँग पराजित भएका थिए । नेपाली टोली अमेरिकासँग एक सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यूएई पनि आफ्नो पहिलो खेलमा अमेरिकासँगै चार विकेटले पराजित भएको थियो ।
बिहीबार सम्पन्न यूएईविरुद्धको खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ दुबै निकै फितलो देखियो । कप्तान रोहित कुमार पौडेलले आकर्षक शतकीय पारी खेले पनि नेपाली टोलीका अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो ।
नेपाली टोलीका बलरहरूले पनि कुनै चमत्कार गर्न सकेनन् । यूएईको जितमा ओपनर ब्याट्सम्यान आर्यान्श शर्माले ९८ रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका उनले ९८ बलको सामना गरी तीन छक्का र १० चौका हिर्काए ।
अर्का ओपनर एलिसन सराफुले पनि टोलीका लागि ४५ रनको योगदान गरे । कप्तान राहुल चोपडा १५ रनको व्यक्तिगत स्कोरमा खेलिरहँदा ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिएका थिए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका मुहम्मद वसिमले पनि टोलीको खातामा २६ रन बनाए ।
नेपाली टोलीका बलर सन्दीप लामिछानेले दुई विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले पनि एक–एक विकेट हात पारे । यूएईले अतिरिक्त रूपमा पनि १३ रन पायो ।

यूएईको पहिलो विकेट करण केसीले लिएका थिए । करणले यूएईका ओपनर ब्याट्सम्यान एलिसन सराफुलाई ४५ रनमा पेभेलियन फर्काएका थिए । उनले सराफुलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।
प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका सराफुले केवल २६ बलको सामना गरी तीन छक्का र ६ वटा चौका हिर्काएका थिए । नवौं ओभरको दोस्रो बलमा सराफु आउट हुँदा यूएईको टोलीले ६३ रन बनाएको थियो ।
यूएईको दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले तेस्रो नम्बरमा क्रिज समाल्न आएका यूएईका ब्याट्सम्यान सोएब खानलाई सोमपाल कामीद्वारा क्याच गराए । ११ बलको सामना गरेका सोएब खानले खाता खोल्न सकेनन् । १२ औं ओभरको तेस्रो बलमा सोएब खान आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।
यूएईले तेस्रो विकेटका रुपमा मुहम्मद वसिमलाई गुमाएको थियो । उनी ४६ बलमा एक छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै आउट भए । उनी रन आउट भएका थिए । ३४ औं ओभरको पाँचौं बलमा उनी आउट हुँदा यूएईले एक सय ९४ रन बनाइसकेको थियो ।
यूएईको चौथो विकेट सन्दीप लामिछानेले लिए । यूएईका ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई सन्दीपले आफ्नो बलिङमा आफैले क्याच लिए । विकेटकिपर ब्याट्सम्यान आर्यान्श दुई रनका कारण शतक पूरा गर्नबाट चुके । उनले ९८ बलमा तीन छक्का र १० चौकाको मद्दतले ९८ रन बनाए । ३५ औं ओभरको दोस्रो बलमा उनी आउट हुँदा यूएईले एक सय ९५ रन बनाएको थियो ।

यूएईको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिए । उनले हर्षिक कौसिकलाई १३ रनको व्यक्तिगत स्कोरमा गुलसन झाद्वारा क्याच गराएका थिए । ४० औं ओभरको दोस्रो बलमा हर्षित आउट हुँदा यूएईले दुई सय १८ रन बनाएको थियो ।
त्यसअघि, नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले एक सय नौ रनको योगदान गरे । उनले एक सय ३० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो दोस्रो शतक हो ।
रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । यो ढाँचाको क्रिकेटमा उनी दुई हजार रनको नजिक छन् । चौथो नम्बरमा क्रिज समाल्न आएका २३ वर्षीय रोहितले एक सय २६ बलमा शतक पूरा गरेका थिए ।
नेपाली टोलीका लागि ओपनर आसिफ शेखले ३५ रन बनाए । आरिफ शेखले टोलीको खातामा २७ रन थपे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि २३ रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । सन्दीप लामिछाने तीन रनमा अविजित रहे ।
यूएईका जाहिद अलीले चार विकेट लिए । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका जाहिद अलीले आफ्नो ‘डेब्यू’ खेलमै चार विकेट हात पारेका हुन् । बलर जुनैद सिद्दकीले पनि तीन विकेट हात पारे । नेपाली टोलीले अतिरिक्त रुपमा पनि सात रन पाएको थियो ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १२ बलमा एक चौकाको मद्दतले केवल सात रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर हैदर अलीले बोल्ड गरेका हुन् । पाँचौँ ओभरको पहिलो बलमा भुर्तेल आउट हुँदा नेपालले केवल २३ रन बनाएको थियो ।
नेपालले आफ्नो दोस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम १३ बलमा केवल तीन रन बनाउँदै आउट भए । उनलाई मुहम्मद रोहिदले एलबीडब्लूको धरापमा पारे । आठौं ओभरको तेस्रो बलमा उनी आउट हुँदा नेपालले २६ रनमात्र बनाएको थियो ।

