
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले राष्ट्रलाई दिएको योगदानको सबैले कदर गर्नुपर्ने बताएका छन् ।
महिला आर्थिक पत्रकार संघ फेजा र एसियाली विकास बैंक एडीबीको सहकार्यमा आयोजन भएको ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ तालिमको समापन समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि भएको आन्दोलनलाई इंगित गर्दै राज्यप्रति निजी क्षेत्रको योगदानलाई सबैले कदर गर्नुपर्ने बताएका हुन् ।
'उद्योगहरूले राज्यलाई कर तिरेर धेरैलाई रोजगारी दिएका छन्, उद्योगहरूले सरकारलाई पुर्याएको योगदानको सबैले कदर गर्नुपर्छ,' उनले भने ।
खनालले सूचना सम्प्रेषण गलत हुँदा भदौको आन्दोलनमा कतिपय उद्योगी व्यवसायी निशानामा परेको बताए । विदेशी लगानीलाई हेर्ने दृष्टिकोण पनि नेपालमा नकारात्मक भन्दै गएको उनले बताए ।
‘निजी क्षेत्र हामी सबैको सम्पत्ति हो भन्ने बुझ्न जरुरी छ । ठूलो विदेशी लगानी आउनासाथ देश नै लुटेर लैजान्छ भन्नेजस्तो भ्रम फैलाइन्छ,’ उनले भने, ‘त्यस्ता लगानीलाई त हामीले आशा देखाएर बोलाउनुपर्ने हो ।’
आन्दोलनले व्यावसायिक प्रतिष्ठानमा क्षति पुगे पनि कर संकलन नघटेको अर्थमन्त्री खनालले बताए ।
‘भन्सारतर्फ ९ र आन्तरिकतर्फ ४ प्रतिशतको वृद्धि देखिन्छ,’ समापन कार्यक्रममा बोल्दै उनले भने, ‘ब्याज, कर र पुँजीगत कर बाहेक सबै बढेको छ । यसले व्यापारिक प्रतिष्ठान र व्यवसायको मनोबल उच्च छ भन्ने देखाउँछ ।’