
‘हङकङ क्रिकेट सिक्सेस’ क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल मिसन रोड ग्राउन्डमा बिहान ८:४५ बजे शुरू हुनेछ ।
नेपाल र अफगानिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा तेस्रो टोलीको रूपमा दक्षिण अफ्रिका रहेको छ ।
नेपालले आफ्नो दोस्रो खेल शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’ मा भने भारत, पाकिस्तान र कुवेत रहेका छन् ।
यसैगरी, समूह ‘डी’ मा बंगलादेश, आयोजक हङकङ र श्रीलंका रहेका छन् । प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई/दुई टोली प्रतियोगिताको क्वार्टर फाइनलमा पुग्नेछन् ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा शरद भेषावकर (कप्तान), सन्दीप जोरा, लोकेश बम (विकेटकिपर), रुपेशकुमार सिंह, मोहम्मद आदिल आलम, रासिद खान र बसिर अहमद छन् ।