१० साउन २०८३, आइतबार
आईसीसी क्रिकेट विश्वकप लिग-२

नेपालको लगातार तेस्रो हार, रोमाञ्चक खेलमा अमेरिका चार विकेटले विजयी

कात्तिक १५, २०८२
काठमाडौं
नेपालको लगातार तेस्रो हार, रोमाञ्चक खेलमा अमेरिका चार विकेटले विजयी

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपालले लगातार तेस्रो हार भोगेको छ । नेपाली टोली शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको हो ।

जारी शृंखलामा नेपाल अझै जितविहीन छ । यो शृंखलामा नेपाली टोली अमेरिकासँग दोस्रो पटक पराजित भएको हो । यसअघि, पहिलो खेलमा पनि नेपाली टोली अमेरिकासँग एक सय ६ रनको फराकिलो अन्तरले हारेको थियो । अमेरिकाको भने जारी शृंखलामा यो लगातार तेस्रो जीत हो ।

यसका अतिरिक्त, नेपाली टोली आफ्नो दोस्रो खेलमा आयोजक यूएईसँग पनि पाँच विकेटले पराजित भएको थियो । लिग–२ तालिकाको पहिलो स्थानमा आसिन अमेरिकाले पछिल्लो जितसँगै आफ्नो अवस्थालाई थप मजबुत बनाएको छ ।

अमेरिकाले २३ खेलबाट ३४ अंक बटुलिसकेको छ । जारी सिजनको लिग–२ तालिकामा नेपालको अवस्था भने सन्तोषजनक छैन । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ । नेपालले केवल पाँच जित र १२ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ ।​

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर दुई सय ७३ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

अमेरिकी टोलीको जितमा साइतेजा मुकम्मला र मिलिन्द कुमारले उत्कृष्ट अर्धशतकीय योगदान गरे । साइतेजाले ७५ रन बनाए । मिलिन्दले पनि टोलीका लागि ७० रनको योगदान गरे । यी दुईले एक सय २३ रनको साझेदारी गरे ।

अमेरिकाका लागि सायान जहाँगिरले पनि ३६ रन बनाए । कप्तान मोनांक पटेलले टोलीको खातामा २१ रन थपे । हरमित सिंह १३ र सञ्जय कृष्णमुर्थी १५ रनमा अविजित रहे । अमेरिकाले अतिरिक्त रूपमा आठ रन पायो । 

नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले १० ओभरमा ५३ रन खर्चिए । नन्दन यादव, करण केसी र गुलसन झाले पनि एक–एक विकेट हात पारे ।

null

टस हारी ब्याटिङको निम्तो पाएको नेपाली टोलीका लागि भने दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । उनले टोलीको खातामा ७५ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि टोलीका लागि ४७ रनको योगदान गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि ४३ रन बनाए । कप्तान रोहित कुमार पौडेलले पनि टोलीको खातामा ३६ रन थपे । आठौं नम्बरमा क्रिज समाल्न आएका करण केसीले टोलीको खातामा ४९ रन थपे । सन्दीप लामिछाने चार रनमा अविजित रहे ।

अमेरिकी टोलीका बलर हरमित सिंहले तीन विकेट लिए । सौरभ नेत्रभाल्कर र नोस्थुश केन्जिगेले पनि दुई–दुई विकेट हात पारे । जसदीप सिंह र शुभम रन्जनले एक विकेट लिए । नेपालले अतिरिक्त रूपमा केवल ६ रन पाएको थियो ।

अमेरिकाको पहिलो विकेट गुलसन झाले लिएका थिए । उनले अमेरिकाका ओपनर ब्याट्सम्यान समित पटेललाई एलबीडब्लूको धरापमा पारे । विकेटकिपर ब्याट्सम्यान समित २७ बलमा एक छक्काको मद्दतले १६ रन बनाउँदै आउट भए । ११ औं ओभरको तेस्रो बलमा समित आउट हुँदा अमेरिकाले ५३ रन बनाएको थियो ।