नेपाली टोलीले आफ्नो तेस्रो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ३५ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
आसिफले ४८ बलको सामना गरी चार चौका पनि हिर्काए । उनलाई जुनैद सिद्दकीले ध्रुव परासरद्वारा क्याच गराएका थिए । १८ औं ओभरको पहिलो बलमा आसिफ आउट हुँदा नेपालले ६१ रन बनाएको थियो ।
नेपाली टोलीले चौथो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ४२ बलमा दुई चौकाको मद्दतले २७ रन बनाउँदै पेभेलियन फर्किए । उनी जुनैद सिद्दकीको बलमा बोल्ड भएका थिए । ३३ औं ओभरको चौथो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ३१ रन बनाएको थियो । रोहित र आरिफ शेखले ७० रनको साझेदारी गरेका थिए ।
नेपाली टोलीले पाँचौं विकेटका रूपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । दीपेन्द्र केवल २८ बलमा एक चौकाको मद्दतले २३ रन बनाउँदै आउट भए । उनी दुर्भाग्यपूर्ण तरिकाले रन आउट भएका हुन् । ४२ औं ओभरको दोस्रो बलमा दीपेन्द्र आउट हुँदासम्म नेपालले एक सय ८५ रन बनाएको थियो
नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी पहिलो बलमै उप–कप्तान दीपेन्द्रसिंह ऐरीलाई पछ्याउँदै पेभेलियन फर्किएका हुन् । गुलसनलाई जुनैद सिद्दकीले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । ४२ औं ओभरको पाँचौं बलमा गुलसन आउट हुँदा नेपालले एक सय ८६ रन बनाएको थियो ।

नेपाली टोलीले सातौं विकेटका रूपमा सोमपाल कामीलाई गुमायो । उनी १३ बलमा ६ रन बनाउँदै आउट भए । उनी जाहिद अलीको बलमा बोल्ड भएका थिए । जाहिद अलीले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हुन् । ४८ औं ओभरको तेस्रो बलमा सोमपाल आउट हुँदा नेपालले दुई सय १० रन बनाएको थियो ।
नेपालले आठौं विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी लामो समय क्रिजमा टिकेर उत्कृष्ट शतकीय पारी खेल्दै आउट भए । उनले टोलीका लागि एक सय नौ रनको योगदान गरे । यसक्रममा उनले एक सय ३० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।
कप्तान रोहित जाहिद अलीको बलमा विकेटकिपर शर्माद्वारा समातिएका थिए । ४८ औं ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले दुई सय १७ रन बनाएको थियो ।
नेपाली टोलीले नवौं विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । उनी आठ बलमा १३ रन बनाउँदै आउट भए । उनलाई जुनैद अलीले ध्रुव परासरद्वारा क्याच गराए । अन्तिम ओभरको पाँचौँ बलमा उनी आउट हुँदा नेपालले दुई सय ३३ रन बनाएको थियो ।
नेपाली टोलीले अन्तिम विकेटका रूपमा ललित राजवंशीलाई गुमायो । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भए । उनी पहिलो बलमै आउट भए । उनलाई पनि जुनैदले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए ।
सहभागी टोलीका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
यूएईमा जारी शृंखलामा नेपालले आफ्नो तेस्रो खेल नोभेम्बर १ तारिख (कार्तिक १५ गते) अमेरिकासँग र चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) यूएईसँग खेल्नेछ ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।