
उत्तरी अफगानिस्तानको मजार-ए-शरीफ शहर नजिकै शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वमा घातक भूकम्प गएको महिनौंपछि ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएट्ठजीएस)ले जनाएको छ।
प्रारम्भिक रिपोर्टहरूले स्थानीय समय अनुसार सोमबार बिहान बल्ख प्रान्तको राजधानी र उत्तरी अफगानिस्तानको सबैभन्दा बढी जनसंख्या भएको शहरहरूमध्ये एक मजार-ए-शरीफ शहर र खुल्म शहर नजिकै २८ किलोमिटर (१७.४ माइल) गहिराइमा भूकम्प गएको सीएनएनले जनाएको छ ।
बल्खका गभर्नरका प्रवक्ता हाजी जैदका अनुसार अहिलेसम्म कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । 'हामीले आर्थिक र मानवीय क्षति बेहोरेका छौं, धेरै मानिसहरू घाइते भएका छन्, र अहिलेसम्मका रिपोर्टहरूले चार जनाको मृत्युको पुष्टि गरेका छन्,' सीएनएनसँग उनले भनेका छन् ।
यूएजजीएसले सयौंको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यूएजजीएसले उत्तरी अफगानिस्तानसँग सीमा जोडिएका तीन देशहरू ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको जनाएको छ ।