
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग शुरू भएको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताए ।
'यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,' उनले भने, 'यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ ।'
नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए ।
नेपाल प्रिमियर लिग (एनपीएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले खेलाडीहरूलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरे ।
'अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ,' अध्यक्ष चन्दले भने, 'एनपीएल शुरू भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ । यो खुसीको कुरा हो ।'
खेलकुदका क्षेत्रमा सधैं सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए ।