०८ साउन २०८३, शुक्रबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकसँगै नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

कात्तिक १५, २०८२
काठमाडौं
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकसँगै नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबारको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकालाई जीतका लागि दुई सय ७२ रनको लक्ष्य दिएको छ ।​​

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो ।

नेपाली टोलीका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ७५ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि टोलीका लागि ४७ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि ४३ रन बनाए । कप्तान रोहितकुमार पौडेलले पनि टोलीको खातामा ३६ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका करण केसीले टोलीको खातामा ४९ रन थपे । सन्दीप लामिछाने चार रनमा अविजित रहे ।

अमेरिकी टोलीका बलर हरमित सिंहले तीन विकेट लिए । सौरभ नेत्रभाल्कर र नोस्थुश केन्जिगेले पनि दुई/दुई विकेट हात पारे । जसदीप सिंह र शुभम रन्जनले एक विकेट लिए । नेपालले अतिरिक्त रूपमा केवल ६ रन पाएको थियो ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ दुई रन बनाउँदै आउट भए । उनी अमेरिकी बलर नोस्थुश केन्जिगेको बलमा बोल्ड भए । दोस्रो ओभरको दोस्रो बलमा आसिफ आउट हुँदा नेपालले केवल दुई रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी केवल तीन रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १०औँ अर्धशतक प्रहार गर्नबाट चुके । २८ वर्षीय कुशल ६५ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ४७ रन बनाउँदै पेभेलियन फर्किए ।

कुशल भुर्तेल अमेरिकी बलर हरमित सिंहको बलमा बाउन्ड्री लाइननजिकै सौभर नेत्रभाल्करद्वारा समातिएका थिए । कुशल र भीम सार्कीले टोलीका लागि ८६ रनको साझेदारी गरे । २०औँ ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले एक विकेट गुमाएर ८८ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको थियो । २४ वर्षीय भीम केवल सात रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाँचौँ अर्धशतक पूरा गर्नबाट चुके । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम ५८ बलमा चार चौकाको मद्दतले ४३ रन बनाउँदै पेभेलियन फर्किए ।

भीमलाई अमेरिकी बलर हरमित सिंहले बोल्ड गरे । २२औँ ओभरको पाँचौँ बलमा भीम आउट हुँदा नेपालले एक सय एक रन बनाएको थियो । उनले जिम्मेवारीपूर्वक खेल्दै ओपनर ब्याट्सम्यान कुशल भुर्तेलसँग ८६ रनको साझेदारी गरेका थिए ।

नेपालले चौथो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ आठ बलमा केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनी पनि बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।

आरिफलाई सौरभ नेत्रभाल्करले नोस्थुश केन्जिगेद्वारा क्याच गराएका थिए । २५औँ ओभरको पहिलो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ६ रन बनाएको थियो । लगातार विकेट पतनको क्रम सुरु भएपछि नेपाली ब्याट्सम्यान दबाबमा परेका थिए ।

नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका रोहित ३६ रन बनाउँदै आउट भए । २३ वर्षीय रोहितलाई अमेरिकी बलर हरमित सिंहले सायान जहाँगिरद्वारा क्याच गराएका हुन् ।

रोहितले ४६ बलको सामना गरी दुई चौका हिर्काए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्नुअघि नै पेभेलियन फर्किए । थप दुई रन बनाएको भए रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बन्ने थिए ।

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक प्रहार गर्ने एकमात्र नेपाली ब्याट्सम्यान पनि हुन् । उनले यूएईविरुद्धको खेलमा शतक बनाएका थिए । ३८औँ ओभरको चौथो बलमा रोहित आउट हुँदा नेपालले एक सय ९५ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । उनी ११ बलमा केवल पाँच रन बनाउँदै आउट भए । उनलाई जसदीप सिंहले शुभम रन्जनद्वारा क्याच गराएका हुन् । ४१औँ ओभरको अन्तिम बलमा गुलसन आउट हुँदा नेपालले दुई सय ६ रन बनाँएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा उप–कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी अलराउन्डर दीपेन्द्र ७५ रनको महत्त्वपूर्ण पाली खेल्दै आउट भए । उनले केवल ६७ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए ।

दीपेन्द्रलाई अमेरिकी बलर नोस्थुश केन्जिगे सञ्जय कृष्णमुर्थीद्वारा क्याच गराए । ४६औँ ओभरको तेस्रो बलमा दीपेन्द्र आउट हुँदा नेपालले दुई सय ३२ रन बनाएको थियो । त्यसअघि, दीपेन्द्रले केवल ४३ बलमा तीन छक्का र एक चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ वर्षीय दीपेन्द्रले पाँचौँ अर्धशतक बनाएका हुन् ।

नेपालले आठौँ विकेटका रूपमा नन्दन यादवलाई गुमायो । उनी ६ बलमा एक रन बनाउँदै आउट भएका हुन् । उनलाई सौरभ नेत्रभाल्करले नोस्थुश केन्जिगेद्वारा क्याच गराए । ४८औँ ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले दुई सय ४४ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रूपमा करण केसीलाई गुमायो । आठौँ नम्बरमा क्रिज समाल्न आएका करण ४९ रन बनाउँदै आउट भए । यसक्रममा करणले केवल ३१ बलको सामना गरी तीन छक्का र दुई चौका पनि हिर्काए ।

उनी शुभम रन्जनको बलमा जसदीप सिंहद्वारा समातिएका थिए । ४९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले दुई सय ६७ रन बनाएको थियो । ३४ वर्षीय करण केवल एक रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो अर्धशतक पूरा गर्नबाट चुकेका थिए ।

नेपालले अन्तिम विकेटका रूपमा ललित राजवंशीलाई गुमाएको थियो । उनले एक रन बनाए । उनी अन्तिम ओभरको अन्तिम बलमा रन लिन दौडँदा रन आउट भएका थिए । यद्दपि, अन्तिम ओभरको अन्तिम बललाई अम्पायरले ‘वाइड’ घोषित गरेका थिए । तर, नेपालले १० विकेट गुमाइसकेको थियो ।

जारी शृंखलामा नेपाल र अमेरिका दुबैले आफ्नो तेस्रो खेल खेलिरहेका हुन् । नेपाली टोली अघिल्ला दुबै खेलमा पराजित भएको छ । अमेरिका भने अघिल्ला दुबै खेलमा विजयी भएको छ । नेपाली टोली पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनको ठुलो अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा पनि नेपाल आयोजक यूएईसँग पाँच विकेटले स्तब्ध: बनेको थियो । अमेरिकाले आफ्नो दोस्रो खेलमा यूएईलाई चार विकेटले हराएको थियो । यो शृंखलाबाट अमेरिकाले चार र यूएईले दुई अंक बटुलिसकेका छन् । नेपाल भने अझै अंकको खोजिमा छ ।

२२ खेलबाट ३२ अंक बटुलेको अमेरिका तालिकाको पहिलो स्थानमा छ । अमेरिकाले १६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । १८ खेलबाट केवल आठ अंक जोडेको नेपाल सातौँ स्थानमा आसिन छ । केवल पाँच खेलमा जित हात पारेको नेपाल ११ खेलमा पराजित भएको छ ।

नेपालको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ । यूएई भने आठ टोली सहभागी लिग–२ तालिकाको अन्तिम स्थानमा छ । यूएईले आठ अंकमात्र जोडन सकेको छ । यूएईले चार जित र १४ हारको नतिजा निकालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्