अमेरिकाको दोस्रो विकेट अनुभवी लेग–स्पिनर सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले क्रिजमा जमिसकेका अमेरिकाका ओपनर ब्याट्सम्यान सायान जहाँगिरलाई बोल्ड गरेका थिए । सायान ३६ रन बनाउँदै आउट भएका हुन् ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका सायानले ४२ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । १२ औं ओभरको पाँचौं बलमा सायान आउट हुँदा अमेरिकाले ५९ रन बनाएको थियो । 

अमेरिकाको तेस्रो विकेट नन्दन यादवले लिएका थिए । उनले अमेरिकी टोलीका कप्तान मोनांक पटेललाई पेभेलियन फर्काए । नन्दनले मोनांकलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोनांकले २८ बलमा दुई चौकाको मद्दतले २१ रन बनाए । २१ औं ओभरको पाँचौँ बलमा मोनांक आउट हुँदा अमेरिकाले ९५ रन बनाएको छ ।

अमेरिकाको चौथो विकेट सन्दीप लामिछानेले लिए । उनले अमेरिकाका प्रभावशाली ब्याट्सम्यान मिलिन्द कुमारलाई भीम सार्कीद्वारा क्याच गराएका थिए । तर, त्यतिबेलासम्म अमेरिका जितको निकै नजिक पुगिसकेको थियो ।

पेभेलियन फर्किनुअघि मिलिन्द कुमारले टोलीको खातामा ७० रन थपेका थिए । उनले केवल ६६ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काएका थिए । ४३ औं ओभरको पाँचौं बलमा मिलिन्द आउट हुँदा अमेरिकाले दुई सय १८ रन बनाइसकेको थियो ।

अमेरिकाको पाँचौं विकेट करण केसीले लिएका थिए । उनले अमेरिकाका प्रभावशाली ब्याट्सम्यान साइतेजा मुकम्मलालाई कुशल भुर्तेलमार्फत् क्याच गराए । लामो समय क्रिजमा टिकेका साइतेजाले टोलीका लागि ७५ रनको योगदान गरे ।

साइतेजाले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै एक सय एक बलमा एक छक्का र दुई चौका पनि हिर्काए । ४६ औं ओभरको दोस्रो बलमा साइतेजा आउट हुँदा अमेरिकाले दुई सय ३४ रन बनाइसकेको थियो । त्यतिबेला अमेरिकालाई जितका लागि केवल ३८ रन आवश्यक थियो ।

अमेरिकाको छैटौं विकेट सन्दीप लामिछानेले लिए । उनले शुभम रन्जनलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । पेभेलियन फर्किनुअघि शुभमले १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन बनाएका थिए । ४८ औं ओभरको पाँचौं बलमा उनी आउट हुँदा अमेरिकाले दुई सय ५६ रन बनाएको थियो ।

त्यसअघि, नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ दुई रन बनाउँदै आउट भए । उनी अमेरिकी बलर नोस्थुश केन्जिगेको बलमा बोल्ड भए । दोस्रो ओभरको दोस्रो बलमा आसिफ आउट हुँदा नेपालले केवल दुई रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी केवल तीन रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १० औं अर्धशतक प्रहार गर्नबाट चुके । २८ वर्षीय कुशल ६५ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ४७ रन बनाउँदै पेभेलियन फर्किए ।

null

कुशल भुर्तेल अमेरिकी बलर हरमित सिंहको बलमा बाउन्ड्री लाइननजिकै सौभर नेत्रभाल्करद्वारा समातिएका थिए । कुशल र भीम सार्कीले टोलीका लागि ८६ रनको साझेदारी गरे । २० औं ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले एक विकेट गुमाएर ८८ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । २४ वर्षीय भीम केवल सात रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गर्नबाट चुके । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम ५८ बलमा चार चौकाको मद्दतले ४३ रन बनाउँदै पेभेलियन फर्किए ।

भीमलाई अमेरिकी बलर हरमित सिंहले बोल्ड गरे । २२ औं ओभरको पाँचौं बलमा भीम आउट हुँदा नेपालले एक सय एक रन बनाएको थियो । उनले जिम्मेवारीपूर्वक खेल्दै ओपनर ब्याट्सम्यान कुशल भुर्तेलसँग ८६ रनको साझेदारी गरेका थिए ।

