३० असार २०८३, मंगलबार
बजेट पास नहुँदाको तनाव

अमेरिकामा शटडाउन लम्बिँदा कर्मचारीले पाएनन् तलब, १० प्रतिशत उडान कटौती हुन सक्ने

कात्तिक २०, २०८२
काठमाडौं
अमेरिकामा शटडाउन लम्बिँदा कर्मचारीले पाएनन् तलब, १० प्रतिशत उडान कटौती हुन सक्ने
अमेरिकी यातायात मन्त्री सीन डफी | Photo: Getty via BBC

अमेरिकी यातायात मन्त्री सीन डफीले चेतावनी दिएका छन्– यदि शटडाउन (बजेट होलिडे) शुक्रबारपछि पनि जारी रह्यो भने देशका ४० प्रमुख विमानस्थलमा समग्र उडानको १० प्रतिशत कटौती गर्नुपर्ने हुन्छ ।

यो निर्णय हवाई यातायात क्षेत्रका कर्मचारीहरूको बढ्दो थकानका कारण लिइन लागेको हो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले डफीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, 'यो असामान्य स्थिति हो । शटडाउन असामान्य छ र कर्मचारीहरूले एक महिनादेखि तलब नपाएको अवस्था समेत असामान्य नै हो ।'

हाल करिब १४ लाख संघीय कर्मचारीहरू (हवाई नियन्त्रणकर्तादेखि राष्ट्रिय पार्कका कर्मचारीसम्म) तलबबिनै काम गर्न बाध्य छन् वा जबर्जस्ती बिदामा छन् । कंग्रेसले बजेट पारित गर्न नसकेपछि यो अवस्था आएको हो ।

श्रम संघहरूले भनेका छन्– लामो समय तलब नपाउँदा कर्मचारीहरू मानसिक तनावमा परेका छन् र कतिपयले दोस्रो रोजगारी गर्न थालेका छन् ।

यो अमेरिकी इतिहासकै सबैभन्दा लामो शटडाउन बनेको बताइन्छ ।

४० विमानस्थलमा दैनिक हजारौं उडान प्रभावित हुने अनुमान

रोयटर्सका अनुसार, शुक्रबारदेखि ४ प्रतिशत उडान कटौती शुरू भई शनिबार ५ प्रतिशत, आइतबार ६ प्रतिशत हुँदै अर्को सातासम्म पुग्दा १० प्रतिशत कटौती लागू हुनेछ ।

अनुमानित रूपमा दैनिक ३,५०० देखि ४,००० उडान प्रभावित हुन सक्छन् ।

एफएए प्रमुख बेडफोर्डले भने, 'हामी प्रणालीमा यस्तो दबाब देखिरहेका छौं कि यदि समयमै नियन्त्रण गरिएन भने ‘अमेरिकाको हवाई प्रणाली विश्वकै सबैभन्दा सुरक्षित’ भन्ने हाम्रो दाबी टिक्ने छैन ।'

मन्त्री डफीका अनुसार हाल हवाई यात्रा सुरक्षित छ र यो कटौती यात्रुको सुरक्षा तथा प्रणालीको दक्षता जोगाउन गरिएको हो । तर, शटडाउन जारी रह्यो भने थप प्रतिबन्ध लगाउनुपर्ने चेतावनी उनले दिएका छन् ।

एयरलाइन्सको प्रतिक्रिया

अमेरिकाको दोस्रो ठूलो एयरलाइन्स ‘अमेरिकन एयरलाइन्स’ले एफएएबाट थप निर्देशनको प्रतीक्षामा रहेको बताएको छ । कम्पनीले भनेको छ, 'हामी आशा गर्छौं, हाम्रा अधिकांश ग्राहकहरूको यात्रा प्रभावित हुने छैन ।'

साउथवेस्ट एयरलाइन्सले उडान कटौतीले आफ्नो सेवामा कस्तो असर पार्छ भन्ने मूल्यांकन भइरहेको जनाउँदै यात्रुलाई शीघ्र जानकारी दिने उल्लेख गरेको छ ।

उक्त एयरलाइन्सका प्रवक्ताले भने, 'हामी कंग्रेसलाई समस्या समाधान गरी हवाई प्रणालीलाई पूर्ण क्षमतामा फर्काउन आग्रह गर्छौं ।'

डेल्टा एयरलाइन्सले यसबारे कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।

हवाई क्षेत्रका कर्मचारीमाथि बढ्दो दबाब

सरकारी बजेट १ अक्टोबरमा सकिएपछि अधिकांश संघीय कर्मचारीहरूलाई घर पठाइएको थियो । तर, ‘आवश्यक सेवा’ अन्तर्गत पर्ने हवाई क्षेत्रका कर्मचारीहरू तलब नपाई काम गर्न बाध्य छन् ।

विमानस्थलहरूले पहिले नै बन्दको असर महसुस गर्न थालेका छन् । कतिपय स्थानमा कर्मचारीहरू बिरामी परेपछि घण्टौंसम्म उडान रोकिएको छ । अन्य विमानस्थलले अर्को शहरका कर्मचारीहरूको सहयोग लिनुपर्ने अवस्था आएको छ ।

२०,००० भन्दा बढी सदस्य भएको हवाई कामदार संघका अध्यक्ष निक ड्यानियल्सले सीएनएनसँग भने, 'हामी एकअर्कालाई सन्देश पठाइरहेका छौं– ‘काममा जान गाडीमा इन्धन हाल्ने पैसा पनि छैन ।’ हाम्रो काम स्थायित्वमा निर्भर हुन्छ, तर अहिले त्यो नै छैन ।'

देशका ३० प्रमुख विमानस्थलमध्ये आधामा कर्मचारी अभावका कारण उडान रद्द हुन सक्ने चेतावनी मन्त्री डफीले यसअघि नै दिएका थिए ।

उनका अनुसार, कतिपय हवाई कर्मचारीहरू आर्थिक दबाबका कारण अतिरिक्त रोजगारी गर्न थालेका छन्, जसले सुरक्षामा जोखिम ल्याउन सक्छ ।

डफीले भने, 'अब उनीहरूले निर्णय गर्नुपर्छ, म विनातलब काममा जाऊँ कि परिवारलाई खाना पुर्‍याउन उबर वा डोरड्यास चलाऊँ ?'

– बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्