नेपालले चौथो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौं नम्बरमा क्रिज समाल्न आएका आरिफ आठ बलमा केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनी पनि बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।

आरिफलाई सौरभ नेत्रभाल्करले नोस्थुश केन्जिगेद्वारा क्याच गराएका थिए । २५ औं ओभरको पहिलो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ६ रन बनाएको थियो । लगातार विकेट पतनको क्रम शुरू भएपछि नेपाली ब्याट्सम्यान दबाबमा परेका थिए ।

नेपालले पाँचौं विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका रोहित ३६ रन बनाउँदै आउट भए । २३ वर्षीय रोहितलाई अमेरिकी बलर हरमित सिंहले सायान जहाँगिरद्वारा क्याच गराएका हुन् ।

रोहितले ४६ बलको सामना गरी दुई चौका हिर्काए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्नुअघि नै पेभेलियन फर्किए । थप दुई रन बनाएको भए रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बन्ने थिए । 

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक प्रहार गर्ने एक मात्र नेपाली ब्याट्सम्यान पनि हुन् । उनले यूएईविरुद्धको खेलमा शतक बनाएका थिए । ३८ औं ओभरको चौथो बलमा रोहित आउट हुँदा नेपालले एक सय ९५ रन बनाएको थियो ।

नेपालले छैटौं विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ११ बलमा केवल पाँच रन बनाउँदै आउट भए । उनलाई जसदीप सिंहले शुभम रन्जनद्वारा क्याच गराएका हुन् । ४१ औं ओभरको अन्तिम बलमा गुलसन आउट हुँदा नेपालले दुई सय ६ रन बनाएको थियो ।

नेपालले सातौं विकेटका रूपमा उप–कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौं नम्बरमा क्रिज समाल्न आएका अनुभवी अलराउन्डर दीपेन्द्र ७५ रनको महत्वपूर्ण पाली खेल्दै आउट भए । उनले केवल ६७ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काए ।

दीपेन्द्रलाई अमेरिकी बलर नोस्थुश केन्जिगे सञ्जय कृष्णमुर्थीद्वारा क्याच गराए । ४६ औं ओभरको तेस्रो बलमा दीपेन्द्र आउट हुँदा नेपालले दुई सय ३२ रन बनाएको थियो । त्यसअघि, दीपेन्द्रले केवल ४३ बलमा तीन छक्का र एक चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ वर्षीय दीपेन्द्रले पाँचौँ अर्धशतक बनाएका हुन् ।

नेपालले आठौं विकेटका रुपमा नन्दन यादवलाई गुमायो । उनी ६ बलमा एक रन बनाउँदै आउट भएका हुन् । उनलाई सौरभ नेत्रभाल्करले नोस्थुश केन्जिगेद्वारा क्याच गराए । ४८ औं ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले दुई सय ४४ रन बनाएको थियो ।

null

नेपालले नवौं विकेटका रूपमा करण केसीलाई गुमायो । आठौं नम्बरमा क्रिज समाल्न आएका करण ४९ रन बनाउँदै आउट भए । यसक्रममा करणले केवल ३१ बलको सामना गरी तीन छक्का र दुई चौका पनि हिर्काए ।

उनी शुभम रन्जनको बलमा जसदीप सिंहद्वारा समातिएका थिए । ४९ औं ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले दुई सय ६७ रन बनाएको थियो । ३४ वर्षीय करण केवल एक रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो अर्धशतक पूरा गर्नबाट चुकेका थिए ।

नेपालले अन्तिम विकेटका रूपमा ललित राजवंशीलाई गुमाएको थियो । उनले एक रन बनाए । उनी अन्तिम ओभरको अन्तिम बलमा रन लिन दौडँदा रन आउट भएका थिए । यद्यपि, अन्तिम ओभरको अन्तिम बललाई अम्पायरले ‘वाइड’ घोषित गरेका थिए । तर, नेपालले १० विकेट गुमाइसकेको थियो ।

सहभागी टोलीका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।

यूएईमा जारी शृंखलामा नेपालले आफ्नो चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) आयोजक यूएईसँग खेल्नेछ । लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्